सेयर

७५.७९ अंकले घट्यो सेयर बजार

इकागज |
बैशाख १२, २०७८ आइतबार १५:२६ बजे

काठमाडौँ : कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा पनि त्यसको असर देखापरेको छ । आइतबार नेप्से परिसूचक २.८६ प्रतिशत अर्थात् ७५.७९ अंकले घटेर २,५७२.२२ अंकमा रोकिएको छ । सेयर बजारमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य प्रतिबिम्बित गर्ने ‘सेन्सेटीभ इण्डेक्स’ २.६३ प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेमा सबै समूहका परिसूचक ओरालो लागेका छन् । होटल एण्ड टुरिजम समूहको सेयर परिसूचक ६.१४ प्रतिशत, जलविद्युत्को ४.३७ प्रतिशत, वित्त कम्पनी समूहको परिसूचक ३.४ प्रतिशत र निर्जीवन बीमा कम्पनी समूहको परिसूचक ३.३४ अंकले घटेको छ । सेयर बजारमा बढी प्रभुत्व रहेको बैंकिङ्ग समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ भने ट्रेडिङ्ग र माइक्रोफाइनान्सको परिसूचक ३.१ प्रतिशत र ३.०६ प्रतिशतले घटेको छ ।


आज चन्द्रागिरी हिल्सको सेयर मूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशत अर्थात् १८० रुपैयाँले घटेर १,९५५ रुपैयाँमा आइपुगेको छ । त्यस्तै बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१९ प्रतिशत, रिडी हाइड्रोपावरको ७.६६, युनियन हाइड्रोपावरको सेयर मूल्य ७.४३ र ओरियन्टल होटल्स लिमिटेडको सेयर मूल्य ६.३६ प्रतिशतले घटेकोछ  । 

आइतबार नेप्सेमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ७ लाख २३ हजार ६ सय ५७ कित्ता सृेृयर ३९ करोड ५२ लाख ५२ हजार ६ सय ४० रुपैयाँ मूल्यमा किनबेच भएको छ । त्यस्तै, ज्योति लाइफ इन्स्यारेन्सको ३३ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, माथिल्लो तामाकोसीको २५ करोड ९७ लाख रुपैयाँ मूल्यको सेयर कारोबार भएको छ । ज्योति लाइफको २१ हजार ९ सय ९४ ओटा कारोबार भएको छ । त्यस्तै, निफ्राको ६ हजार सात सय ९१ ओटा कारोबार भएको छ । 

आइतबार दुई सय १५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ मूल्यमा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर १ लाख चार हजार ४० ओटा कारोबारबाट किनबेच भएको छ ।
 


Author

थप समाचार
x