डिफेन्स

प्रचण्ड–माधव नबोक्न कांग्रेसलाई ओलीको सुझाव

इकागज |
फागुन १७, २०७८ मंगलबार १६:२४ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको एकीकृत समाजवादीलाई नबोक्न कांग्रेसलाई सुझाएका छन् । अनुचित, दुश्मनीपूर्ण राजनीति एमाले र कांग्रेसले नगर्ने भन्दै लोकतन्त्रका लागि एमाले कांग्रेस साथसाथै रहेको र अरु पार्टीसँग मिल्न नहुने ओलीले बताए । 

‘लोकतन्त्र मास्न आएका, नसकेपछि सम्झौता गरेका शक्ति पनि छन् यही सरकारमा जो भावनात्मक रुपमा लोकतन्त्र मान्दैनन्,’ माओवादीलाई इंकित गर्दै ओलीले भने। लोकतन्त्रका लागि बलिदानी दिएर आएका एमाले र कांग्रेसबीच सैद्धान्तिक सहमति हुनुपर्ने ओलीको धारणा थियो । 


मंगलबार पत्रकार सम्मेलन गर्दै ओलीले प्रचण्ड–माधवलाई बोक्नु अनुचित हुने बताएका हुन् । तत्कालीन नेकपाको सरकार हुँदा माधव नेपाल र प्रचण्डले कामका कुरा भन्दा आफ्नै व्यक्तिगत कुरा बढी गर्ने गरेको ओलीको भनाइ थियो । ‘कामका विषयमा त छलफल गर्नै नदिने, झमेला गर्ने, गति रोक्ने, दन्तबझान गर्ने । मान भएन, अपमान भयो भन्ने हिँड्ने,’ ओलीले माधव नेपालप्रति कटाक्ष गरे । 

दुई छिमेकीको कथा सुनाउँदै ओलीले प्रचण्ड–माधव जुनसुकै हदमा गएर पनि शत्रुता निभाउने गरेको बताए । ‘दुई छिमेकी थिए, साह्रै दुश्मनी भएका । एउटा गरिबको छोरा मरेछ, कोही÷केही नभएपछि गुन्द्रीमा बेरेर लैजाँदै गर्दा उही छिमेकीको आँगनमा खसेछ मृत छोरा,’ ओलीले अघि सुनाए, ‘आफ्नो छिमेकीले बच्चा मारेर ल्याएर फाल्यो भन्ने सोचेर अर्कोले पनि आफ्नो छोरा मारेर लगेर छिमेकीकहाँ खसालेछ, त्यस्तो दुश्मनी गर्छन् ।’ प्रचण्ड–माधवले दुश्मनीको राजनीति गर्ने भन्दै ओलीले उनीहरुसँगको सहकार्य उचित नहुने बताए। 

प्रचण्डको पार्टीलाई एउटाले बाउ र अर्कोले छोरी बोकेर बचाएको ओलीको दाबी थियो । ‘कहिले बाउ बोकेको छ, कहिले छोरी बोकेको छ । यस्तो नगरौं भन्ने हाम्रो कुरा हो । कांग्रेसले गर्छ भने, एमाले बाध्य हुन्छ । यसको पनि संयम हुन्छ नि,’ ओलीले भने । 

अहिले गठबन्धनको खाँचो प्रचण्ड–माधवलाई रहेकोले कांग्रेसले उनीहरुलाई हात दिन नहुने ओलीले बताए । ‘उहाँहरुको हैसियतले एक्लै चुनावमा जान दिँदैन । कुनै भविष्य छैन, उहाँहरुले बुझ्नुभएको छ,’ ओलीले भने, ‘एमाले नामको गड्गडाउँदो खोला तर्न हातमा हात राखेर तरेका छन् । अस्ति त एकजना (चित्रबहादुर केसी) छुटिसक्नुभएछ, बग्नुभएछ ।’ 

चुनावमा माधव नेपाल र प्रचण्ड एक्लाएक्लै चुनाव लडे उनीहरुको सत्यानाश हुने ओलीको दाबी छ। गठबन्धन बचाउनका लागि प्रचण्ड–माधव मरिमिटेर लागिरहेको कारण पनि यही रहेको उनको भनाइ थियो । ‘एक जनाकोे थर लिन चाहन्नँ । केपी फेरि प्रधानमन्त्री भयो भने नेपालको सत्यानाश हुन्छ भन्दै भाषण गर्नुभएछ। म उहाँको थर भन्न चाहन्नँ,’ माधव नेपाललाइ व्यंग्य गर्दै भने, ‘किन आत्तिनु भयो उहाँ त्यति साह्रो ? नेपालको पार्टीको सत्यानाश हुन्छ रे ! चुनावमा धुलो चाट्छ रे। नेपाल समाप्त हुन्छ रे।’ गठबन्धन जोगाइराख्न नै एमसीसीलाई राष्ट्रघाती भनेपनि अन्तिममा सम्झौता गर्न प्रचण्ड–माधव तयार भएको ओलीको दाबी थियो। ‘एमसीसी पास हुनैहुँदैन भन्नेहरु पछि एमसीसी पास गरे, गठबन्धन जोगाउन । उनीहरुको घुँडामा घाउ भएको छ, हेरेहुन्छ,’ ओलीले थप व्यंग्य गरे।

आगामी निर्वाचनमा प्रचण्ड–माधवले यति काम गर्न दिएनन्, अब यति काम गर्छौं भन्ने एजेन्डा लिएर एमाले जाने ओलीको भनाइ थियो । ‘कति के–के काम गर्न दिएनन् भन्ने बुझाएर जान्छौं,’ चुनावको एजेन्डाबारे ओलीले भने, ‘काम त गरेका हौं, तर अहिले उनीहरुले नै भत्काइराखेका छन् । हामीले बनाएको सडक कार्यकर्ता लगाएर भत्काइरहेका छन्, अहिले आन्दोलनका नाममा ।’


Author

थप समाचार
x