राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले सेयर बजार अप्राकृतिक रूपले बढ्यो : अर्थमन्त्री महत
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले सेयर बजार अप्राकृतिक रूपले बढेको टिप्पणी गरेका छन् ।बिहीबार काठमाडौँमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो टिप्पणी गरेका हुन् ।
अर्थमन्त्री महतले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको सेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गरे । उनले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गरे ।
उनले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाइ गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गरे । उनले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रूपले वृद्धि भएको बताए । उनले गत सालको भन्दा तेब्बर हुने आसले बैंकबाट ऋण लिएर जग्गा र टावरहरूमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको बताए ।
अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रमा तत्कालका लागि लगानी नगर्न आग्रह गरे । उनले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने जिकिर गरे । उनले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया