सेयर

लामो समयको अन्तरालपछि नेप्सेमा उछाल

फाइनान्स र जलविद्युत् कम्पनीका लगानीकर्तालाई बम्पर

८७.६३ अंकले बढेर नेप्से २,६७२.२५ अंकमा

इकागज |
कात्तिक ८, २०७८ सोमवार १५:५८ बजे

काठमाडौँ– नेपाल स्टक एक्सचेन्जमा सोमबार कारोबार भएका तीन कम्पनीबाहेक सबैको सेयर मूल्य उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र युनिलिभर बाहेक कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको छ । विशाल बजार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन । 
१८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्येश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, अरुण काबेली हाइड्रोपावरका लगानीकर्ता उल्लेख्य कमाउनेमा परेका छन् । 

त्यस्तै, हिमालयन पावर पार्टनर्स, नेपाल हाइड्रोपावर डेभलपर्स, राधी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा अधिक बढेको छ । 


आज नेप्सेमा सूचीकृत सबै समूहका परिसूचकहरू उकालो लागेका छन् । फाइनान्स कम्पनी समूहको परिसूचक ७.८१ प्रतिशत, जलविद्युत्को ७.५७ प्रतिशत र विकास बैंक समूहको ६.५१ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनी समूहको परिसूचक ४.०६ प्रतिशतले बढेको छ । सेयर बजारमा ठूलो प्रभुत्व रहेको बैंकिङ्ग समूहको परिसूचक पनि २.०७ प्रतिशतले बढेको छ । 

सोमबार नेप्सेमा महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो १६ करोड २५ लाख रुपैयाँ मूल्यका २ लाख ६९ हजार ६ सय ६३ कित्ता सेयर किनबेच भयो । सेयर संख्याका आधारमा भने नेशनल हाइड्रोको ३ लाख ८ हजार सात सय ३० कित्ता सेयर किनबेच भएको छ भने कारोबार संख्याका आधारमा नेपाल बैंक लिमिटेडको एक हजार ६ सय ६४ पटक सेयर खरिद–बिक्री भएको छ । 

लामो समयको अन्तरालपछि नेप्सेमा आएको उछालमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ८७.६३ अंक अर्थात् ३.३९ प्रतिशतले ले बढेर २,६७२.२५ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मूल्यलाई प्रतिनिधित्व गर्ने सेन्सेटीभ इन्डेक्स १३.६१ अंक अर्थात् २.७७ प्रतिशतले बढेको छ । 

सोमबार नेप्सेमा कारोबार संख्या र कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा २२९ कम्पनीका ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ मूल्यका ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर ५३ हजार ७ सय ९२ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ । नेप्से २७०० अंकको नजिक पुगेसँगै सेयर बजार पुँजीकरण ३७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । 
 


Author

थप समाचार
x