डिफेन्स

शर्माले सम्हाले सेनाको नेतृत्व

चन्द्रशेखर अधिकारी |
साउन २५, २०७८ सोमबार १६:५४ बजे

काठमाडौँ - रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिकाे रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन् । उनलाई जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका हुन् । सेनामा कायममुकामय भए पनि नेतृत्व लिएपछि उनलाई पूर्ण अधिकार हुन्छ । सेना \सम्बन्धी कुनै पनि निर्णय शर्माले लिन सक्छन् । शर्मा एक महिनापछि स्वतः प्रधानसेनापति हुनेछन् । नेपाल सेनामा ब्राहण समुदायको अधिकृत नै पहिलोपटक नेतृत्वमा पुगेका हुन् । 

सेनामा क्षेत्रीको नेतृत्व रहँदै आएको थियो । छत्रमान गुरुङले सेनाको नेतृत्व लिएर क्षेत्रीको नेतृत्व तोडेका थिए । शर्माले ब्राहमण समुदायबाट सेनामा नेतृत्व गरेका छन् । प्रधानसेनापति थापाको कार्यकाल एक महिना बाँकी छ । सेनाको परम्परा अनुसार उनी घर बिदामा बस्‍ने र त्यसअघि नेतृत्व हस्तान्तरण गर्ने चलन छ । थापा सैन्य पृष्ठभूमि भएका परिवारबाट आएका व्यक्ति थिए । उनी भक्ति थापाका सन्तति पनि हुन् । 


थापाले चार दशक सेनामा गुजारे । उनी राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरसमेत रहेर काम गरे । तर प्रधानसेनापतिको लाइनमा रहेका कारण उनले एक वर्षको त्यो पद यसै छाडेर नेपाल आए । उनी नेपाल फर्केर प्रधासेनापतिको लाइनमा बसेर त्यसको एक वर्षपछि जिम्मेवारी लिए । मंगलबारदेखि नेतृत्वमा आएका शर्मा पनि ३७ वर्षदेखि सेनामा छन् । अब सेनाले तीन वर्ष उनकै नेतृत्व पाउने छ । उनी सैन्य पृष्ठभूमिको परिवारका व्यक्ति होइनन् । तर, सेनामा ‘एक्सन म्यान’का रूपमा परिचित छन् । 

रथी शर्माले मुलुकमा नै सेनाभित्रैबाट व्यावसायिक तालिमहरू लिएका थिए । उनले भारतको पुणेबाट राष्ट्रिय प्रतिरक्षा (एनडीए), संयुक्त राज्य अमेरिकाबाट आतंकवाद् तथा सुरक्षा, थाइल्याण्ड, पाकिस्तान र बंगलादेशबाट प्रतिरक्षा र शान्ति सेनासम्बन्धी उच्चस्तरीय प्रशिक्षण लिएका छन् ।  यसको साथै सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक र विगत १ वर्षदेखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सम्हालेका शर्मा सेनाभित्र प्रिय अधिकृतको रूपमा परिचित छन् ।  

सेनापति थापाले २३ जेठमा एक हजार दिन पुगेको उपलक्ष्यमा संचारकर्मीहरूसँग अन्तरक्रिया गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेपछि नै उनले त्यहाँ आफू अनुकुलको टिम बनाएर काम थालेका थिए । थापाले सुरु गरेका सुधारका कार्यमा शर्माले निरन्तरता दिने र परिवर्तित सैन्य संरचनालाई कार्यावन्यनमा लैजाने गहन जिम्मेवारी उनीमाथि छ ।  

थापाले आफ्नो घोषणाअनुरुप नै सेनाको नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका थिए । यसअघि पनि सेनामा नेतृत्व हस्तान्तरण यसैगरी हुने गरेको थियो । तर, प्रतिस्पर्धा भने तीव्र हुन्थ्यो । तर थापाले लामो समयदेखि नै प्रक्रियामा लगेर त्यो भ्रम चिर्ने र आफूपछिको नेतृत्व तय गर्ने काम गरे । शर्माले सेनाको नेतृत्व लिएसँगै मुख्य प्राथमिकता कोभिड-१९ का कारण प्रभावित तालिमहरूलाई सुचारु बनाउने, सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्ने काममा जोड दिने भएका छन् ।

