डिफेन्स

प्रधान सेनापति शर्माले शुक्रबार सकलदर्जालाई सम्बोधन गर्दै योजना सुनाउने

इकागज |
भदौ २४, २०७८ बिहीबार १७:३१ बजे

काठमाडौँ - नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो तीन वर्षे कार्यकालको रणनीतिक खाका सुनाउने भएका छन् । उनले  सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएर आएलगत्तै पिएसोज बैठक राखेर आफ्नो कार्यशैली र योजना सुनाएका थिए ।

रथिबृन्दलाई उनले आफ्नो योजना सुनाउँदै त्यसमा सहयोग भूमिका र सामूहिक भावले अघि बढ्न सुझाएका छन्  । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपतिबाट महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त भएका शर्मा नेपाली सेनाको ४४ औ सेनापति हुन् ।


उनको सपथग्रहण समारोहमा  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका रथीबृन्द लगायतको उपस्थिति थियो ।

भाद्र ०३ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ५० बमोजिम महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधान सेनापतिमा नियुक्ती गरेकी हुन् । 

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापतिलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सम्मानपछि उनले कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । नवनियुक्त प्रधान सेनापति महारथी शर्माले सैनिक मञ्‍च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण समेत गरेका छन्  । 

शर्मा २०२० पौष ९  काठमाडौं जिल्लामा जन्मेका हुन् । उनले २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका हुन् । यसअघि विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसकेका उनले आजसम्म बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सम्हाल्दै आएका थिए । 


Author

थप समाचार
x