समाज

जुम्ला आयुर्वेद : खातामा पैसा, कार्यालय औषधिविहिन

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:४७ बजे

जुम्ला- आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालीन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो । 

पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले उनलाई हाजिरी हुन नदिएपछि फेरि १ चैतसम्म जुम्लामै हाजिर गरे । जुम्लामा हाजिर गरे पनि रमना लिइसकेकाले तलब नपाएपछि उनी सुर्खेत गएका थिए । 


करारका कर्मचारीले पाएनन् पाँच महिनादेखि तलब

कार्यालय प्रमुख नहुँदा दैनिक आर्थिक कारोेबार मात्रै बन्द भएको छैन कार्यालयका लागि आवश्यक औषधि, प्रयोगशालाका सामान, ल्याबमा आवश्यक सामाग्रीको भुक्तानी समेत हुन सकेको छैन । 

केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार प्रमुख नहँुदा करारका कर्मचारीले पाँच महिनादेखि तलब समेत पाएका छैनन् । उनले भने ‘केन्द्रमा १५ जना कर्मचारी छन् । जसमध्ये १३ जना करार कर्मचारी छन् ।’

उनी अहिले कार्यालय प्रमुख पठाइदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेत धाइरहेको बताए । तर कार्यालय प्रमुख पठाउने बारे सुनुवाइ नभएका उनको भनाइ छ । उनले भने, ‘सामाजिक विकास मन्त्रालयसहितका सरोकारवाला निकायमा कार्यालय प्रमुख व्यवस्था गरिदिन सात पटक पत्र समेत पठाए । पत्रमार्फत सुनुवाइ नभएपछि आफै प्रदेश राजधानी पुगेँ । प्रमुख नपठाउँदा आयुर्वेदका सबै काम प्रभावित छन् । सेवाग्राहीलाई  औषधि तथा आवश्यक सामग्री दिन सकेको छैन ।’

पुँजीगत वित्तीय प्रगति शून्य

केन्द्रमा आवश्यक फर्निचर खरिद, ल्याबका सामग्री खरिद, औषधि खरिदको भुक्तानी समेत हुन नसक्दा पँुजीगत वित्तीय प्रगति शून्य भएको छ । कार्यालय मर्मतका लागि २० लाख र डिपीआरका लागि पाँच लाख आएकोमा त्यो काम पनि हुन नसकेको रावतले बाताए ।  

वैद्य रावतका अनुसार मन्त्रालयले केही सयमअघि एउटा पत्र दिएको थियो । उक्त पत्रअनुसार तलबभत्ता, पोषाक, घरभाडा, बत्ती, बिजुली महशुल शीर्षकमा खर्च गर्न सकिनेछ । तर करारका कर्मचारीलाई भने तलब दिन नपाउने व्यहोरा उल्लेख छ । 

खाली हात फर्किन्छन्, सेवाग्राही  

यस केन्द्रमा दैनिक १५ देखि ३० जना सेवाग्राही आउँथे । तर, औषधि अभावका कारण रित्तो हात फर्किनु परेपछि सेवाग्राही घटेका छन् । खातामा पैसा छ तर औषधि खरिद गर्ने प्रक्रिया बढाउन नसक्दा सेवाग्राहीले सेवा पाइरहेका छैनन् । औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही आउनै छाडेका छन् । 

गत आर्थिक वर्ष पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो । कार्यालय प्रमुख नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा पर्ने अवस्थामा पुगेको स्थानीयवासीको चिन्ता छ । स्थानीय राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना भएको संस्था कर्मचारीकै कारण जीर्ण बन्ने अवस्थामा पुग्नु दुखद् भएको बताए । 

सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार चाडैनै समस्या सामाधान हुने आशा गरेको बताए । मन्त्रालयका सचिवलाई समस्याबारे जानकारी गराएको उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार आयुर्वेद अस्पताल पहिलादेखिनै अस्तव्यवस्त रहेकोले व्यवस्थित गर्न प्रदेश सरकारलाई जाकारी गरेको बताइन । उनले भनिन्, ‘अरु काम पूरा हुने सम्भावना त न्यून छ तर करारका कर्मचारीको तलबको बिषयमा कुरा भएको छ ।’
 

 


Author

थप समाचार
x