डिफेन्स

प्रधान सेनापति थापाकाे विदाई

सेनाभित्र नै मुसा प्रवृत्ति हुनसक्छ ख्याल गर्नु : थापा

थापाले अघि बढाएको कामलाई निरन्तरता दिन्छु : शर्मा

इकागज |
भदौ २०, २०७८ आइतवार २३:२ बजे

काठमाडौँ - प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र पनि मुसा प्रवृत्ति रहेकोले त्यसबाट सजक रहन कामु प्रधानसेनापतिको जिम्मेवारीमा रहेका रथी प्रभुराम शर्मालाई सुझाएका छन् । शर्माले आगामी २४ गतेबाट प्रधानसेनापतिको पूर्ण जिम्मेवारी  सम्हाल्नेछन् । उनलाई त्यस  दिन एक विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले फुली लगाएर शपथ खुवाउने छिन् । 

आइतबार जंगी अड्‍डामा आयोजित विदाई समारोहमा विदाई मन्‍तव्‍य दिँदै थापाले 'डुंगा आफैं पल्टियो भन्दा पनि डुंगामा भित्र रहनेहरुले डुंगा कसरी खियायो र त्यहाँ कहाँ प्वाल पर्‍यो' भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताए । 'डुंगामा सवारले सन्तुलन गुमाउने र डुंगा प्वाल पार्ने काम गर्दा मात्र पल्टिन्छ आफैँ डुंगा डुब्दैन,' उनले भने । 


नेपाली सेना विश्वकै पुरानो सेनामध्ये एक र एसियाको सबैभन्दा पुरानो सेना रहेको बताउँदै यस्तो सेनामा आफूले ४१ वर्ष ८ महिना २२ दिन विताएर विदा लिन लाग्दै गर्दा आफ्नो कार्यकालमा सेना भित्र भएका राम्रा कामको जस सबै टिमलाई दिने र नराम्रा केही भएको र गर्न नसकेको काम भए अपजस आफूले लिएर जाने उनले बताए । 

निकै इमानदार र अब्बल व्यक्तिलाई प्रधानसेनापतिको जिम्मेवारी सुम्पेर आफू साधारण जीवनमा जान लाग्दा केही भावुक भए पनि वास्तविकता त्यही हो एक दिन विदा हुनै पर्ने बताए । 'म एक सच्च सिपाहीको रुपमा काम गरे । नेतृत्व गर्दा पनि सिपाही नै हुँ भन्ने भावबाट सर्मपित रहे । मेरो मेजर हजुरवुवा र पुर्खा भक्ति थापाको गाथालाई सम्झेर अघिबढे,’ उनले भने, ‘म अब आधुनिक कृषिमा रम्न सक्छु । किनकी त्यो मेरो प्यासन हो । तर, झण्डै ४२ वर्षे सेनाको जीवनबाट केही समय आराम गर्छु ।’ 

उनले विदाई भन्दा पनि नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्ने कार्यक्रमको रुपमा यसलाई पाएको समेत उनले बताए ।  सैनिक जीवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न थापाले पुर्‍याएको योगदानको कदर गर्दै कामु प्रधानसेनापति शर्माले थापा प्रति कृतज्ञता व्यक्त गर्दै उनले अघि बढाएको सबै काम आफूले फत्ते गर्ने वचन समेत दिएका थिए ।  

शर्माले थापाको ३ वर्षे प्रधान सेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएकोमा हार्दिक बधाई दिँदै आफूले त्यसलाई निरन्तरता दिने समेत बताए । 

पद्दती र प्रणालीलाई आत्मसात गर्ने आधारभुत चरित्रको निर्माणले नेपाली सेना आधुनिक र व्यवसायिक सेनाको रुपमा कायम हुने विश्‍वास थापाले व्यक्त गरेका छन् । उनको विश्वासलाई शर्माले अघि बढाउने र प्रशिक्षणमा जोड दिने स्पष्ट पारे । सेनाको स्तरोउन्नतीका लागि प्रविधिमा जोड दिने तथा व्यवहारमा जोड दिने काम पनि हुनेछ । 

थापाको कार्यकालमा सुरु भएको तीन जोड एक अवधारणालाई सफल बनाउने र सेना भित्र अघि बढाइएका सुधारका कामलाई थप चुस्त र परिपक्व ढंगले लैजाने जस्ता विषयमा शर्माले जोड दिए । 

प्रधानसेनापति थापाले सुरु गरेको एक हजार दिनमा नेतृत्व हस्तान्तरणको कार्यलाई आफूले पनि निरन्तरता दिने शर्माले बताए । उनले आफू एक्लो भन्दा सबैको सहकार्यमा अघि बढ्ने र सेना भन्दा गर्व गर्न लायक बनाउनको लागि लगातार अभ्यासमा रहने उनले बताए । उनले थापाले जे वाेले त्यो गरेको भन्दै यस्ता प्रधान सेनापतिपछि आफूले नेतृत्व लिन पाएकोमा खुसी र गर्व महसुस भएको पनि बताए । 

थापाले विगतको सेना स्मरण गर्दै हिलोमा धानबारीमा दौडेको अवस्था र अहिले यहाँ पुगेको सेनालाई सम्झन पनि सबैलाई आग्रह गरे । सेनाको संगठनलाई अब्बल बनाउँदै लैजान पर्नेमा उनले जोड दिए ।

शर्माले पनि सेना नागरिक र सरकारसँग बराबर सहकार्य गर्दै राष्ट्रहित र रक्षाको लागि सर्मपण भावले काम गर्ने बताए । यस अघि प्रधान सेनापति थापाले कामु प्रधान सेनापति रथी शर्मालाई नेपाली सेनाको झण्डा, प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गरेका थिए । महारथी थापाको सम्मानमा एक टुकडीले सम्मान समेत अर्पण गरेको थियो । 

उक्त विदाई समारोह कार्यक्रमको नेपाली सेनाको सम्पूर्ण युनिटहरुमा लाईभ गरिएको थियो । कोभिड-१९ को स्वास्थ्य सुरक्षा सम्बन्‍धी मापदण्डहरु अपनाई कार्यक्रम सञ्‍चालन गरिएको थियो । थापालाई विदाइको क्रममा कामु प्रधानसेनापतिले पनि सम्मान गरेका थिए ।

रक्षा सचिव वेगेन्द्र शर्मा पौडेलले पनि टोकन सहित विदाई गरेका थिए । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले टोकन अफ लभ दिँदै विदाई सम्मान गरेका थिए । 


Author

थप समाचार
x