सेयर

चार दिनमा तोडियो सेयर बजारमा रेकर्ड

नेप्से २२०० बिन्दू नजिक, अधिकांश लघुवित्तका लगानीकर्ता मालामाल

इकागज |
पुस २२, २०७७ बुधबार १५:३३ बजे

काठमाडौं : ऐतिहासिक कीर्तिमानी उचाइ कायम गर्दै लगातार घटिरहेको सेयर बजारमा चार दिनपछि फेरी रेकर्ड तोडिएको छ । सेयर बजार सूचकांक नेप्से परिसूचक १३ दशमलव ०७ अंकले बढेर २१७८ दशमलव ५७ बिन्दूमा पुगेको हो ।

पछिल्लो समय नेप्से बुलिश ट्रेन्डमा अघि बढिरहेको छ । पुस महिनामा खासै कारोबार नहुने भएपनि यो वर्ष पुस महिना सेयर कारोबारीका लागि फलिफाप बन्यो । मंसिरयता २००० नाँघेको सेयर बजारमा बढ्ने क्रम रोकिएको छैन । परिणामस्वरुप बुधबार नेप्से परिसूचक अहिलेसम्मकै उचाइमा पुगेको छ ।


कतिपय सेयर लगानीकर्ताहरूले बजारलाई उतारको साढे चार वर्षपुरा गरेर चढावको नयाँ चक्रमा प्रवेश गरेको मानेका छन् । सेयर बजारको उतारचढावको चक्र करिब ५२ महिनाको हुने गरेकाले यो समयमा सेयर बजार बढ्नु स्वाभाविक भएको उनीहरूको तर्क छ ।

बुलिश ट्रेन्डमा अघि बढिरहेको सेयर कारोबारमा भने अपेक्षाकृत वृद्धि देखिएको छैन । बुधबार चार अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ । ९ अर्बसम्म पुगेको कारोबारमा चार अर्ब रुपैयाँको कारोबार हुनुलाई कारोबारमा आएको संकुचनको रुपमा हेरिएको छ ।  

केही बजार विश्लेषकहरू बजारलाई सहजिकरण गर्ने नीतिगत सुधारको सरकारी प्रयासलाई यसको श्रेय दिन्छन् । लगानीकर्ताले सेयर किनबेच गरेबापत बुझाउनुपर्ने शुल्क (ब्रोकर कमिशन) घटाएपछि नेप्सेलाई उचाइमा पुर्‍याउन बल पुगेको हो । त्यसबाहेक मुद्दतीमा पाइने ब्याजदर घट्ने र कोभिड-१९ का कारण लगानीका अरु क्षेत्रमा उपलब्धी नदेखेका लगानीकर्ताले सेयर बजारमा पैसा लगाएको अनुमान गरिएको छ । यसको संकेत बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको तरलताले देखाएको छ ।

कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये दुईवटा समूहका परिसूचक घटेका छन् । ट्रेडिङ र जलविद्युत समूहका परिसूचकमा गिरावट आएको छ । ट्रेडिङ समूहको परिसूचक करिब २१ अंकले घटेको छ भने जलविद्युत समूहमा १२ अंकले गिरावट आएको छ ।

कारोबारमा आएका मध्ये माइक्रोफाइनान्स, निर्जिवन बीमा र विकास बैंक समहूमा सबैभन्दा बढी अंक वृद्धि भएको देखिन्छ ।  माइक्रोफाइनान्स समूहमा १.६८ प्रतिशतले वृद्धि भएको छ । निर्जिवन बीमामा ११२.६६ अंकको वृद्धि भएको छ भने विकास बैंक समूहमा करिब २३ अंको वृद्धि छ ।

लघुवित्तका लगानीकर्ता मालामाल

बुधबारको कारोबारमा उच्च वृद्धिदर हासिल गर्ने अधिकांश लघुवित्त वित्तिय संस्था छन् । सबैभन्दा ठुलो वृद्धि कालिका लघुवित्तको सेयरमा भएको छ । १० प्रतिशतले बढेको कालिका लघुवित्तको सेयर ९६८ रुपैयाँ प्रति कित्तामा कारोबार भयो । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर १९८ अंकले बढेर दुई हजार १ सय ७९ रुपैयाँमा कारोबार भयो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर १३३ अंकले बढेर १ हजार ४ सय ६८ रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको सेयर पनि ७५ अंकले बढेको छ ।

नेरुदे लघुवित्तको सेयर ७३ अंकले बढेको छ । नारायणी विकास बैंकको सेयर पनि ५२ अंकले बढ्यो । भर्खरै सूचिकृत भइ कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्सको सेयर पनि ९.४९ प्रतिशतले बढ्यो ।  


Author

थप समाचार
x