डिफेन्स

सैनिक श्रीमती संघको सहयोगमा बनेको प्रसूती केन्द्र हस्तान्तरण

इकागज |
चैत ४, २०७७ बुधवार २०:१५ बजे

काठमाडौँ : सैनिक श्रीमती संघको सहयोगमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं.८, भार्तामा निर्माण भएको प्रसूती केन्द्र आज  गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापा तथा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती दिपा थापाद्वारा संयुक्त केन्द्रमा लेखिएको शिलालेख अनावरण, भवनको समुद्‍घाटन गरी हस्तान्तरण गर्ने काम सम्पन्न भएको हो । केन्द्र मध्य पृतना हेडक्वाटरको निगरानीमा बनेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  
  
कार्यक्रममा प्रधान सेनापति थापाले प्रसूति केन्द्रबाट आगामी दिनमा गुणस्तरीय प्रजनन् सेवा प्रदान गर्दै त्यस क्षेत्रमा बसोबास गर्ने आमा तथा नवजात् शिशुहरुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने आशा राखेको बताए । उनले संविधानप्रदत्त महिलाको सुरक्षित् मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारले लिएका पहलहरूमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । केन्द्रको नाम  "कोपिला प्रसूति केन्द्र" राखिएको उनले जानकारी दिए ।


 
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानले बिपन्न वर्गका स्थानीय बासिन्दालाई राहत वितरण तथा मातृशिशु मृत्युदर बढी रहेको स्थानलाई छनौट गरि प्रसूती केन्द्र निर्माण गरेकोमा नेपाली सेना साँच्चै जनताको सेना भएको आभास भएको बताए । 


सैनिक श्रीमती संघकी अध्यक्ष थापाले गाँउपालिकाका विपन्न वर्गका स्थानीय बासिन्दालाई राहत स्वरुप ५०० गोटा मण्डी समेत बितरण गरिएको जानकारी दिइन् । 


 


Author

थप समाचार
x