समाज

डाक्टर पढ्‌न काठमाडौँ छिरेका महतो स्पा मालिक, महिनामै कमाउँछन् आठ लाख

अतिन आचार्य |
जेठ १८, २०७९ बुधबार ९:५ बजे

काठमाडौँ- 'जापानिज भाषामा 'जेन' को अर्थ शान्त हुन्छ । ठमेलस्थित काठमाडौँ गेष्‍ट हाउसको अगाडि रहेको स्पाको बोर्डमा लेखिएको जेनलाई हरियो लहराले छोप्नै लागिसकेको छ । स्पा तथा मेडिटेसन गर्ने स्थान सधैँ शान्त रहने भएकाले पनि जेन नाम सबैभन्दा प्रचलनमा रहेको छ ।

'जेन'को सञ्चालक रामदेव महतो हुन् । उनी ढोकामा उभिएका आफ्ना ग्राहकसँग गफिन थाले । 'नमस्ते ! वेलकम सर बस्नु न ग्रिन टि लिनुहुन्छ ?' आफ्ना ग्राहकलाई सोधे,' कस्तो सेवा लिन चाहनुहुन्छ ?'


उनले स्पाको मेनु गेष्‍टलाई देखाए । मेनुमा कस्ता-कस्ता खालको स्पा तथा मसाज गरिन्छ त्यसको सम्पूर्ण विवरण मूल्यसहितको विवरण समावेश छ । जेनमा सबैभन्दा बढी शरीरको मसाज गर्न आउनेको संख्या बढी रहने गरेका छन् ।

विदेशी गेष्‍टले धानेका स्पा सेन्टरहरूमा कोभिड-१९ को महामारीले थलिएर विस्तारै चलायमान हुन थालेको महतो बताउँछन् । दैनिक ११ देखि १२ जना गेष्‍टहरू आउने गरेको उनले बताए ।

उनकोमा नेपालीभन्दा बढी विदेशी गेष्‍टहरू सेवा लिन जाने गरेका छन् । १० जना महिला कर्मचारी राखेर सञ्चालित स्पामा महतो ठमेलको मध्यभागमा कसरी पुगे ? सर्लाही ईश्वरपुर नगरपालिका- १३ स्थायी घर भएका महतो कसरी स्पा सञ्चालक बने ? उनको सफलता र असफलताका कथा बुझ्न २५ वर्ष पछाडि फर्कनुपर्ने हुन्‍छ ।

एमबीबीएसको इन्ट्रान्समा फेल

सन् १९९७ मा घरको कान्छो छोरा महतो डाक्टर पढन काठमाडौँ छिरे । अमृत साइन्स क्याम्पसमा विज्ञान विषय लिएर पढेका उनका लागि समय एकनास रहेन ।आइएस्सी अध्ययन गरेपछि उनले एमबीबीएसको इन्ट्रान्स परीक्षासमेत दिए ।

परीक्षामा पास नहुनु उनी आफ्नो करियरका लागि बाटो खुलेको मान्छन् । उनले आफ्नो जीवन र पढाइदेखि हरेस खाएनन् । मेडिकलको विद्यार्थी बन्ने उदेश्यले काठमाडौँ छिरेका महतो केही समय यतिकै बसे । फुर्सदको समयमा पत्रिका पनि हेर्ने गर्थे उनी ।

उनले पत्रिकामा काठमाडौँ रेडक्रसले तीन वर्षे ट्रेडिसनल चाइनिज स्पा तथा मसाज कोर्षका लागि गरेको विज्ञापन देखे । महतो पत्रिकाको विज्ञापन लिएर बागबजारको ट्रेनिङ सेन्टरमा पुगे ।

वार्षिक ४० हजार रुपैयाँ तिरेर महतोले तीन वर्षे कोर्ष पूरा गरे । कोर्ष पूरा भएपछि उनको जीवनले नयाँ मोड लियो । महतो विगत सम्झँदै इकागजसँग भने,' कोर्ष पूरा हुनासाथ दरबारमार्गस्थित ओरेण्टल हेलिङ सेन्टरमा काम गर्ने अवसर पाएँ ।'

उनले काम गर्ने स्पामा विभिन्न मुलुकका ग्राहकहरू जान्थे । काममा निपुर्णता भएकाले ग्राहकलाई सन्तुष्ट बनाउन सक्‍ने खुबी उनीसँग थियो । महतोको कामबाट प्रभावित भइ ग्राहक जोयना क्लेयारले उनलाई स्पा पढ्ने भनेर प्रस्ताव गरे ।

