डिफेन्स

संसारभरका सेनाले आफ्नै तवरले गुप्तचरी गर्छ : सैन्य प्रवक्ता

नेपाली सेनाले पनि छुट्टै गुप्तचरी गर्छ

इकागज |
फागुन १४, २०७७ शुक्रबार १९:४७ बजे

काठमाडौँ  : नेपाली सेनाले विश्वकै सेनाले मुलुकको रक्षाको लागि दिर्घकालिन योजना बनाउन गुप्तचरी गर्ने जनाएको छ । सेनाले उपयोग सैनिक गुप्तचरी (मेलिटरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो र अनौठो विषय नभएको प्रष्ट पार्दै जंगी अड्डाले भनेको छ, ‘प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा यस्ता कार्य गरिरहेको हुन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो ।’ 

नेपाली सेनाले राष्ट्रिय सुरक्षा अवस्था नियाल्न त्यो कार्य संविधान त स्पष्ट रहेको समेत बताएको छ । सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोष बल्लभ पौड्यालले गुप्ताचरी सम्वन्धी जंगी अड्डाको धारणा बाहिर ल्याएका हुन । ‘प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात ज्ञात सुरक्षा सम्बन्धी खतराहरूको अनुगमन गर्ने त्यसको मुल्याङ्कन गर्ने, प्रवृति विश्लेषण (ट्रेण्ड एनलाइसिस) गर्ने र भविश्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरूलाई पनि आकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो । त्यसैले यसलाई यही ढंगले बुझ्दाखेरी उपयुक्त हुन्छ,’ उनले एक अन्तरवार्तामा भने ।  


सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो जुने संविधानमा स्पष्ट छ, उनले भने । सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्रको व्यापकता र विशेषताले नै खतराहरूको आंकलन गर्न सैनिक सङ्गठनहरूलाई मद्दत पुग्ने पनि उनले प्रष्ट्याए । दुरगामी प्रकृतिका सुरक्षा चुनौतीहरूलाई मध्यनजर राखेर सूचना संकलन गर्ने कार्य सेनाले गर्दै आएको पनि बताउँदै भने, ‘यदी त्यसमा कमजोरी हुन पुग्यो भने मुलुकले नै क्षति व्यहोर्ने हुनाले सेना सधै सचेत छ ।’ 

राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकाय रहेकाले किन सेना यसमा अग्रसर बनेको  जिज्ञासामा उनी भन्छन्, ‘सबै सङ्गठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरूको कार्यको प्रकृति फरक-फरक छ ।’ विभिन्न सुरक्षा निकायका अथवा विभिन्‍न सूचना सङ्कलन गर्ने संयन्त्रहरूबीच समन्वय रहन्छ तर सेनाको फरक शैलीको सुचना संयन्त्र छ । जसका कारण सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्दै आएको छ । 

सैन्य दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरू राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरूमा आवश्यक नपर्ने पनि बताए । दिर्घकालिन रुपमा उत्पन्न हुन सक्ने सुरक्षा सम्बन्धी खतराहरूलाई मात्र सेनाले सूचना लिने उनले बताए ।

‘सबैले बुझ्‍न पर्ने विषय हो अहिलेको विश्व परिवेशमा सूचना सङ्कलनको महत्वपूर्ण भूमिका हुन्छ । सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन,’ उनले भने, ‘आजभोलि आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो बनेको छ । सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यसको मतलब हामी सबैजना व्यक्तिहरू सूचनाको स्रोत हुनसक्छौं । तर त्यसको अर्थ सबै जना सेनाको लागि अथवा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्‍ने बुझाई गलत हो ।’ 
 


Author

थप समाचार
x