डिफेन्स

अब शर्माको कमाण्डमा नेपाली सेना

चन्द्रशेखर अधिकारी |
साउन १२, २०७८ २१:३८ बजे

काठमाडौँ – नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिने भएका छन् । उनलाई अगामी साउन २५ गतेबाट कार्यबाहक प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मंगलबार सरकारले गरेको हो ।

सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी झण्डै एक वर्षदेखि वहन गर्दै आएका छन् । सेनाको नियमअनुसार वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी साउन २५ बाट एक महिने बिदा बस्ने र उनी औपचारिक रुपमा प्रधानसेनापतिबाट बिदा हुनेछन् ।


ADVERTISEMENT

हुनत निकै पहिले नै शर्मा प्रधानसेनापति हुने निश्चित थियो । उनी वरिष्ठता र अन्य सबै दृष्टिकोणले प्रधानसेनापतिको लाइनमा थिए । हालका प्रधानसेनापतिले नियमसम्वत नै शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

आफू बिदा हुने तीन महिना अघिदेखि नै उनले शर्मा अनुकुलको टिम बनाउन दिने, कामहरूमा सहभागी गराउने, राजनीतिक भेटघाटमा उनलाई नै अघि बढाउने जस्ता काम गर्दै आएका थिए । त्यस अनुरुप नै प्रधानसेनापतिले यो सिफारिस पहिले नै पठाएका हुन् । 

मंगलबारको मन्त्रिपरिषदले शर्मालाई आगामी २५ गतेदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गर्दै राष्ट्रपतिकोमा सिफारिस गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हालका प्रधानसेनापति थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । उनलाई सोही दिन औपचारिक बिदाइ गरिनेछ । थापाले यसअघि जेठ २३ मै एक कार्यक्रममार्फत् नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको औपचारिक घोषणा गरेका थिए । उनले घोषणा गरे पनि मन्त्रिपरिषदबाट नभनिएसम्म अलमल नै थियो । छिमेकी भारतबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य शिक्षा/कला हासिल गरेका छन् । त्रिभुवन विश्‍वविद्यालयबाट इतिहासमा स्‍नातकोत्तर उनी सामूहिक नेतृत्वमा नै विश्‍वास गर्ने छवि बनाएका मिलनसार सैन्य अधिकारीको रूपमा चिनिन्छन् ।  

आठ पृतनाबाट तीन जोड एक कमान्डमा गएको नेपाली सेनालाई  चुस्त र सबै प्रविधिले पूर्ण सेना बनाउन पर्ने चुनौती शर्मालाई छ । हुनत सुरक्षा नीतिको परिमार्जन सेनाकै अगुवाईमा भइसकेको छ । त्यस्तै प्रतिरक्षा रक्षा नीति पनि तयार छ । नेपाली सेनाको नेतृत्वमा आएदेखि नै थापाले त्यसमा काम गरेका थिए ।

४३औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै गर्दा थापाले संगठनभित्रका आम समस्या स्वीकार गर्दै सुधार गर्ने पहिलो जिम्मेवारी सुनाए अनुरुप नै काम गरेको सैन्य अधिकारी बताउँछन् । संगठनको नेतृत्वकर्ता ठीक भए सबै ठीक हुने उनको बुझाइ थियो । त्यही अनुरूप उनले कैँयनलाई कारबाही गरे भने कैँयनले जागिर नै छोड्न पर्‍यो । उनले जिम्मेवारी लिएपछि अनुशासनमा नरहेको केही क्षमतावान पनि बिदा भए । प्रधानसेनापतिले लिएको ‘बोल्ड’ निर्णय थियो, यो । त्यसलाई शर्माले पनि निरन्तरता दिनुपर्ने धेरैको राय छ ।

 

छिमेकी भारतबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य शिक्षा/कला हासिल गरेका छन् । त्रिभुवन विश्‍वविद्यालयबाट इतिहासमा स्‍नातकोत्तर उनी सामूहिक नेतृत्वमा नै विश्‍वास गर्ने छवि बनाएका मिलनसार सैन्य अधिकारीको रूपमा चिनिन्छन् ।  

सेनाभित्रको चेन अफ कमान्डको विषयमा पनि थापा निर्मम भएको टिप्पणी थियो । शर्मा पनि उनी जस्तै बाहिर बोलीचाली नरम र काममा निर्मम रहेको सँगै काम गरेकाहरू सुनाउँछन् । प्रधानसेनापति थापाले समय थप गर्न लागेको, वरियता बिगार्न खोजेकोलगायतका अनेकन् आरोप लागे पनि उनले सेनाभित्रको संस्कारलाई झन अब्बल बनाउँदै एक वर्ष अघिदेखि नै आफू पछिको नेतृत्व तय गरिदिएका थिए ।

सेनामा जुन प्रकारको संस्कार पहिलेदेखि चलिरहेको र अहिले पनि त्यसमा केही सुधारसहित अघि बढ्ने हुनाले यसमा सहकार्य अपरिहार्य छ । प्रधानसेनापति थापाले नेतृत्व आफैँमा स्पष्टता, शुद्धता, इमानदारी, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताउँदै आए र त्यही अनुरुप नै आफूले नेतृत्व हस्तान्तरणको संस्कार बनाएर जाँदैछन् । तीन महिनाअघि देखि सबै खाले टिममा रथि शर्मालाई संलग्न गराएर उनी अनुकुलको वातावरण बनाउँदै नेतृत्व दिने विषय अन्य निकायले पनि सिक्नु आवश्यक रहेको विज्ञ बताउँछन् ।  