उनले तीन जोड एक अवधारणा अनुसारको पुनःर्संरचनालाई व्यवस्थित बनाउँदै यसको औचित्य पुष्टि गर्दै साच्चै कमाण्ड प्रणालीमा सेनालाई ढाल्नेछन् । उनले यस अलवा प्रधान सेनापति थापाले अघि बढाएको कामको प्रभावकारिता अध्ययन गरेर त्यसको निरन्तरता वा कटौतीमा ध्यान दिने छन् । हुन त, शर्मालाई रोक्न अनेकन प्रयास भएका थिए । तर थापा र शर्माको एक-अर्कामा हुने समझदारीले यो सहजता ल्याएको हो । शर्माको म्याद थप गर्ने बेलासम्म पनि अनेकन प्रयास भए तर ती सबै दुुस्प्रयासहरू खेर गए । अन्ततः सेनाको प्रधान सेनापतिमा ब्राहमण समुदायबाट शर्माले इतिहास रचे  ।

फाइल तस्बिर : रथीमा बढुवा भएपछि 

प्रधान सेनापति थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँने हुनाले सेनाको नियम अनुसार एक महिना अघिकनट घर बिदा बस्‍ने चलन छ । त्यही पछ्याएका हुन थापाले । थापाले यसअघि जेठ २३ मै एक कार्यक्रममार्फत् नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको औपचारिक घोषणा गरेर सेनाको नेतृत्व हस्तान्तरणमा एक उदाहरण प्रस्ततु गरेका थिए ।  सामूहिक नेतृत्वमा नै विश्‍वास गर्ने छवि बनाएका मिलनसार सैन्य अधिकारी शर्मालाई सेनाको नेतृत्व हस्तान्तरण गर्न पाउँदा थापाले खुसी पनि व्यक्त गरेका छन् । 

आठ पृतनाबाट तीन जोड एक कमान्डमा गएको नेपाली सेनालाई  चुस्त र सबै प्रविधिले पूर्ण सेना बनाउन पर्ने चुनौती शर्मालाई छ । हुनत् सुरक्षा नीतिको परिमार्जन सेनाकै अगुवाइमा भइसकेको छ । त्यस्तै प्रतिरक्षा रक्षा नीति पनि तयार छ । त्यो पाटो र सरकारको न्यूनतम साझा कार्यक्रममा परेको सुरक्षा सम्बन्धी विषयको सम्बोधनसमेत उनले नै गर्न पर्ने देखिन्छ । 

जसरी ४३ औँ प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै गर्दा थापाले संगठनभित्रका आम समस्या स्वीकार गर्दै सुधार गर्ने पहिलो जिम्मेवारी सुनाउँदै त्यही अनुरुप काम गरे । त्यसलाई शर्माले निरन्तरता दिँदै उनले आफ्नो सारथी पनि जसरी थापासँग शर्मा रहेकाले सहज भयो त्यसैगरी शर्मासँग पनि अर्का रहन् पर्ने देखिन्छ । संगठनको नेतृत्वकर्ता ठीक भए सबै ठीक हुने बुझाइलाई आत्मसात गर्दै सेना अघि बढ्न आवश्यक छ । 

सेनाभित्रको चेन अफ कमान्डको विषयमा जसरी थापा निर्मम भए त्यसैगरी शर्मा पनि अघि बढ्न आवश्यक छ । नेतृत्वमा रहनेको जागिर जाँदा समेत थापाले खुट्टा कमाएनन् । अनेकन, राजनीतिक दबाब आउँदा पनि थापा आफ्नो निर्णयमा अडिक रहे, त्यसको कारण थियो रथी शर्माको साथ । यस्तै साथ दिने सैन्य अधिकारी उनले आफू नजिक राखेर सेनालाई व्यवसायिक बनाउनु पर्छ । बोलीचाली नरम र काममा निर्मम थिए थापा । अहिले शर्मा पनि त्यही कोटीमा पर्छन् । थापाभन्दा पनि नम्र छन बोलीचालीमा तर काममा कुनै सम्झौता उनी गर्दैनन्, एक शैन्य अधिकारीले बताए । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x