सन् २००७ मा २५ वर्षको उमेरमा महतोले पहिलोपटक फिलिपिन्सको साङ्ग्रिला स्पा एकेडेमीमा ६ महिना स्पा सिक्न मुलुक छोडे । फिलिपिन्समा रहँदा उनले १ सय ५० डलर मासिक रुपमा पाउँथे ।

विदेशमा मासिक ५ लाख आम्दानी

उनले बागबजारमा सिकेको चाइनिज मेडिसिनको एडभान्स कोर्स त्यहाँ सिके । अक्युपञ्चर, अक्युप्रेसर, मक्सीबेसन, मसाज  र स्पाको बारेमा राम्रोसँग बुझेको उनको भनाइ छ । उनले हस्पिटालिटी क्षेत्रमा गर्नुपर्ने ज्ञान बृहत् तरिकाले बुझ्ने अवसर पाए ।

हस्पिटालिटी क्षेत्रमा काम गर्दा ग्राहकको सन्तुष्टिमा ध्यान दिनुपर्ने उनले बुझे । गेष्‍टको अपेक्षा अनुसार सेवा गर्न सकेमा झन प्रभावकारी हुने उनले बताए ।

'डाक्टरमा नाम ननिस्कनु मेरो लागि नयाँ अवसर बन्यो, एउटा अवसरसँगै अर्को पनि अवसर आउने गर्दो रहेछ,' उनले सुनाए, ' फिलिपिन्समा रहँदा आबुधाबीमा काम गर्न जाने अवसर पाएँ ।' माल्दिभ्स, कतार र अबुधाबी जाने अफर आए पनि छिटो जान पाएकाले उनी अबुधाबी गए ।

उनीसँग अबुधाबीको साङ्ग्रिला होटलमा १२ वर्ष काम गरेको अनुभव छ । स्पा थेरापिस्ट, सुपरभाइजर, स्पा ट्रेनर र स्पा म्यानेजरको रुपमा काम गरे । ट्रेनर हुँदा उनी विभिन्न मुलुक गइरहन्थे । माल्दिभ्स र फिलिपिन्स बेला-बेलामा जाने गर्थे ।

आबुधाबीमा मासिक ६० हजार देखि ५ लाखसम्म आम्दानी गरेका थिए । '८ वर्षसम्म २ लाख तलबमा काम गरे,' आबुधाबीमा काम गर्दाको दिन सम्झँदै भन्छन्,'  ४ वर्षसम्म मासिक ५ लाख आम्दानी गरेको थिएँ ।'

पैसाको लागि भन्दा पनि आफ्नै मुलुकमा केही गरौ भनेर स्वदेश फर्केको उनी सुनाउँछन् । तीन वर्षअघि स्वदेश फर्केका रामदेव पैसालाई ठूलो सम्झेको भए स्वदेश नफर्कने बताउँछन् ।

उनले सुरु-सुरूमा विदेशबाट नेपाल आउँदा टोलमा साथीहरूलाई स्पामा काम गर्ने बताउँदैन थिए । 'समाजले स्पामा काम गर्नेलाई नराम्रो दृष्टिकोणले हेर्दा अप्ठयारो मान्नुपर्ने अवस्था थियो,' गाउँमा मानिसलाई भनेको कुरा सम्झिँदै भन्छन्,' फाइभ स्टार होटलमा काम गर्छु भनेर भन्थे । रहर नभइ बाध्यताले ढाट्नुपर्ने अवस्था थियो ।'

आम मानिसमा कामलाई सम्मान गर्ने भावना विकास नभएकोमा उनी दुखेसो पोख्छन् । स्पामा महिला वा पुरुषले काम गर्ने स्थल नखुलाउने दृष्टान्त उनले पेश गरे । महिलाहरू स्पामा काम गरे पनि ब्युटी पार्लरमा काम गरेको बताउने गरेका छन् । 

महिला कर्मचारीको सुरक्षाका लागि प्रोटोकल तयार

'महिला कर्मचारीमाथि दुर्व्यवहार नहोस भनेर प्रोटोकल बनाएका छौँ,' उनले भने,' गेष्‍टले प्रोटोकल मान्न तयार नभएमा सेवा दिदैनौँ । ' स्पालाई सम्मानित नजरले हेर्न सक्ने बनाउन मुख्य चुनौती रहेको उनलाई लागेको छ ।

धेरै मानिसहरूले स्पामा जाँदा अनावश्यक खर्च हुने मनसाय राखेको उनको बुझाइ छ । विलासी जीवन बिताउनेहरूका लागि मात्र स्पा रहेको आम मानिसले सोच्‍ने गरेको उनको अनुभव छ ।  

