समाज

शिक्षा सरोकार

संविधान मिच्‍ने शिक्षा मन्त्रालयको विज्ञप्ति, आलोचनापछि प्रतिक्रियाविहीन

काठमाडौँको आकाश हेरेर हचुवाको निर्णय किन ?

विष्णु विश्‍वकर्मा |
चैत १७, २०७७ मंगलबार १९:५४ बजे

काठमाडौँ: शुक्रबार यता वायु प्रदूषणले काठमाडौँ उपत्यका ढाकेको छ । प्रदूषणले आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याएकाे छ । यो समस्या उपत्यका बाहिर पनि छ । सुरुमा काभ्रे, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्ला हुँदै काठमाडौँ उपत्यकालाई पनि प्रदूषणले ढाकेको हो । 

देशको राजधानीलाई प्रदूषणले ढाकेपछि धेरै क्षेत्रमा असर पर्‍यो ।  दुई दिन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण समेत प्रभावित बने । केही समय विमानस्थल बन्द पनि भयो । त्यसबाहेक वायु प्रदूषणले सर्वसाधारणको दैनिकी प्रभावित पार्‍यो ।


मौसमविदले सोमबारदेखि प्रदूषण घट्दै मौसम सफा हुने सुरुवाती पूर्वानुमान गरेका थिए । तर प्रदूषण घटेन । मौसम सफा पनि भएन । देशभित्रै र भारतबाट आउने मौसमी प्रणाली सक्रिय नहुँदा प्रदूषण घट्न नसकेको मौसमविदहरूको भनाइ छ ।

वायु प्रदूषणबाट प्रभावित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एउटा फरक निर्णय सुनायो - 'चार दिन विद्यालय बन्द गर्नु ।' मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

यो मन्त्रालयको निर्णयभन्दा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेश देखिन्छ । अनि मन्त्रीको ठाडो आदेश शिरोधार्य गर्ने कर्मचारीको हतारको वक्तव्यबाजी । जसले संविधान नै मिचेको देखिन्छ । स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भएको छ ।

स्थानीय तहको अधिकार सूचीअन्तर्गत ८ नम्बर बुँदामा आधारभूत र माध्यामिक शिक्षा छन् । जो संविधानको धारा ५७ को उपधारा ४ सँग सम्बन्धित छ । यस्तै धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ पनि स्थानीय तहका अधिकारसँग सम्बन्धित छन् । 

संविधानले विद्यालय सञ्‍चालन र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहलाई भएको अधिकार शिक्षा मन्त्रालयले आफ्नो निकायलाई निर्देशन दिएजस्तो गरी प्रयोग गर्न सक्दैन् । जुन अधिकार दुरुपयोगको प्रयास भयो । जसको अवज्ञा मात्रै होइन, आलोचना पनि भइरहेकै छ ।

विद्यालय बन्दै गर्नुपर्ने प्रदूषण हो त ?

मंगलबारदेखि आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णयबाट मौसमविद पनि आश्चर्यमा परेका छन् । मौसम र प्रदूषणबारे एकपटक पनि परामर्श नगरी विज्ञप्ती निकालेर चार दिन विद्यालय बन्द गर्नु अनौठो भएको मौसमविदको टिप्पणी छ । 

‘हाम्रो अनुमान सोमबारदेखि नै प्रदूषण घट्छ, मौसम खुल्छ भन्‍ने थियो’ मौसम पूवार्नुमान महाशाखाका एक मौसमविदले इकागजसँग भने, ‘तर कुनै पनि मौसमी प्रणाली सक्रिय नहुँदा काठमाडौँको धुवाँ धुलो हटेन । उपत्यका बाहिर मौसम खुल्दै गएको छ । तर चार दिन विद्यालय बन्द गर्नु अचम्म भयो ।’ विद्यालय बन्द नै गर्नुपर्ने प्रदूषण उपत्यका बाहिरका सबै जिल्लामा नभएको ती मौसमविदको भनाइ छ ।

महाशाखाकी मौसमविद गंगा नगरकोटीले पनि देशभरकै विद्यालय बन्द गर्नुपर्ने वायु प्रदूषण नरहेको बताइन् । काठमाडौँ उपत्यकामा पनि मौसम धुम्मिएको देखिएपनि उपत्यका बाहिर प्रदूषणको मात्रा धेरै कम भएको र खासै असर गर्ने खालको नभएको उनको भनाइ छ ।

‘काठमाडौँ उपत्यकामा हेर्दा धेरै असर गर्छ कि भन्‍ने देखिन्छ, तर उपत्यका बाहिर यस्तो अवस्था छैन’ उनले इकागजसँग भनिन्, ‘यस्तो बेला स्थानीय तहले आफ्नो ठाउँको मौसम हेरेर सूचना निकाल्नुपर्ने थियो । तर सरकारले देशभरकै विद्यालय बन्द गर्ने सूचना निकाल्यो । सबै ठाउँमा विद्यालय बन्द गर्नुपर्ने प्रदूषण छैन ।’

