सेयर

कस्ता (अ)दूरदर्शी लगानीकर्ता !

पुष्पराज आचार्य |
मंसिर २८, २०७८ मंगलबार ८:१४ बजे

सांकेतिक तस्बिर (यसको नेप्सेसँग कुनै सम्बन्ध छैन)

काठमाडौँ– सेयर बजारका ठूला लगानीकर्ता मध्येका हुन्– अम्बिका प्रसाद पौडेल । उनी हाथवे फाइनान्सका अध्यक्ष र नेपाल टेलिकममा सञ्चालक छन् । केही महिनाअघिमात्रै पुँजी बजारमा योगदानका लागि उनले राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री पदक थापे । 

पुँजी बजारका लगानीकर्ता, विश्लेषक यिनी असारसम्म नेप्से यही बुलमा ४,२०० पुग्छ भनेर प्रक्षेपण सामाजिक सञ्जालमा सार्वजनिक गर्दै थिए, अन्तर्वार्ता दिदैं थिए । यिनको उक्साहटमा केही हजार मानिसको पैसा केही सय मानिसको गोजीमा सरेको छ । किनकी भदौको २ गते ३,१९८.६० बिन्दूमा रहेको सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक मंसीर २८ गते सोमबार २,२८१.६७ बिन्दूमा झरेको छ । 


केही दिनयता सेयर बजार तीव्र ओरालो लागिरहेको छ । सोमबार ७९.५७ (३.३७%) ले घट्यो । आइतबार ८८.७३ (३.६२%) ले नेप्से घटेको थियो । 
अघिल्लो साता (मंसीर १९देखि मंसीर २३) मा सोमबार बाहेक साताभरी सेयर बजार ओरालो लाग्दा १६७ अंकको गिरावट एकै सातामा आएको थियो । यो साता पछिल्लो दुई दिनमै झण्डै अघिल्लो साताभरको पहिरो आइसकेको छ । एकैपटक ठूलो पहिरो आएकाले थामिन गाह्रो भैरहेको छ । 

अहिले यो पहिरो ल्याउने नायक वा खलनायक जे भने पनि माओवादी अध्यक्ष प्रचण्ड बनेका छन् । केही लालबुझक्कडहरूका अनुसार प्रचण्डले सेयर बजारमा सामन्तवादको अवशेष देखेकाले पहिरो गएको रे ! एउटा–एउटा यस्ता चरित्र निस्किरहन्छन् । २०६५ सालमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई निस्किए – ‘सेयर बजार भनेको जुवा घर हो’ । फेरि २०७३ सालमा तिनताका अर्थमन्त्री डा. युवराज खतिवडाले भनिदिए, ‘सेयरको भाउ पनि कहाँ बढेको बढ्यै हुन्छ त ! तरकारीको भाउजस्तो हो, बजारमा माग र आपूर्तिको नियम लागू हुन्छ । आपूर्ति बढ्यो, मूल्य घट्यो ।’ अझै खतिवडाले त लगानीका लागि पुँजी उठाउने भनेको प्राथमिक बजारमात्र हो, दोस्रो बजार होइन । अर्थमन्त्रीका रूपमा प्राथमिक सेयर निष्काशन (आइपीओ) नबिक्दा मात्र चिन्ता लाग्छ, दोस्रो बजार तलमाथि हुँदा मलाई चिन्ता छैन पनि भन्न भ्याए ।  

मिति

नेप्से परिसूचक

अंक फरक + वा - मा

कारोबार रकम

मंसिर १९ आइतबार

२५१३

-७२

 ४ अर्व ९० करोड रुपैयाँ

मंसिर २० सोमबार

२५४६

+३२

४ अर्ब ५४ करोड रुपैयाँ

मंसिर २१ मंगलबार

२५०८

-३७ 

३ अर्ब १२ करोड रुपैयाँ

मंसिर २२ बुधबार

२४५५

-५३

 २ अर्ब ६६ करोड रुपैयाँ

मंसिर २३ बिहिबार

२४४९

-६

 २ अर्ब ६७ करोड रुपैयाँ

 मंसिर २६ आइतबार

 २३६१.२४

 -८८.७३ 

 ३ अर्ब ३८ करोड रुपैयाँ

 मंसिर २७ सोमबार

 २२८१.६७

 - ७९.५७

 ३ अर्ब ९९ करोड रुपैयाँ

 

भलै अहिलेको अर्थमन्त्रीले त्यो अपजसको भारी उठाउनु परेन । माओवादीकै भाषामा त्यो सबै भार अहिले हेडक्वार्टरले थामेको छ । किनकी सेयर लगानीकर्ताहरू अहिले प्रचण्डलाई उनका मित्र एमाले अध्यक्ष केपी शर्मा ओलीकै भाषामा ‘प्रचण्ड एक राष्ट्रिय समस्या हुन्’ भनिरहेका छन् । 

