डिफेन्स

पहिला नेतृत्व आफू स्पष्ट हुनुपर्छ : प्रधानसेनापति थापा

इकागज |
फागुन ५, २०७७ बुधबार २०:४३ बजे

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापाले नेतृत्व वर्गमा आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताएका छन् । बुधबार जंगी अड्डामा "संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना" सम्बन्धी ४ दिवसीय सेमिनारको समापन गर्दै प्रधानसेनापति थापाले अस्थिर, अनिश्‍चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी रहेको बताए ।

उनले परिवर्तनको प्रकृति अपरिवर्तनीय रहेको र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताए । 


थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पुर्ण जिम्मेवारी नेतृत्वको नभए तापनि परिवर्तनको अङकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी नेतृत्व वर्गको रहेको बताए । व्यवस्थापन परिवर्तन गर्ने रणनीति सफलताको लागि नेतृत्व वर्ग आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताएका हुन् । 
    
थापाले  नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएकाले राष्ट्र रक्षाको लागि सक्षम तथा समर्पित रहेको बताए । परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात गरेमा यो सम्भव रहेको उनको भनाइ थियो । 

कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामुहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागीपर्ने बताए । 

रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरुका उच्च तहका अधिकृतहरू, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्गको उपस्थितिमा जङ्गी अड्डामा सञ्चालन भएको ४ दिवसीय सेमिनारमा ६ जना गैर सैनिक तथा ११ जना सैनिक विषयविज्ञहरुबाट व्यवस्थापन परिवर्तनका विषयमा कार्यपत्र प्रस्तुत भएका थिए । 


 


Author

थप समाचार
x