सेयर

सेयर बजार पुनः लयमा फर्कियो

इकागज |
पुस २५, २०७८ आइतबार १७:५० बजे

काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) आइतबार ७३.०५ अंकले बढेर २,७६५.५१ बिन्दूमा पुगेको छ । आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २.७१ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.६१ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आज नेप्सेमा ७  अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३९ खर्ब रुपैयाँ पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १८३ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ६ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा बोटलर्स नेपाल (तराई) लिमिटेड, चन्द्रागिरी हिल्स, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, मिथिला लघुवित्त, नबिल बैंकको सेयरमा बिक्रीको चापका कारण मूल्य सामान्य घटेको छ । 


आइतबार व्यापार समूहको परिसूचक ६.०८ प्रतिशतले वृद्धि भयो भने विकास बैंक र वित्त कम्पनी समूहको परिसूचक पनि क्रमशः ५.४९ प्रतिशत र ५.१६ प्रतिशतले बढेको छ । आज सबै समूहको परिसूचक उकालो लागेको छ । 

आइतबार नेपाल हाइड्रो डेभलपर्स र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । अपि पावर लिमिटेडको आज सबैभन्दा ठूलो कारोबार भएको छ । अपिको दुई हजार ८ सय ३६ पटकको कारोबारबाट ५ लाख ७० हजार चार सय ४९ कित्ता सेयर २९ करोड रुपैयाँमा किनबेच भएको छ । त्यस्तै प्रभु बैंकको ६ लाख ३२ हजार ८० कित्ता सेयर २० करोड ८६ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । 

आइतबार नेप्सेमा २३९ कम्पनीको ७ अर्ब १० करोड १८ लाख रुपैयाँ मूल्यमा १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर ८२ हजार एक सय १३ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x