सेयर

सेयर बजारमा हरियाली

इकागज |
बैशाख १९, २०७८ आइतबार १५:५० बजे

काठमाडौँ : कोरोना भाइरस महामारीको दोस्रो लहरले निषेधाज्ञाका कारण अन्य आर्थिक गतिविधि ठप्पप्रायः भइ अन्यत्र लगानीका अवसर संकुचित हुन थालेपछि लगानीकर्ता सेयर बजारमा झुम्मिएका छन् । निषेधाज्ञामा अनलाइनमार्फत् कारोबार हुनेगरी सेयर बजार खुला राखिएको छ । निषेधाज्ञामा सेयर बजार बन्द हुने आशंकामा गत साताको सुरुवातमा सेयर बजारमा बिक्रीको चाप देखिएको थियो । तर सेयर बजार खुला रहने भएपछि गत साता बिहीबारदेखि नै बजार उकालो लागेको छ । महामारीको दोस्रो लहरका कारण बैंक तथा वित्तीय संस्थाको अन्य क्षेत्रमा कर्जा माग घट्न जाने अनुमान सहित लगानीकर्ता पुन सेयर बजारमा फर्किएको सेयर बजार विश्लेषक प्रकाश रजौरियाले बताए । 

आइतबार पनि सेयर बजार हरियाली देखिएको छ । आज नेपाल स्टक एक्स्चेन्ज २.०७ प्रतिशत अर्थात् ५४ अंकले बढेर २,६६५.१० अंकमा पुगेको छ । सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेन्टीभ इण्डेक्स १.८७ प्रतिशतले बढेको छ । निकट भविष्यमा हुन लागेका केही जीवन तथा निर्जीवन कम्पनीहरूको साधरणसभाले लाभांश अनुमोदन गर्ने आशामा निर्जीवन बीमा कम्पनीहरूको सेयरमा लगानीकर्ताकोे आकर्षण देखिएको छ । आइतबार नेप्सेमा सबै समूहका परिसूचक उकालो लागेका छन् । जीवन बीमा कम्पनीको परिसूचक ३.७४ प्रतिशत, निर्जीवन बीमा कम्पनी ३.४७, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा नेपाल टेलिकम समेतको सेयर सूचीकृत रहेको अन्य समूह ४.६३ प्रतिशत र होटल तथा पर्यटन ३.३८ प्रतिशतले बढेको छ । त्यस्तै, ट्रेडिङ्ग र लघुवित्त कम्पनी समूहको परिसूचक पनि २ प्रतिशतभन्दा माथि गएको छ । 


विशाल बजार कम्पनीको सेयर आज ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ५०९ रुपैयाँले बढेर प्रतिकित्ता ५,६०८ रुपैयाँ पुगेको छ । त्यस्तै, महिला लघुवित्त, सिंगटी हाइड्रोपावर कम्पनीको सेयर पनि क्रमशः ९.९८ प्रतिशत र ९.९२ प्रतिशतले बढेको छ । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ८१२ रुपैयाँ पुगेको छ । सानिमाको तीन सातापछि साधारणसभा तय गरिएको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको छ । आइतबार नेप्सेमा २२६ कम्पनीको ७ अर्ब ३६ करोड रुपैयाँ मूल्य बराबरका १ करोड ५८ लाख  ३२ हजार चार सय तीन कित्ता सेयर ८३ हजार चार सय चार ओटा कारोबारमार्फत् किनबेच भएको छ । 


Author

थप समाचार
x