उनका अनुसार काठमाडौँ उपत्यकामा देखिएको प्रदूषण नौलो होइन, मौसमी प्रणाली सक्रिय नहुँदा धुम्मिएको मात्रै हो । गाडीबाट निस्केको प्रदूषणले गर्दा यो अवस्था सुधार हुनेभन्दा झन बढ्ने देखिन्छ । तर डढेलोका कारण मौसम धुम्मिएको हो । हावा लाग्‍ने वा पानी पार्ने मौसमी प्रणाली सक्रिय हुने बित्तिकै आकाश खुल्छ । प्रदूषण कम हुँदै जान्छ ।

‘काठमाडौँमा प्रदूषण घट्नुको साटो बढ्दै जान्छ । अहिले डढेलोले थप मौसम धुम्मिएको मात्रै हो’ उनले थप अगाडि भनिन्, ‘यसलाई लिएर विद्यालय बन्द गर्नेभन्दा प्रदूषण घटाउने उपाय सोच्‍नुपर्छ ।’ 

वायु प्रदूषण राष्ट्रिय संकट हो कि होइन ? - श्रेष्ठ 

वायु प्रदूषणबारे शिक्षा मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि हामीले यसबारेमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठसँग जिज्ञासा राख्यौँ । स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय नगरी विद्यालय बन्द गर्ने निर्णयप्रति तपाईको प्रतिक्रिया के छ ? इकागजको प्रश्न थियो ।

जवाफमा उनले उल्टै प्रश्‍न गर्दै सोधे, ‘यो वायु प्रदूषण राष्ट्रिय संकट हो कि होइन ? मैले अहिलेसम्म बुझेको छैन् ।’ जुगल गाउँपालिकाका अध्यक्षसमेत रहेका श्रेष्ठले सिन्धुपाल्चोकमा आफू घरबाहिर हिड्दा आँखा पोल्ने समस्या कायमै रहेको बताए । सिन्धुपाल्चोकको हकमा विद्यालय बन्द गर्नु आवश्यक निर्णय भएको भन्दै उनले सरकारको निर्णयको बचाउ गरे ।

‘मौसमविदसँग हाम्रो कुराकानी भएको छैन् । यो राष्ट्रिय संकट हो भनेर मौसमविदले भनेका हो भने त भैहाल्यो । नभए हाम्रो आँखा त पोलेकै छ । स्कुले बालबालिकालाई पनि असर गरेकै होला’ उनले भने, ‘यस्तो बेला विद्यालय बन्द गर्नु ठूलो कुरा होइन ।’

शिक्षा मन्त्रालयको विज्ञप्तीले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको विषयबारे उनले धेरै बोल्न चाहेनन् । एमाले निकट महासंघका अध्यक्ष श्रेष्ठले शिक्षा मन्त्रालय, मौसमविद र स्वास्थ्यकर्मीसँग छलफल गरेर यसबारे थप धारणा राख्न सकिने बताए । 

हचुवाको निर्णय, बालमनोविज्ञानमाथि खेलाँची - शिक्षाविद् दाहाल 

शिक्षाविद् मीनाक्षी दाहालले प्रदूषणको विषयलाई लिएर परामर्श बिना विद्यालय बन्द गर्नु शिक्षा मन्त्रालयको हचुवाको निर्णय भएको बताइन् । बाल मनोविज्ञानबारे अलिकति पनि हेक्का नराखी काठमाडौँको आकाश हेरेर निर्णय गर्नु हचुवाको निर्णय भएको उनको भनाइ छ ।

‘कोभिड–१९ का कारण बालमनोविज्ञानमा परेको असर अझै उस्तै छ । त्यसमाथि हतार हतार कोर्स सकाउनुपर्ने चिन्ता होला’ बालमनोविज्ञ समेत रहेकी शिक्षाविद् दाहाल भन्छिन्, ‘काठमाडौँको आकाश हेरेर चार चार दिन विद्यालय बन्द गर्नु शिक्षा मन्त्रालयको हचुवा निर्णय हो । अलिकति पनि छलफल र परामर्श नगरी विज्ञप्ती निकालेर पन्छिनु गैरजिम्मेवारपन हो ।’

विद्यार्थीको सिकाई र भविष्यसँग जोडिएको विषयमा निर्णय गर्नुपूर्व सरोकारवाला व्यक्तिसँग परामर्श गर्नुपर्ने दाहालको भनाइ। नीतिगत रुपमा पनि सही नभएको र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने मन्त्रालयको निर्णय खेलाँची भएको उनले बताइन् ।

‘हठात एउटा विज्ञप्ती निकालेर विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय नीतिगत रुपमा पनि सही छैन्’ उनले थप अगाडि भनिन्, ‘कोभिड–१९ महामारीबाट पनि पाठ सिक्न सकिन्छ । कम्तीमा यस्तो बेला निर्णय गर्दा विषयविज्ञ, सरोकारवालासँग अनिवार्य छलफल गर्नुपर्छ । होइन भने विद्यार्थीको भविष्यसँग जोडिएको शिक्षा मन्त्रालय सधै गैरजिम्मेवार हुन्छ ।’ यसबारे शिक्षा मन्त्रालयको प्रतिक्रियाका लागि मन्त्री, कर्मचारीलाई लगातार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । 


Author

थप समाचार
x