सेयर

भित्री सूचना चुहाई अजोड इन्स्योरेन्सको सेयर कारोबार

हिजो सर्किट ब्रेकर, आज हकप्रदको सूचना

इकागज |
चैत १७, २०७७ मगलवार १०:११ बजे

काठमाडौं : सोमबार अजोड इन्स्योरेन्सको सेयर मूल्य ७० रुपैयाँले बढेर सर्किट ब्रेकरको स्तरमा पुग्यो । कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७७६ रुपैयाँ कायम भयो। कम्पनी सञ्चालक समितिको निर्णय सार्वजनिक हुनु अघिदेखि नै सेयर मूल्य उच्च दरले बढेको थियो ।

तर, सोमबार नै बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्‍यो । जसअनुसार प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी हुनेछ । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ ।


प्रस्तावित हकप्रद पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैया पुग्नेछ । साधारणसभा प्रयोजनका लागि चैत २४ गतेदेखि बुक क्लोज हुनेछ । सेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर सेयरको मूल्यमा चलखेल गर्ने प्रवृत्ति बढेको छ । नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो ।

के हो इनसाइडर ट्रेडिङ ?

कुनै संस्था वा कम्पनीका सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार नै इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन । कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने कानुनी व्यवस्था छ ।

धितोपत्र ऐनअनुसार ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने संस्थाबाट सार्वजनिक नभएको सूचना वा जानकारी सार्वजनिक भए धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ । यस्तो कारोबार गर्नेलाई बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा त्यस्तो हानि नोक्सानीसमेत भराई दिनुपर्ने छ ।


Author

थप समाचार
x