डिफेन्स

अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण हुनुपर्छ : प्रधानमन्त्री

इकागज |
असोज ७, २०७८ बिहिवार २१:५ बजे

काठमाडौँ - नेपाली सेना पृतना संरचनाबाट तीन जोड एक कमाण्ड संरचनामा गएपछिको पहिलो कमाण्ड समन्वयात्मक बैठक प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवालेले शुभारम्भ गरेका छन् । नयाँ प्रधानसेनापति प्रभुराम शर्मा आएपछि उनले यो बैठक राखेका हुन् । यसअघि नेपाली सेनाको पृतना समन्वय बैठक बस्‍ने गरेको थियो । नेपाली सेनालाई अन्तराष्ट्रिय सेनाको शैलीमा साउन एकदेखि पूर्वी, मध्य र उपत्यका गरि चार कमाण्डको संरचनामा ढालिएको थियो ।  

सात प्रदेशमा सात पृतना र उपत्यकामा एक गरी आठ पृतनालाई सेनाको भद्दा संरचनf भन्दै लामाे समयकाे अध्ययनपछि कमाण्ड प्रणालीमा लगिएको थियो । नेपालकाे भूगाेल र पानी ढलोलाई नियालेर त्यो संरचनामा लगिएको सेनाले जनाउँदै आएको छ । बिहीबार र शुक्रबार चल्ने समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरू तथा कमाण्ड प्रमुखहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुति दिनेछन् ।  


प्रधानमन्त्री देउवाले बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमका अन्तर्क्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्ने बताए । सम्बन्धित विषयहरूमा साझा बुझाई निर्माण गरी ती चुनौतीहरूको सामना गर्न समय/सान्दर्भिक प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने कुराको विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेको नेपाली सेनाले जनाएकाे छ । 

साथै, नेपाली सेनाले विश्व शान्तिदेखि मुलुक भित्रा विकास निर्माणका कार्यलगायत गरेको योगदान महत्वपूर्ण रहेको उनले बताए । सैन्य कूटनीतिदेखि विकास निर्माण कार्य सञ्चालन गर्न योजना गरेका दीर्घकालिन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न नेपाल सरकारको हरसम्भव प्रयास रहने समेत प्रधानमन्त्रीले जानकारी दिए । सेना मुलुकको मेरुदण्डको रुपमा भूगोल र नागरिकको रक्षामा जोड दिँदै व्यवसायीक हुन पर्नेमा जोड दिएक थिए । सेनाले गर्दै आएको काम र नागरिकको भावनासँग सहकार्य गरेकोमा उनले सेनाकाे प्रश‌सा समेत गरेका थिए ।  

छलफलको सुभारम्भ गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरस पालना गर्न कटिबद्ध रहेको बताए । सेनालाई प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहने भन्दै प्रधानसेनापति शर्माले भने,'मुलुकमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै आएको छ ।' 

प्रधानसेनापति शर्माले त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराए । यसअघि  नै अर्थात भदौ २५ मा नै प्रधानसेनापति शर्माले सकलदर्जालाई सम्बाेधन गर्दै यस्ता विषय स्पष्ट पारिसकेका थिए । उनले सेनामा जागिर खान थप उत्साहित गराउने, सैनिकलाई प्रशिक्षण र प्राेत्साहन गर्ने जस्ता कार्यमा जाेड दिएका थिए । 

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्बर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजनाहरु, मूलत नेपाली सेनाको दीर्घकालिन सोच-२०८७ तथा पुनर्संरचनाका कार्यहरुको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजिकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताए । 

नेपाली सेना र रक्षा मन्त्रालयबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो । सेनाबाट प्रधानसेनापति शर्मा र  मन्त्रालयबाट सचिव पौडेलले यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्‍चात् प्राप्त हुने राय सुझावहरूले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास लिएको जनाएको छ ।

 


Author

थप समाचार
x