सेयर

नयाँ वर्षको पूर्व सन्ध्यामा सेयर बजारमा बहार

इकागज |
चैत ३१, २०७७ मंगलबार १७:३ बजे

काठमाडौँ : यो साता लगातार बढिरहेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्ष, २०७८ को पूर्व सन्ध्यामा २,७०० बिन्दूको थ्रेसहोल्ड पार गरेर अहिलेसम्मकै उच्चतम बिन्दू पार गरेको छ । सेयर बजारमा निर्जीवन र जीवन बीमा कम्पनीहरू तथा लघुवित्त र जलस्रोत कम्पनीको सेयर सूचीकरण पछिल्लो समय बढेको छ । सेयरको आपूर्ति बढ्दा पनि सेयर बजारमा ‘बुलिश ट्रेन्ड’ कायम नै छ । 

मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २,७१४.७९ बिन्दूमा पुगेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा नेप्से २३.२३ अंकले बढेर ऐतिहासिक रेकर्ड बनाएको हो । सेयर बजार पुँजीकरण पनि कुल गार्हस्थ उत्पादन बराबर नै पुग्नेतर्फ उन्मुख देखिन्छ । मंगलबारसम्म सेयरबजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । मंगलबार सेयर बजारमा प्रभुत्व भएको बैंकिङ्ग समूहको परिसूचक २.३ प्रतिशत अर्थात् ४२.३६ अंकले बढेको छ । बैंकिङ्ग समूहको परिसूचकले नेप्से परिसूचकलाई नै माथि तानेको देखिन्छ । 


यसका अतिरिक्त विकास बैंक समूहको परिसूचक पनि ३.४१ प्रतिशत अर्थात् ९५.४२ अंकले बढेको छ । बैंकिङ्ग र विकास बैंक समूहबाहेक नेप्सेमा मंगलबार ट्रेडिङ, जलविद्युत्, वित्त कम्पनी तथा म्युचुअल फण्ड समूहका परिसूचक उकालो लागेका छन् । होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सूचीकृत अन्य समूह, लघुवित्त, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको परिसूचक ओरालो लागेका छन् । 

मंगलबार नेप्सेमा एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्यारेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी जलविद्युत् कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरै बढेको छ । नेप्सेमा मंगलबार निफ्राको सबैभन्दा धेरै पटक ४ हजार चार सय ३६ पटक कारोबार भएको छ भने नेपाल बैंकको सबैभन्दा बढी ६ लाख २६ हजार नौ सय १३ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमको हिसाबले भने नबिल बैंकको २८ करोड ६२ लाख रुपैयाँ मूल्यको सेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा २०९ कम्पनीको ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ मूल्यका १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता सेयर ७६ हजार ९४ ओटा कारोबारबाट किनबेच भएको छ ।
 


Author

थप समाचार
x