सेयर

साताको सेयर बजार

नाफा सुरक्षित गर्दा परिसूचकमा दबाब

सातामा साढे ४० अर्ब घट्यो कुल बजार पुँजीकरण

इकागज |
साउन २१, २०७९ शनिबार १२:५९ बजे

फाइल फोटो

काठमाडौँ  - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताभरको कारोबारमा २७ अंकले गिरावट आएको छ। साताभरको कारोबारपश्चात २६.९७ अंक घटेर यस साताको बजार बन्द भएको छ।

अघिल्लो साता १२३ अंक बढेको बजार यस साताको कारोबारमा भने २७ अंक ओरालो लाग्न पुग्यो। गत साता १२३ अंक बढ्दा समग्र बजार परिसूचक २१४०.५३ अंकमा कायम थियो भने यस साता २७ अंक घट्दा परिसूचक २११३.५५ मा झरेको छ।


त्यस्तै एक सातामा सेन्सेटिभ इन्डेक्स ३.०३ अंक घटेको छ । गत साता ४०९.४८ विन्दुमा रहेको ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम दिन ४०६.४५ विन्दु कायम भएको छ ।

मौद्रिक नीति अगाडि करिव १८ सयको आसपासमा रहेको बजारमा किन्नेहरूले यस साता प्रोफिट बुक गरेका कारण पनि बजारमा केही गिरावट देखिएको विश्लेषकहरू बताउँछन् । बढेको बजारमा लगानीकर्ताहरुलाई निश्चित फाइदा भएपछि उनीहरू नाफा सुरक्षित गर्नतर्फ लाग्दा यो साता नेप्से परिसूचकमा गिरावट आएको देखिन्छ।

यो साता सेयर बजारमा ६ कारोबार दिनमध्ये परिसूचक लगातार चार दिन घटेको थियो भने २ दिन बढेको थियो। साताको पहिलो र दोस्रो कारोबारका दिन बढेको नेप्से परिसूचक त्यसपछिका दिनहरूमा लगातार घट्न पुगेको थियो ।

साताको पहिलो कारोबारका दिन आइतवार बजार परिसूचक ५४.५८ अंकले बढेको बजार सो दिनको कारोबार पश्चात २१९५.१० अंकमा उक्लिएको थियो ।

यस्तै सोमवारको कारोबारमा बजार परिसूचक १.१५ अंकले बढेको बढेको थियो । आइतवार ५५ अंकले बढेको बजार सोमवार सामान्य १ अंकले बढेको बजार मंगलवार देखिको कारोबारमा भने निरन्तर घट्न पुगेको थियो।

साताको तेस्रो कारोबार दिन मंगलवार २.७७ अंक घटेको नेप्से चौथो कारोबार दिन ६.७२ अंक, पाँचौँ कारोबार दिन ३८.६० अंक र साताको अन्तिम कारोबार दिन शुक्रबार ३४.६१ अंक घटेर साताको कारोबार बन्द भएको थियो।

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

आइतवार

५४.५८

४ अर्ब ६० करोड

सोमवार

१.१५

४ अर्ब ६७ करोड

मंगलवार

२.७६

३ अर्ब २९ करोड

बुधवार

६.७२

४ अर्ब २ करोड

बिहीवार

३८.६१

३ अर्ब ७६ करोड

शुक्रवार

३४.६१

२ अर्ब ६२ करोड

जम्मा

२६.९७

२२ अर्ब ९६ करोड

कारोबार रकम

गत साता तुलनामा यस साता कारोबार रकम भने बढेको छ । यस साता सेयर बजारमा २२ अर्ब ९६ करोडको कारोबार भएको छ । गत साताको कारोबारमा २० अर्ब ८५ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

गत साताको अन्तिम दिनको तुलनामा यो साताको सेयर बजार पुँजीकरण भने घटेको हो । गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण ३० खर्ब ५६ अर्ब ५९ करोड रहेकोमा यो साता घटेर अन्तिम दिनसम्म ३० खर्ब १५ अर्ब ८९ करोड रुपैयाँ ओर्लिएको छ । अर्थात यो साता लगानीकर्ताले बजार पुँजीकरण पनि ४० अर्ब ७० करोड रुपैयाँ गुमाएका छन्।

 


Author

थप समाचार
x