सेयर बजारमा लगानी गर्ने जो सुकैले एउटा सत्यलाई आत्मसात गरेकै हुन्छन्– यो सबैभन्दा जोखिमयुक्त लगानी हो । किनकी बजार बढेको बढ्यै हुँदैन । 
यसपटक बुलमा सेयर बजार जसरी बढेको थियो, त्यसरी नै घटिरहेको छ । बजार उच्चतम बिन्दूमा हुँदा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादन (मुलुकको अर्थतन्त्र) भन्दा ठूलो आकारको झण्डै ४४ खर्ब रुपैयाँ पुगेको थियो । अहिले १२ खर्ब जति घटेर ३२ खर्ब रुपैयाँमा झरेको छ । 

मूलतः अहिलेको समस्या बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा नाफा कमाउन पसेका लगानीकर्ताका कारण आएको हो । ऋण लिएर लगानी गर्नेबित्तिकै लगानीकर्ता दबाबमा रहीरहन्छ । आफ्नो बचत वा भौतिक सम्पत्ति बिक्रीबाट लगानी गरेको छ भने ऊ बजार ‘रिभाइभ’ हुने समयसम्म पर्खनसक्छ । बैंकको ऋण लिएर लगानी गरेपछि ऋणको साँवाब्याज तिर्नुपर्ने कारणले लगानीकर्तामा एक खालको दबाब रहिरहन्छ । एक त यतिबेला बैंकहरूमा ऋण दिने पैसा छैन । अर्कोतर्फ सेयर धितोमा गएको कर्जालाई प्रतिऋणी ४ करोड रुपैयाँमा झार्नुपर्ने दबाबमा उनीहरू छन् । सेयर धितोमा लिएको कर्जा नवीकरण नहुने अर्कोतर्फ ऋणीले पनि सेयर धितो कर्जाको कुल पोर्टफोलियो आउँदो असारसम्म १२ करोड रुपैयाँमा झार्नुपर्ने भएपछि त्यसले थप दबाब सिर्जना गर्ने नै भयो ।

सेयर धितोमा ऋण

 २०७६-७७ (अर्ब रुपैयाँमा)

 २०७७-७८ (अर्ब रुपैयाँमा)

  (वृद्धि %)

१ करोड माथि

 ३१ अर्ब ३५ करोड

 ७३ अर्ब ५४ करोड

१३३.२

५० लाख देखि १ करोडसम्म

 ६ अर्ब ५० करोड

 १२ अर्ब २ करोड

 ८४.८

२५ देखि ५० लाख सम्म

७ अर्ब ३९ करोड

 १३ अर्ब ३५ करोड

 ८०.७

२५ लाख सम्म

 ४ अर्ब ९८ करोड

 ७ अर्ब ३८ करोड

 ४८.१

कुल

 ५० अर्ब ४१ करोड

 १०६ अर्ब २८ करोड

 ११०.८

स्रोत : नेपाल राष्ट्र बैंक

सुप्रबल जनसेवाश्री सम्मान प्राप्त गरेका हाम्रा लगानीकर्ता जति दूरदर्शी छन्, हाम्रा नियामक निकायहरू त्यस्तै छन् । नीतिगत परिवर्तन, हस्तक्षेप पनि यति छिटो–छिटो गर्छन् कि बजारमा ठूलो उतारचढाव ल्याइदिन्छ ।

बजारमा स्थिरता र स्थायित्वका पक्षमा न नियामक छन् । न त लगानीकर्ता नै पनि दीर्घकालीन लगानी गरेर पुँजी बजारबाट निर्माण गरेको पैसा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लगानीकर्ता नै । त्यसकारण बजारमा परिपक्वता नै आउन सकेन । सेयर बजारमा आज पैसा हाल्यो, अलिकति मार्जिन निकाल्यो, बेच्यो । अनि फेरि सेयर बजारमै पस्यो । यस्ता लगानीकर्ता हाम्रो सेयर बजार विकासका बाधक हुन् । 

बढीरहेको बजारमा साना, मध्यम लगानीकर्तालाई हौस्याएर पसाउने अनि फसाउने लगानीकर्तालाई त झन् के भन्ने । बुल ४,२०० बिन्दूसम्म पुग्छ भन्ने प्रक्षेपण त पढ्न पाइन्थ्यो, अब कतिमा झरेर थामिन्छ त्यो पनि प्रक्षेपण आउँदा राम्रो हुन्थ्यो कि !
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x