सेयर

मंगलबारको ‘डेड क्याट बाउन्स’पछि बुधबार फेरि घट्यो नेप्से

इकागज |
मंसिर २९, २०७८ बुधबार १५:२३ बजे

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुँजीबजारबाट पुँजी निर्माण गरेर अन्यत्र लगानी गर्नुपर्छ भन्ने विषयलाई लिएर हतोत्साही भएको भनिएको सेयर बजारमा आइतरबार र सोमबार पहिरो गयो । प्रचण्डको भाषाशैली ठीक थिएन, तर उनले भनेको विषयवस्तु ठीक थियो । पुँजी बजारमा दीर्घकालीन लगानीकर्ता नहुँदा बजारले स्थायित्व पाएन भन्ने उनको विचार थियो, जसलाई अन्यथा मान्नुपर्ने कारण छैन । आफैं पुँजीवादी भासमा भासिएका प्रचण्डले नबुझी बोलेका होइनन् । 

बहानाको खोजीमा रहेकालाई एउटा गतिलो बहाना थियो, त्यसले आइतबार र सोमबार क्रमशः ८८.७३ अंक र ७९.५७ अंकले घटेको थियो । त्यसअघि गतसाताभरमा १६७ अंकले बजार घट्यो । बजार तीव्र घटेपछि पुँजीबजार सुधारका कुरा हुन्छन् । पुँजी बजार सुधार भन्ने बजार घट्दा मात्र गर्ने कुरा होइन, खासगरी बजारमा समावेशीता, स्थायित्व, बजारका विकृतिहरू (इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ) लगायत निरन्तर गरिरहनुपर्ने सुधार हुन् । 


लगानीकर्तामाझ फैलाइने अफवाह अनेकन हुन्छन्, जसले बजारमा तीव्र उतारचढाव ल्याउँछ । आइतबार र सोमबार बजारमा पहिरो गएपछि प्रचण्डले आफ्नो वक्तव्यलाई अझै स्पष्ट पार्दै विज्ञप्ति जारी गरे । अर्थमन्त्रीले बजारमा सुधारका लागि प्रतिवद्ध छु भनेका छन् । 

फलस्वरूप मंगलबार बजारमा ‘डेड क्याट बाउन्स’ भयो । लगानीकर्ताको मनोबल बढेको होइन, एकदम अल्पकालीन पुनर्बहाली देखिएको अवस्था थियो । मंगलबार बजार १३७ अंकले बढेर २,४१८.८४ बिन्दूमा पुग्यो । 

बुधबार फेरि बजारमा बिक्रीको चाप देखियो । बुधबार नेप्से सामान्य ४.२३ अंकले घटेको छ । बैकिङ, होटल र पर्यटन, नेपाल टेलिकम र निफ्रा समेत सूचीकृत रहेको अन्य समूह, लघुवित्त र जीवन बीमा समूहका परिसूचक ओरालो लागेका छन् । 

बुधबार जलविद्युत् समूहका कम्पनीको सेयर मूल्य बढेको छ । सामलिङ्ग पावर, दिव्येश्वरी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, बुटवल पावर, नेपाल हाइड्रोपावर जस्ता कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरै बढ्यो । 

त्यस्तै वित्त कम्पनीतर्फ आइसीएफसी फाइनान्स, बेस्ट फाइनान्स, मल्टिपर्पोस फाइनान्स जस्ता कम्पनीको सेयर मूल्य बढेको छ । 

कारोबार रकमका हिसाबले सबैभन्दा ठूलो परिमाणमा महालक्ष्मी विकास बैंकको २ लाख ९० हजार दुई सय २१ कित्ता सेयर १६ करोड ५८ लाख ६२ हजार रुपैयााँको सेयर कारोबार भएको छ । 

आज नेप्सेमा २२८ कम्पनीको ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ मूल्यका ९८ लाख ७९ हजार एक सय ९ कित्ता सेयर ७१ हजार दुई सय २९ ओटा कारोबारबाट खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x