डिफेन्स

सकलदर्जाका एकल महिलाहरुसँग प्रधानसेनापतिको भेटघाट

इकागज |
असोज १, २०७८ शुक्रबार २०:१८ बजे

काठमाडौँ - प्रधान सेनापति महारथी प्रभुराम शर्माले विगतमा द्वन्द तथा कर्तव्यपालनाका क्रममा वीरगती प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरुसँग जंगी अड्‍डामा भेटघाट गरेका छन् । नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले सिमित स्रोतबाट ९ लाख ५० हजार भन्दा बढी हिताधिकारीहरुको जायज अपेक्षालाई पुरा गर्न आफु सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 


साथै सहभागीहरुलाई कल्याणकारी योजना अन्तर्गत तथा सैनिक श्रीमती संघबाट संचालन हुने व्यवसायिक तथा सीपमुलक तालिमहरुबाट लाभ लिंदै महिला उद्यमशिल कर्जा सुविधाको उपभोग गरी स्वरोजगार र आत्मनिर्भर हुन आग्रह गरेका थिए । 

महारथी शर्माले भाद्र २५ गते पदवहाली पश्‍चात सकलदर्जालाई गरेको पहिलो सम्बोधनका क्रममा वीरगती प्राप्त गर्नेहरूका परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई प्राथमिकतामा राखी विविध अवसर र सेवासुविधाको सीमालाई क्रमिक रूपमा बढाउँदै लगिने बताएका थिए ।

सोही अनुरुप उक्त समूहमा रहेका ८ सय जना एकल महिलाहरुलाई नेपाली सेनाले पारिवारीक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार रुपैयाँ र कर्तव्य पालनातर्फ मासिक दुई हजार रुपैयाँ प्रदान गरिरहेकोमा यही २०७८ आश्विन महिनाबाट मासिक ५०० रुपैयाँ थप गरि वीरगतीतर्फ मासिक तीन हजार पाँच सय र कर्तव्य पालनातर्फ मासिक दुई हजार पाँच सय प्रदान गर्ने व्यवस्था भएको सेनाले जनाएको छ । 
 


Author

थप समाचार
x