डिफेन्स

प्रहरीमा कोभिडको प्रभाव र रासनबारे गृहमन्त्रीको चासो

पाँच जिल्लाका प्रमुखसँग टेलिफोनमा कुराकानी

इकागज |
साउन २८, २०७८ बिहिवार १८:१२ बजे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका पाँच जिल्लाका प्रमुखसँग जिल्लाको सुरक्षा अवस्था र समस्याबारे जानकारी लिएका छन् । मन्त्री खाणले अर्घाखाँची, रुकुम पूर्व, मुस्ताङ, गोरखा र प्यूठानका प्रहरी प्रमुखलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
 
मन्त्री खाणको सचिवालयका अनुसार अर्घाखाँचीका प्रहरी प्रमुख नायव उपरीक्षक अम्मरबहादुर श्रेष्ठ,  रुकुम पूर्वका प्रहरी प्रमुख नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, मुस्ताङ प्रहरी प्रमुख नायव उपरीक्षक श्यामकुमार दानी, गोरखा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनाल र प्यूठानका प्रहरीका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद गैह्रेलाई टेलिफोन गरेर जानकारी लिएका हुन् । 

गोरखा प्रहरी प्रमुख उपरीक्षक शेखर खनालले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लाका समस्या र समाधानका उपाय विषयमा कुराकानी गरेको जानकारी दिए । ‘मन्त्रीज्यूले टेलिफोन गरेर जिल्लाको सुरक्षा अवस्था, कोभिड-१९ ले संगठनमा पारेको प्रभाव, अहिले जिल्लामा रहेका सुरक्षा अधिकारीहरूमा कोभिड संक्रमण ट कि छैन, बाढी पहिरोले संगठनका भौतिक संरचना र जनशक्तिमा पारेको प्रभावबारे जानकारी लिनुभयो,’ उपरीक्षक खनालले भने, ‘सरकारले उपलब्ध गराएको तल्लो दर्जाका कर्मचारीको रासन प्रयाप्त छ कि छैन भनेर पनि जिज्ञासा राख्नुभयो ।’


उपरीक्षक खनालका अनुसार प्रहरी कर्मचारीको सेवा सुविधानबारे पनि खाणले जिज्ञासा राख्दै समाधानका उपाय सुझाउन भनेका थिए । मुख्यगरी जवानको रासन र खानाको विषयमा मन्त्रीको जोड थियो । 

त्यस्तै प्यूठानका कार्यवाहक प्रहरी प्रमुख निरीक्षक देवीप्रसाद गैह्रेले गृहमन्त्रीले सुरक्षा अवस्था, प्रहरीले सुरु गरेको मास्क अभियान, तल्लो तहका कर्मचारीको रासन अवस्था, प्राकृतिक प्रकोपको समस्याबारे जानकारी लिएको बताए ।

‘मन्त्रीज्यूले मुख्यगरी रासन व्यवस्था र जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी लिनुभयो,’ निरीक्षक गैह्रेले भने, ‘उहाँको मुख्य जोड प्रहरीको रासन र खानाबारे थियो । मैले एउटै मेसमा खाना खाने भएकाले अहिलेसम्म समस्या नदेखिएको जानकारी गराए ।’ प्यूठानका प्रहरी प्रमुख नायव उपरीक्षक सुसिल मल्ल बिदामा रहेको जानकारी निरीक्षक गैह्रेले दिए । 

खाणको सचिवालयका अनुसार प्रहरीको रासन अपुग भएको गुनासो आएपछि तथ्य के हो भनेर जिल्ला जिल्लाबाट उनले जानकारी लिइरहेका छन् । यसअघि मन्त्री खाणले यसअघि प्रहरीको सुदूरपश्चिम प्रहरी तालिम केन्द्रमा तालिम गराइरहेका र गरिरहेका प्रहरीहरूलाई खाना र अन्य विषयमा टेलिफोन गरेर जानकारी लिएका थिए । 
 


Author

थप समाचार
x