डिफेन्स

सेनाको संस्थागत सुधारबारे जंगी अड्डामा चार दिने बहस सुरु

इकागज |
फागुन २, २०७७ आइतवार १८:४७ बजे

काठमाडौँ : नेपाली सेनाको संस्थागत परिवर्तन, एकिकरण र स्थिरतालाई  विश्लेशणात्मक सुझावको लागि जंगी अड्डाले चार दिने गोष्ठी आयोजना गरेको छ । आइतबारबाट सुरु भएको गोष्ठीमा सेनाभित्र रहेका विभिन्न विभागका प्रमुखहरू सहभागी छन् । 

सेनाभित्र भइरहेको संस्थागत परिवर्तन र यसले पार्ने प्रभावका विषयमा आन्तिरक छलफल गर्ने र त्यसबारेमा नागरिकस्तरमा पनि जानकारी प्रवाह गर्ने उदेश्यले गोष्ठीआयोजना गरिएको सेनाले जनाएको छ । 


प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र संस्थागत परिवर्तनका लागि सबैजनाले व्यक्तिगतरूपमा आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो संस्थालाई परिवर्तन गर्दै लैजाने हो । तर त्यसका लागि हामी सबै तयार हुनुपर्छ । हामी व्यक्तिगत स्तरमा परिवर्तन भए मात्रै संस्था परिवर्तन हन्छ,’  प्रधानसेनापति थापाले सम्बोधनमा भने, ‘विशेषगरी नेतृत्व प्रदान गर्ने स्थानमा बसेकाहरूले आफू मातहतमा रहेकाहरूमा सकारात्मक प्रभाव पार्नु आवश्यक छ ।’
 
केही हदसम्म सुधारको काम भएको र त्यसलाई अझ संस्थागत रुपमा नै सुधार गर्ने विषयलाई लिएर सेनामा निकै पहिलेदेखि बहस भए पनि अझै सुधार प्रक्रियामा सुस्तता छ । सैन्य संख्या बढाउने कि भएकालाई प्रविधि मैत्री बनाउने भन्ने विषय पनि सेनाभित्र बहसमा नै छ । 

रक्षा मन्त्रालय, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका गरी ८० अधिकारीले भाग लिने सेमिनारको उद्घाटन गर्दै प्रधानसेनापति थापाले सेनाभित्रका सबैसँग छलफल गर्दै सहमतिमा आवश्यकीय संस्थागत परिवर्तन गर्दै जाने बताए ।

उनले सेना के परिवर्तन हुँदैछ, किन परिवर्तन हुँदैछ, कसरी परिवर्तन हुँदैछ र यसको प्रभाव कस्तो हुने भन्‍ने बुझ्‍न पनि सेमिनारमा सहभागी अधिकारीहरूलाई आग्रह गरे । विश्‍वमा नयाँ प्रविधि विकासको सिलसिला चलिरहने भएकाले सेनाले त्यसलाई नजिकबाट नियाल्नु पर्ने र आत्मसात गर्नुपर्ने पनि प्रधानसेनापति थापाको भनाइ थियो । 

‘सेनाभित्र हामीले डिजिटलाइजेसन सुरु गरेका छौँ । पेपरबाट पेपरलेस संस्था बनाउने हाम्रो अभियान हो । हामीले राख्‍ने सुझाव पेटिकाबाट कार्यसम्पादन मुल्याकंनसम्ममा हामीले डिजिटल माध्यमको प्रयोग गर्ने प्रयास गरिरहेका छौं । हामी सबैले नयाँ प्रविधि विकासलाई आत्मसात गर्नुपर्छ,’ प्रधानसेनापति थापाको भनाइ थियो । तर कार्यक्रममा भने ग्लसी पेपरमा कार्यक्रमसहित छापिएको कार्यक्रम पुस्तिका बाँडिएको थियो । उक्त कार्यक्रम उनीहरूले भनेजस्तो सुधार प्रक्रियामा जाने हो भने इमेल मार्फत पठाउने सकिने विषय थियो ।
 
सुधार त्यही स्तरबाट हुनपर्ने धारणा त्यही रहनेहरूले सुनाएका थिए । कार्यक्रममा सुधारको लागि के गर्ने भन्‍ने विषय सेनासँग निकट भएकाहरूलाई नै मात्र बोलाइएको अवस्था देखिन्छ । सेनाका पूर्वजनरलहरू भन्दा अन्य क्षेत्रमा अध्ययन गरेका अध्येताहरूलाई बढि प्रशय दिन सकिने भए पनि भित्रकै व्यक्तिहरू सहभागी गराउनुले यसमा सुधारका न्यून पाटाको रूपमा लिन सकिन्छ । 

अन्तराष्ट्रिय जर्नल लेखहरू प्रकाशन गरेका अध्येताहरूलाई ल्याउन पर्नेमा उनीहरूले उपलब्ध गराएको पुस्तक हेर्दा सानो प्रयास अघि बढाएको मात्र देख्‍न सकिन्छ । यसलाई बृहत बनाउनेतर्फ ठूलो सोचका साथ खासै कार्य अघि बढेको देखिदैन । पूर्वरथीहरूको सुझावले हुने भए उनीहरू तीस वर्ष त्यही रहँदा सुधारका कदम सुझाएका थिए होलान, भन्दै उपस्थितहरूले नै गुनगुनाएका थिए । 

भन्‍न त सवल, सुदृढ, सक्षम नेपाली सेना राष्ट्रिय एकता स्वाधीनता र स्वतन्त्रतताको पहरेदारका लागि भनिएको कार्यमा त्यही अनुरूपको विज्ञता भएका व्यक्तिहरू राखेर बहस गराउन आवश्यक देखिन्छ । राखिएका शिर्षकहरू हेर्दा केही गर्न लागेजस्तो देखिन्छ तर त्यही शिर्षक अनुसारको व्यक्तिको वायो नियाल्दा अलमल हुने प्रकारको छ । 

शुरुवात राम्रो गरेको छ एकै प्रयासमा सवल हुँदैन तर यसमा क्रिटिकल समिक्षा आवश्यक देखिन्छ । सायद यसबाट आउने निश्कर्षले अर्का कार्यक्रम तय हुने हुँदा पक्कै यसबारेमा समिक्षा हुनेछ । 
 


Author

थप समाचार
x