'स्पामा उपलब्ध सेवाले शरीर स्वस्थ्य मात्र नभइ मानिसको आयुसमेत वृद्धि हुन्छ,' स्पा गर्दाको फाइदा सुनाउँदै उनी भन्छन्,' अन्य उपचार विधिबाट भन्दा प्राकृतिक उपचारबाट मानिसलाई स्वस्थ राख्‍न सकिन्छ ।' नियमित स्पाले मन र शरीरलाई हलुका बनाउने महतो बताउँछन् ।

उनीसँग लामो समयदेखि काम गरेका अनुभवी र तालिमप्राप्त १० जना महिला कर्मचारी छन् । एकैपटक १५ जना गेष्‍टलाई सेवा दिन सकिने क्षमतासहितको संरचना तयारी अवस्थामा रहेको उनले सुनाए ।

विशेषगरी महिला ग्राहकको संख्या बढाउन विभिन्न उपचार विधिहरू  अपनाइएको छ । स्वदेशी जडिबुटी तथा स्थानिय स्रोतमा अधारित उपचार विधि शिरोधारा , नेपाली अरोमा मसाज, ट्रेकर्स मसाज , डिपटिश्यू , हिमालय साल्ट स्टोन, हिमालय हर्बल हार्मोनी मसाज छन ।

महिलालाई लक्षित उपचार विधि अन्तर्गत विशाक्त कम गर्न हिमालय कफि बडि ट्रीट्मेन्ट र महिला लक्षित ट्रीट्मेन्ट जस्तै नङ तथा छाला सुन्दर बनाउने फेसियल , मेनिकेयर, पेडिकेयर, वाक्सिङ, प्रेगनेन्सि मसाज रहेका छन् ।

'शिरोधारा, ट्रेकर्स डिप, टिश्यू , साल्ट स्टोन, हर्बल हार्मोनी मसाज, परम्परागत थाई मालिस हेड मसाज, साउना, खनिज नुन स्क्रब, डिटोक्सिफाइङ कफी स्क्रब हिमालयन हर्बल बडी, राप बायो-इनर्जी मड राप वाक्सिङ मनि कुर पेडिकुर मसाज सेवा उपलब्ध छन्,' उनले उपलब्ध हुने सेवाको जानकारी दिदै भने,' ग्राहकको माग अनुसार चाइनिज मेडिसिन मा अधारित अकुपेन्सी, कपिङ थेरापी, सिङिङ साउड थेरापी  र रेकी सेवा छ ।'

उनले २ देखि १० हजार रूपैयाँसम्ममा ग्राहकलाई सेवा दिने गरेको बताए । ग्राहकले कस्तो सेवा लिने त्यस अनुसार समय र मूल्य फरक-फरक रहेको उनको भनाइ छ । ' ग्राहकले चाहे अनुसार १ देखि ५ घण्टासम्म सेवा दिइन्छ,' उनले अगाडि थपे ।

मासिक ८ लाख आम्दानी

महामारी मत्थर हुँदै गएपछि गेष्‍टको संख्या बढ्दै गएको उनको अनुभव छ । 'सबै खर्च खटाएर मासिक ७ देखि ८ लाख रुपैयाँ आम्दानी भइरहेको छ,' महतो भन्छन्  । ट्रेकिङ गएर आएका अमेरिका, युरोपेली मुलुक, जापानिज, कोरियन, चाइनिज र भारतीय ग्राहक पनि आउने गरेका छन् ।  बढी मात्रामा पुरुष ग्राहक आउने गरेका छन् । महिला ग्राहकको संख्या बढोस् भनेर महिला कर्मचारी मात्र राखिएको उनी सुनाउँछन् ।

कोभिड महामारीपछि स्पा व्यवसायलाई व्यवस्थित बनाउन संघको स्थापना गरिएको उनी बताउँछन् । उपत्यकाका १७ वटा स्पा आबद्ध छन् । अन्य ४५ बढी स्पा संघमा आबद्ध हुन लागेको उनको भनाइ छ । उनी संघको केन्द्रीय सदस्य पनि हुन् ।

सरकारले स्पा व्यवसायीलाई पर्यटन व्यवसायसँग जोडेर हेर्नुपर्ने उनको माग छ । स्पामा धेरैजसो विदेशीहरू आउने भएकाले अन्य व्यवसाय जस्तै व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

४० वर्षीय महतोको परिवारमा श्रीमती, छोरा र छोरी छन् । कुराकानीको बिट मार्दै जेठा दाइ किसान र माइला दाजु भने जिल्लाकै स्थानीय तहमा स्वास्थ्यकर्मी रहेको उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x