सेयर

तिहार बिदापछि खुलेको सेयर बजारमा १९.२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

इकागज |
कात्तिक २२, २०७८ सोमबार १५:२० बजे

काठमाडौँ– तिहार बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ भने दैनिक कारोबार रकममा पनि उल्लेख्य कमी आएको देखिएको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.२ अंकले घटेर २,८२९.६४ बिन्दूमा आएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि २.७१ अंक अर्थात् ०.५१ प्रतिशतले घटेको छ । 

सोमबार नेप्सेमा वित्त कम्पनी समूह, म्युचुअल फण्ड समूह र इन्भेस्टमेन्ट समूहका परिसूचक बाहेक अन्य सबै समूहगत परिसूचक ओरालो लागेका छन् । विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सूचीकृत भएको अन्य समूह, बैंकिङ्ग समूह र निर्जीवन वीमा कम्पनी समूहको समूहगत परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ्ग समूहको परिसूचक १.०५ प्रतिशतले घट्दा बजार घट्न मद्दत पुगेको देखिन्छ । 


नेप्सेमा कारोबार भएकामध्ये १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य बढेको छ । तिहारपछि बजारमा  सेयर बिक्रीको चाप बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, कालिका पावर, हिमालयन उर्जा विकास कम्पनी, जोशी हाइड्रोपावर लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले धेरै गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सोमबार मात्रै ७.९६ प्रतिशतले घटेको छ भने अन्य कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा कमले घटेको छ ।

आइसीएफसी फाइनान्स र साहस उर्जा लिमिटेडको सेयरमा सर्किट ब्रेकर लागेको छ भने तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सोमबार महालक्ष्मी विकास बैंकको ६ लाख ७८ हजार ६ सय २५ कित्ता सेयर ५२ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ । यो सोमबार नेप्सेको सबैभन्दा ठूलो कारोबार हो । 

सोमबार नेप्सेमा २३० कम्पनीका ४ अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय तीन रुपैयाँ मूल्यका ७२ लाख ७ हजार तीन सय ९६ कित्ता सेयर ४९ हजार पाँच सय ३० पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् । 

मिति

  नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ

 कात्तिक १५, सोमबार

 २८१९.८६ 

 ७ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक १६, मंगलबार

 २८४३.६२

 ६ अर्ब ७ करोड रुपैयाँ

 कात्तिक १७, मंगलबार

 २८४८.८४

 ६ अर्ब ५५ करोड रुपैयाँ

 कात्तिक २२, सोमबार

 २,८२९.६४

 ४ अर्ब ४२ करोड रुपैयाँ 


Author

थप समाचार
x