डिफेन्स

प्रधामन्त्रीले जंगी अड्डा पुगेर भने : सीमा सुरक्षा सहकार्य अपरिहार्य छ

इकागज |
माघ २५, २०७७ आइतबार २०:३८ बजे

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना र सशस्त्र प्रहरी बलले संयुक्त रुपमा सीमामा गरिने सुरक्षाको विषयलाई सकारात्मक भन्दै सुरक्षा समन्य अहिलेको अपरिहार्यता रहेको बताएका छन् । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल रहेको भएपनि त्यसको केही वर थप बलको लागि भन्दै नेपाली सेनाले पेट्रोलिङ गर्ने विषयमा छलफलहरु भइरहँदा सोही प्रकारको समन्वयात्मक छलफलको आरम्भमा कामचलाउ प्रधानमन्त्री ओलीले गरेका हुन् ।

जङ्गी अड्डा तथा सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू’ बिषयक दुई दिवसीय सेमिनारको आरम्भ गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।


ओलीले सीमा सुरक्षा जस्तो गम्भिर तथा महत्वपूर्ण विषयमा हुने आन्तरिक छलफल तथा विज्ञहरुबाट प्राप्त हुने राय सुझावबाट नीति निर्माण एंव सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।नेपालको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण मानिएको उक्त सीमा व्यवस्थापन कार्यले सुरक्षा सहकार्यको भावना र सीमा सुरक्षामा महत्पूर्ण फड्कोको रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार नै एकीकरण मार्ग कार्यक्रमको समापनमा समेत सुरक्षाको विषयमा नै जोड दिएका थिए । पहिचानको राजनीतिलाई अनुचित हिसाबले उकासेर जनता भड्काउने काम भइरहेको भन्दै सुरक्षा संयन्त्र चनाखो  भएर बस्नुपर्ने उनको धारणा थियो ।  जनता भड्काउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भएको पनि उनले बताए पनि उनले त्यो कसले गरिरहेको स्पष्ट पारेनन् । नेपालीको मेलमिलाप र विविधतामा एकताबाट एकीकृत राज्यलाई बचाउनु परेको विषयमा पनि उनले जोड दिए ।

‘हिजो एकीकरण लडाईंबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाईंबाट बचाउनु परेको थियो । आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ,’ उनले भने । यतिबेला कुनै किल्ला बनाउन लड्नु नपरेको तर इतिहासको संरक्षण गर्न सबै मिलेर अघि बढ्न परेको बताए ।नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७७ असार २३ गते स्वीकृत भएको ‘राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना’ बमोजिम नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने लक्ष्य सहित उक्त सेमिना आरम्भ भएको हो ।

राष्ट्रिय सुरक्षा परिषद सचिवालयको संयोजकत्व तथा प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीको उपस्थितीमा जंगी अड्डामा एक कार्यक्रमबीच उक्त कार्य अघि बढेको हो । उक्त सेमिनार मुख्य रुपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरु र सम्बद्ध विभिन्न निकायहरुको भूमिकामा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ ।

यस क्रममा सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमा पारिका समकक्षीहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने तरिकाहरु तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तुहरु समेत समेटिने पनि सेनाले स्पष्ट पारेको छ । उक्त छलफलबाट आएको निश्कर्षलाई नेपाल सरकारको नीति निर्माणका तहमा उपलब्ध गराउने पनि सेनाले जनाएको छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव, रथि तथा अन्य अधिकृतहरु लगायतकाे उपस्थिती थियो । सोमबार उक्त कार्यक्रम हलचोकमा समापन हुनेछ । 


Author

थप समाचार
x