डिफेन्स

रथी बढुवाको सिफारिशमा निर्णय दिन सरकारलाई सकस, उपरथी कार्कीको उजुरी

इकागज |
माघ ६, २०७८ बिहीबार १६:३६ बजे

काठमाडौँ– नेपाली सेनाको रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्माको सिफारिशमा वरियता अनुसरण नभएको भन्दै उपरथी अनन्त कार्कीले रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको उजुरीमाथि कुनै प्रक्रिया अघि बढेको छैन । 

रक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखा हेर्ने सहसचिव कृष्णप्रसाद ज्ञवालीले रथीमा बढुवा सिफारिशको प्रतिवादमा आएको उजुरीका सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । ‘मैले पनि सञ्चारमाध्यमबाट जानकारी पाएको हुँ, औपचारिक रूपमा यसबारे कुनै जानकारी मन्त्रालयलाई छैन,’ उनले भने ।


प्रधानसेनापति प्रभुराम शर्माले उपचारका लागि भारत जानुअघि कार्कीभन्दा जुनियर (कनिष्ठ) दुई उपरथीलाई रथी बढुवाका लागि सिफारिश गरेको भन्दै कार्कीले यस्तो गलत अभ्यासले नेपाली सेनाको ‘चेन अफ कमाण्ड’ र व्यवसायिकतामा असर पर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको बताएका छन् । 

कार्कीले निवेदनमा हालका प्रधानसेनापति शर्मा रथी छँदा उनको अध्यक्षतमा गत वर्ष चैत १२ मा कार्कीसहित तीन जनाको पदावधि थपको सिफारिश भई तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सदर भएर पदावधि थप गर्ने सिफारिश भैसकेको उल्लेख गरेका छन् । यसका बाबजुद आफूभन्दा जुनियरलाई बढुवा सिफारिश गरेको भन्दै कार्कीले यसलाई प्रधानसेनापति शर्माको पूर्वाग्रह भनेका छन् । 

मन्त्रिपरिषद्को पुस ३० को बैठकमा प्रधानसेनापति शर्माले गरेको सिफारिशका विषयमा छलफल गर्दा वरियता अनुसार सिफारिश नभएको भन्दै निर्णय थाती राखेको बुझिएको छ । यद्यपि मन्त्रिपरिषद्ले प्रधानसेनापतिको यो सिफारिशमाथि के निर्णय लिनेछ भन्ने अनिश्चित नै देखिन्छ । 



Author

थप समाचार
x