खासगरी मन्त्रालयमा यस्तो नेतृत्व हस्तान्तरण हुन आवश्यक छ । जनताको प्रत्यक्ष सरोकार हुने स्थानमा पनि यही तवरको नेतृत्व हस्तान्तरण हुने हो भने काममा सहजीकरण हुनेछ । पृथ्वीनारायण शाह मुलुकको एकताको प्रतीक मात्र नभएर नेपाली सेनाका कुशल नेतृत्वको आरम्भकर्ताका रूपमा चित्रण गर्दै सेनाले राष्ट्रिय एकतामा प्रहार हुन नदिने वाचा गरेअनुरूप सेनाको नेतृत्वले काम गर्दै आएको छ । त्यही कुरालाई शर्माले पनि अघि बढाउने कुरामा सायदै दुविधा रहला ।

राजनीतिक परिवर्तन हुँदा नेतृत्व पनि परिवर्तन हुन्छ । राजनीतिक रुपमा झैं नभएर सेनामा त सँगै रहेका सारथिले नै नेतृत्व सम्हाल्ने हुनाले ठूलै परिवर्तन हुँदैन । तर पनि तीन महिनादेखि प्रधानसेनापतिको काममा पनि रथीलाई सँगै राखेर हिड्नु नेपाली सेनाको असल संस्कार रहेको पूर्व सेनापतिहरूले बताउँदै आएका छन् । त्यही हो, ‘अहिले सेनाले देखाएको र गर्दै आएको पनि । जुन संस्कार अन्यत्र पनि लैजान आवश्यक छ ।’ 

हुनत नेपाली सेना समाजको उपज हो र यसका आरम्भकर्ता पृथ्वीनारायणकै पथमा अडेर एक सूत्रमा जनता जोड्ने काममा भने सेना लागि रहने र त्यो पथलाई शर्माले पनि नभुल्ने स्पष्ट छ । पछिल्लो समय खलबलिएको राजनीतिले सेना निकै अलमल र चिन्तामा परेको थियो । त्यो विस्तारै हट्दै गएकोमा सेना पनि स्पष्ट हुँदै अघि बढ्नु पर्नेछ ।

सैन्य कूटनीतिमा समेत पछिल्लो समय अलिक चासो राख्न थालेको छ, नेपाली सेनाले ।  यहाँको राजनीति बढी तरंगित छ तर आन्तरिक वा वाह्य कारण कसैलाई थाहा छैन । यसमा सेनाले चासो दिँदै आएको छ । मुलुकका लागि सेनाले यसमा चासो राख्न आवश्यक छ, किनकी राजनीतिक नेतृत्व हच्कने भनेको नै सेनासँग मात्र हो । 

पूर्व प्रधानसेनापति रुकमांगत कट्‍वालले सेनाले राजनीतिक बुझ्छ तर कहिल्यै गर्दैन भनिरहकै छन् । विश्‍व शान्तिका लागि सेना पठाउने दोस्रो मुलुकमा दरिएको नेपाल यतिबेला सैन्य कूटनीतिलाई बढावा दिन सके सहकार्य झनै राम्रो हुनेछ । त्यसतर्फ सरकारको ध्यान जान आवश्यक देखिन्छ । डिफेन्स एटाचेसमेत भएर काम गरिसकेका शर्माले आफ्नो कार्यकालमा सैन्य कूटनीतिमा पनि जोड दिने विश्‍वास सबैको छ ।

 

सेनाले आफूलाई प्रविधिले पूर्ण बनाउन सक्नुपर्छ । यसका लागि अमेरिका, फ्रान्स, बेलायती र इजरायली सेनाबाट नेपाली सेनाले सिक्नुपर्छ– थोरै सेना तर उच्च प्रविधि । ठूलो संख्याभन्दा पनि प्रविधिमैत्री अहिलेको सैन्य पहिचान बन्‍नु पर्छ । एसियाकै पुरानो सेनाको नेतृत्व गर्ने शर्माले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखि‍न्छ । 

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाकै हो । बाह्य र आन्तरिक सुरक्षाको अन्तरसम्बन्धका कारण आन्तरिक द्वन्द्वको पुनरावृत्तिको सम्भावना रहेको सेनाको विश्लेषण सामान्य होइन । त्यसमा ध्यान दिएर राजनीतिक नेतृत्व अघिबढ्न सक्नुपर्छ ।


सेना लोकतन्त्रीकरण नभई ‘चेन अफ कमान्ड’मा चल्ने भएकाले व्यवसायीकरणमा सेनालाई ल्याउन पर्नेमा सबैको जोड रहँदै आएको छ । राजनीतिक संरक्षण, आफन्त, साथीभाइ र निकटताले थिलोथिलो हुने क्रममा रहेको हाम्रो राज्य संयन्त्रमा नेपाली सेनाभित्र यस्तो प्रवृत्ति केही हदसम्म नियन्त्रणमा छ । ‘संगठन एकढिक्का भए मात्र काम गर्न सहज हुन्छ । अधिकृत सही मार्गमा हिँडे फौजलाई पनि त्यसको प्रभाव पर्छ,’ सेनाको वर्तमान नेतृत्वले भनेका छन् ।


नेपाली सेनाको संख्याका विषयमा कुरा उठिरहन्छ । त्यसैले नेपाली सेनाले आफूलाई प्रविधिले पूर्ण बनाउन सक्नुपर्छ । यसका लागि अमेरिका, फ्रान्स, बेलायती र इजरायली सेनाबाट नेपाली सेनाले सिक्नुपर्छ– थोरै सेना तर उच्च प्रविधि । ठूलो संख्याभन्दा पनि प्रविधिमैत्री अहिलेको सैन्य पहिचान बन्‍नु पर्छ । एसियाकै पुरानो सेनाको नेतृत्व गर्ने शर्माले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखि‍न्छ । 



Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार