सेयर

१२३ अंकले घटेको बजार नकारात्मक सर्किट लागेर बन्द

इकागज |
मंसिर २१, २०७७ आइतबार १५:६ बजे

काठमाडौं : आइतबार सेयर बजार नकारात्मक सर्किट लागेर बन्द भएको छ। अस्वभाविक तवरले करेक्सन आइरहेको सेयर बजार समयअगावै बन्द भएको हो । 

राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने घोषणा गरेसँगै बजारमा पहिरो गएको हो । राष्ट्र बैंकले पहिलो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्ने क्रममा बैंकिङ तरलता अधिक भएको कारण देखाउँदै सेयर धितो कर्जामा कडाइ गर्ने घोषणा गरेको थियो। 


कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार ६ प्रतिशतले घटेको छ । १ सय २३ अंकले घटेको नेप्से १ हजार ९ सय ३२ दशमलव ११ बिन्दुमा पुगेको हो । 
यस अवधिमा १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ९० हजार ७८  कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ६१ हजार ८ सय ५८ पटकको व्यापारमा भएको हो ।

कारोबारमा आएका १२ वटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ९ दशमलव १३ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ८ दशमलव २६ प्रतिशतले घटेको छ ।


Author

थप समाचार
x