सेयर

तीन दिनमा १५५ अंकले बढ्यो नेप्से

इकागज |
पुस २०, २०७८ मगलवार १५:२३ बजे

काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ६३.०१ अंकले बढेर २,६७९.९५ बिन्दूमा पुगेको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक २.४१ प्रतिशतले र ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.२५ प्रतिशतले बढेको हो । 

आइतबारदेखि लगातार बढीरहेको नेप्से पछिल्लो तीन दिनमा १५५.४५ अंकले बढेको छ भने झण्डै १३ अर्ब रुपैयाँको कारोबार भएको छ । 


मंगलबार नेप्सेमा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । नेप्सेमा आज कारोबार भएकामध्ये १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य केही घटेको छ । 

मंगलबार विकास बैंक, वित्त कम्पनी र वाणिज्य बैंक समूहका लगानीकर्ताको सेयरको मूल्य बढेको छ । त्यस्तै, इन्भेष्टमेन्ट, जलविद्युत् समूहको समूहगत परिसूचक पनि ३ प्रतिशतभन्दा उकालो लागेको छ । बैंकिङ्ग समूहमा भएको बढोत्तरीले नेप्से परिसूचकलाई उकासेको छ । 

नबिल बैंकसँग मर्जरमा जाने भनिएको नेपाल बंगलादेश बैंकको सेयरको ठूलो कारोबार भयो । नेपाल बंगलादेश बैंकको तीन लाख ६७ हजार दुई सय ५८ कित्ता सेयर एक हजार एक सय ४२ पटकको कारोबारबाट १४ करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ । नबिल बैंकको सेयर आज सबैभन्दा बढी दुई हजार १६ पटक कारोबार भयो । नबिल बैंकको १३ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । 

आज नेप्सेमा २३४ कम्पनीका ४ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर ५५ हजार तीन सय ७८ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् ।
 


Author

थप समाचार
x