डिफेन्स

सकलदर्जालाई पहिलो सम्बोधन

प्रधानसेनापति शर्माका चार मार्ग निर्देशन

इकागज |
भदौ २५, २०७८ शुक्रबार २०:४७ बजे

तस्बिर - नेपाली सेना

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने जनाएका छन् । बिहीबार प्रधानसेनापतिको दर्ज्यानी चिह्न र शपथ लिएपछि रथीवृन्‍दसँग सामान्य अन्तरक्रिया गरेका शर्माले शुक्रबार सकलदर्जालाई सम्बोधन गरेका हुन् । उनको सम्बोधन सबै युनिटमा लाइभ मल्टिकास्ट मार्फत पुर्‍याइएको थियो ।

प्रधानसेनापतिको पहिलो सम्बोधन नै कार्यकालको मार्गदर्शन बन्ने गरेको हुनाले अधिकले पहिले सम्बोधन छुटाउँदैनन् । सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सबै तहका सेना (सकलदर्जाहरु)लाई निर्देशन समेत दिएका छन् । उनले आफ्नो चार मार्गनिर्देशन स्पष्ट पारेका छन् ।


‘पहिलो- नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्ध भएर अघि बढ्ने । दोस्रो- सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना गर्ने । तेस्रो- विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्दै अघि बढ्ने । र, चौंथो- ‘बहुजन हिताय बहुजन सुखाय’ अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गर्ने,’ शर्माले सकलदर्जालाई पहिलो सम्बोधन गर्दै भनेका छन् । 

नेपालको संविधानले नेपाली सेनालाई मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको बताउँदै उनले भने, ‘जस्तो सुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य हो ।’ 

प्रधान सेनापतिको भिजन अन्तर्गत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिने उनले बताए । त्यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच- २०७८ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिने उनले बताए । 

उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्ति विकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन- २०७८ जारी गरिएको छ । त्यसलाई कार्यावन्यन तहमा लैजान सबैको सहकार्य आवश्यक रहने भन्दै यसमा अडेर कार्य अघि बढाउन निर्देशन दिएका छन् । 

कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य सकलदर्जाहरुको उपस्थिती रहेको थियो । सम्बोधन कार्यक्रम पश्‍चात उनले 'लिडर्स रिडिङ कलेक्सन-२०७८' संग्रहको विमोचन समेत गरेका थिए । उक्त संग्रहको उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाण पनि उनी स्वयंले उपलब्ध गराएको जनसम्पर्क तथा सूचना निर्देशनालयले  जनाएकाे छ ।  

उक्त सम्बोधन पूर्व पदबहालीको गर्नेक्रममा जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्‍ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही १ लाख ४० हजार रुपैयाँका दरले आर्थिक राहत समेत वितरण गरेका थिए । 


Author

थप समाचार
x