डिफेन्स

कामु प्रधानसेनापति र भारतीय राजदूत भेटवार्ता

जंग्गी अड्डामा भारतीय राजदूत

इकागज |
साउन २९, २०७८ शुक्रबार १७:० बजे

काठमाडौँ - कामु प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राजदूत विनय मोहन क्‍वात्राले शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको नेतृत्व लिएको चौथो दिन शर्मालाई भेट्न क्‍वात्रा जङ्गी अड्डा पुगेका हुन् । नयाँ प्रधानसेनापति आएपछि कूटनीतिक समूदायले एक पटक शिष्टाचार भेट गर्छन । त्यही परम्परालाई पछ्याउँदै भारतीय राजदूत ज‌ंग्गी अड्डा पुगेका हुन् । 

पछिल्लो समय कूटनीतिको मुख्य अंग नै सैन्य संयन्त्र झै भइसकेको अवस्थामा सेना र कूटनीतिक अधिकारीबीचको भेटलाई सामान्य रुपमा लिन थालिएको छ । यद्यपि सेना र कूटनीतिक व्यक्तिबीच हुने भेट सधै अर्थपूर्ण रहन्छ । भारतको पुणेंबाट एनडीए र भारतकै मद्रास विश्‍व विद्यालयबाट सैन्य रणनीति र प्रतिरक्षामा स्‍नाकोत्तर गरेका शर्मालाई भारत र भारतीय स‍ंस्कार अनि व्यवहार राम्रो जानकारी छ । 


पुरानो गोरखदलका अधिकृत शर्मा बंगलादेशस्थित नेपाली दूतावासमा सैनिक सहचारी भएर काम गरेको अनुभवका साथै राष्ट्रसंघ शान्ति मिसनमा पटक–पटक पर्यवेक्षकसमेत रहेकाले कूटनीतिक व्यवहार र संकेत दुवै बुझ्‍न सक्छन् । एक्सन म्यान मात्र होइन उनलाई सेनाभित्र कूटनीतिक र रणनीतिक मामिलाका जानकारको रुपमा हेरिन्छ ।

इतिहासको विद्यार्थी हुनाले उनलाई विगतको विश्व परिवेश निकै जानकारी रहेको र अहिलेको परिवेशलाई जोड्न विगत स्मरण गराउने उनको कलाले पनि सेनाभित्र कूटनीतिक व्यक्तिको रुपमा शर्मा परिचित छन् । 

उनै शर्मालाई राजदूत क्‍वात्राले भेटेर शुभकामना मात्र दिएनन आगामी दिनमा नेपाल र भारतबीचको सैन्य सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाएर अघि बढाउने विषयमा समेत छलफल गरेका थिए । छलफलमा कोभिड-१९, नेपाल भारत समग्र सम्बन्ध, सीमाको विषय र विगतदेखि रहँदै आएको सम्वन्धबारेमा छलफल भएको पनि सैन्य अधिकारीले जानकारी दिए । 

‘प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ,’ सैन्य जनसम्पक तथा सूचना निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ, ‘यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।’ 

नेपाली सेनाले अन्य मुलुकका राजदूतलाई पनि भेटको समय मिलाइरहेको छ । अन्यले पनि भेटवार्ताको समय माग गरिरहेका छन् । छिमेकी मुलुक भारतका राजदूतलाई नै भेटको समय दिएर कूटनीतिक प्राथमिकता छिमेक पहिलो भन्ने सन्देश पनि नेपाली सेनाले दिएको छ । नेपालको कूटनीतिक प्राथमिकतामा छिमेक, सार्कमुलुक, शक्ति मुलुक, श्रम गन्तव्य मुलुक लगायत भनेर छुट्याइएको छ । 


Author

थप समाचार
x