डिफेन्स

भोटेकोसी लार्चादेखि दुगुनागढीसम्म सेनाको पदयात्रा

इकागज |
पुस १९, २०७८ सोमबार २२:३२ बजे

काठमाडौँ - नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।


पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि, श्री गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्य दर्जा, स्थानीय आमा समूह, स्थानीय क्लबका सदस्य तथा अन्य सुरक्षा निकायका फौजको सहभागिता थियो ।

पदयात्रा टोलीलाई स्थानीय क्लब, झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागतका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले पनि शेर्पा रीतिरिवाजअनुसार स्वागत अभिवादन गरेको सेनाले जानकारी दिएको छ ।

सो अवसरमा उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमान्ड पोष्टमा राष्ट्रिय झण्डा झन्डोत्तोलनसमेत गर्नुभएको थियो । सेनाको पहलमा नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा गरिँदै आएको छ । रासस 


Author

थप समाचार
x