समाज

पहुँचका भरमा जहाजको टिकट, सर्वसाधारणलाई सास्ती

इकागज |
जेठ १२, २०७९ बिहीबार ७:९ बजे

जाजरकोट - पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान १० हजार रुपैयाँ र हुम्लाबाट सुर्खेत आउन सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।


नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् । 

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । 'तारा एयरले दिनको एक फ्लाइट मात्र गर्छ, हामीले टिकट पाउँदैनौँ', उनले दुखेसो पोखे ।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन् । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ ।

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि उडान अझ महँगो रहेको छ । त्यस्तै अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपिनसक्नु रहेको छ । नेपालगञ्जबाट डोल्पा जाँदा नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्ने बाध्यता छ । डोल्पा जानका लागि अहिले स्थलमार्गको प्रयोग बढिरहेको छ । रासस


Author

थप समाचार
x