समाज

पर्सामा विजयी जुलुसमा सहभागीमाथि आक्रमण हुँदा ६ जना घाइते

इकागज |
जेठ ६, २०७९ शुक्रबार १५:४१ बजे

वीरगञ्ज - पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा विजय जुलुसमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् । वडा नं. २७ मा नेपाली काँग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागीहरू मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वडा नं. २७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हृदयनारायण प्रसाद कुर्मी विजयी भएपछि बिहीबार राति नेपाली काँग्रेसले विजय जुलुस निकालेको बेला वडाअध्यक्षमा पराजित एमालेका प्रदीप यादव लगायत उनका समर्थकहरूले आक्रमण गर्दा विजय जुलुसमा सहभागी ६ जना घाइते भएको घाइतेहरूले आरोप लगाएका छन् ।  


घाइतेमध्ये ४ जना उपचारपछि घर फर्किएको र महम्मद मियाँ र आयसा खातुनको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा पराजित यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

वडाअध्यक्षमा पराजित निवर्तमान वडाअध्यक्ष यादवको प्रत्यक्ष संलग्नता रहेको भनी आरोप लगाएपछि सोधपुछका लागि उनीसहित ३ जनालाई प्रहरी कार्यालयमा ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

आक्रमणमा परी स्थानीय ३० वर्षीया मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, ५८ वर्षीय नेमा रेशा, ४२ वर्षीय मोहमद मियाँ १८ वर्षीय मोहमद नुराइन,  १९ वर्षीय जाहिर हवारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको तर सबै जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

यसअघि विहीबार मात्रै मतपरिणाम सार्वजनिक हुँदा वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ को वडा अध्यक्षमा १५१६ मतका साथ कांग्रेसका कुर्मी विजयी भएका थिए । एमाले उम्मेदवार यादवले भने १११६ मत प्राप्त गरी पराजय भएका हुन् ।


 


Author

थप समाचार
x