समाज

प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्म ? भन्दै माइतीघर मण्डलामा प्रदर्शन

अनुज बज्राचार्य |
जेठ १०, २०७९ मंगलबार १६:२१ बजे

काठमाडौं– ‘नवराज हत्याकाण्ड’मा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी निकट ‘जात व्यवस्था उन्मूलन मोर्चा’  समूहको आयोजनामा घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन भएको हो । 

‘रुकुम हत्याकाण्ड हामीले बिर्सेका छैनौँ, प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्म ?, न्याय खोइ भेरीले बगायो, मलाई विभेद स्वीकार्य छैन, जातीय विभेद अन्त्य गर’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले विभिन्न जात व्यवस्थाविरोधी नारासहित प्रदर्शन गरे । विरोध सभामा सहभागी प्रदर्शनकारीहरूले जेठ १० लाई ‘जात व्यवस्थाविरुद्धको विद्रोह दिवस’ का रुपमा मनाउने निर्णयसमेत गरेका छन् । 


यस्तै, ‘नवराज हत्याकाण्ड’मा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै ‘प्रतिरोध’ नामक समूहले पनि ‘भेरी प्रतिरोध मार्च’ गरेको छ । खगेन्द्र संग्रौला, संगीत श्रोता, मनोज खतिवडा, अनिता पण्डितलगायतका विभिन्न लेखक तथा अभियन्ताहरु रुकुममा पुगेर मार्च गरेका हुन् । उनीहरुले न्यायको माग गर्दै खलंगामा धर्ना दिने कार्यक्रम समेत छ ।

हत्याकाण्डमा संलग्न दोषीलाई सजायको माग गर्दै पोखरा, चितवनसहित अन्य जिल्लामा पनि प्रदर्शन भएको छ । 

२०७७ साल जेठ १० गते कथित उपल्लो जातकी आफ्नी प्रेमिकालाई भगाउन नवराज विक आफ्ना साथीहरूसित रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । प्रेमिका लैजान आएका नवराज विक र उनका साथीहरुलाई गाउँलेहरुले लखेट्दै कुटपिट गरेका थिए । गाउँलेहरूको कुटाइबाट विकसहित ६ जनाको हत्या भएको थियो । 

हत्याकाण्डमा संलग्न आरोपमा सोतीका ३४ जनामाथि जिल्ला अदालतमा मुद्धा चलाइएको छ । तीमध्ये २३ जनालाई थुनामा राखिएको छ । जिल्ला अदालतले गरेको पुर्पक्ष थुनासम्बन्धी निर्णयलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत जाँचेर सुरुमा पक्राउ परेकामध्ये ११ जनालाई तारिखमा छाडेको छ ।

मुद्धा अदालतमा पुगेको दुई वर्ष भइसक्दा पनि टुंगिएको छैन । ​


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x