बुबाबाट बलात्कार भएको कुरा बाहिर ल्याउँदा गाउँ छोड्न बाध्य भइन् किशोरी
सुर्खेत - अहिले देशभर बलात्कारको विषयमा बहस भइरहेको छ । अधिकांश यस्ता घटनाहरु गाउँघरमै मिलाउने गरिएको पाइन्छ । यदि बाहिर प्रकट भएपनि पीडितले पीडामाथि पीडा खेप्नुपर्ने अवस्था छ ।
समाजले पीडितलाई न्यायको बाटोतिर लानको सट्टा पीडा दिन्छ अनि कसरी खुल्न सक्छन् त पीडित ? आफूमाथि बलात्कार भएको विषयमा बाहिर आफन्तलाई सुनाएपछि अझै पीडित भएकी छन् दैलेखकी एक किशोरी । यति मात्र होइन आफूमाथि अन्याय भयो भनेर बाहिर घटना ल्याउँदा पीडित आफैले गाउँ नै छोड्नुपरेको छ ।
आफ्नै बुबाद्धारा बलात्कार भएको कुरा बाहिर ल्याएपछि दैलेखकी १७ वर्षीय सुनिता बिक (नाम परिवर्तन) गाउँ छोड्न बाध्य भएकी छन् । विगत तीन वर्षदेखि बलात्कार हुँदै आएकी किशोरीले न्याय पाउने आसमा आफन्तलाई पीडा सुनाइन् । तर, उल्टै न्याय त परै जाओस् अनेक आरोपहरु लगाएर पीडितमाथि पीडा थपे ।
अहिले ती किशोरी १२ कक्षामा पढ्दैछिन् । ‘नौ कक्षा पढ्दा देखि नै आमा नभएको बेलामा राती म माथि बलात्कार गर्नुहुन्थ्यो, मुख छोपिदिएकाले चिच्याउन पनि पाउँदैनथे’ उनले भनिन्, ‘नाई यस्तो नगर्न भनेर जति भन्दा पनि मान्नुभएन, घरमा मम्मी नभएको बेलामा संवेदनशील अंगमा छुने गर्नुहुन्थ्यो ।’
सुनिताका दुई वटा बहिनी र एउटा भाइ छन् । उनी घरकी जेठी छोरी हुन् । अरु बहिनी सानै भएकाले उनीहरुलाई केही गरेको थाहा नपाएको बताउँछिन् । सुरुवातमा डरले गर्दा यो समस्या उनले कसैलाई भन्न सकिनन् । ‘त्यतिबेला १४ वर्षकी थिए विवाह गरेर जाउँ भने पनि उमेर पुगेको थिएन, अन्त जाने ठाउँ थिएन, कहिलेकाही दिक्क भएर मामाघरमा बस्न जान्थे’ सुनिताले भनिन्,‘कर्णाली नदीमा गएर हाम फालेर मर्छु भनेर हिडेँ फेरि केही गर्छु भनेर बाटैबाट फर्केर आए।’
सुनिता घर छोडेपछि केही समयसम्म दैलेखकै एक होटलमा भाँडा धोएर बसिन् । उनी त्यहाँ रहँदा उनका साथीहरुले संघसंस्थासँग जोडिदिए । त्यसपछि उनलाई न्यायको लडाईँ लड्न सजिलो भयो । संघसंस्थाहरुले पनि जाहेरी दिने र मुद्दा लड्न उनलाई सजिलो बनाइदिए । अधिवक्ता गीता कोइरालाले पनि मुद्दा लड्नको लागि सहयोग गरिन् । जिल्ला अदालत दैलेखले सुनिताकै पक्षमा फैसला सुनायो । सुनिताको बुवालाई ३५ वर्ष कैद सजाए पाए ।
अहिले उनीलाई अधिवक्ता गीता कोइरालाले नै सहयोगीसँग खाना र कपडा जुटाएर वीरेन्द्रनगरमा राखेकी छन् ।
बुबालाई कारवाहीको फैसला भएपछि गाउँमा रहेका सुनिताका आमा र भाइबहिनीलाई गाउँमा बसिसक्नु छैन । गाउँले तथा आफन्तहरुले उनीहरुलाई अनेक लान्छना लगाएपछि उनीहरु पनि गाउँ छाड्ने तरखरमा रहेको सुनिताले बताइन् । ‘अब आमा र भाइबहिनीलाई पनि यतै(सुर्खेत) बोलाउँछु र कतै काम पाइन्छ की खोजेर यतै व्यवस्था गर्नुपर्ला’ सुनिताले भनिन्, ‘गाउँमा त्यसरी बस्नुभन्दा यता केही काम गरेर बस्दा तनाव कम होला, जथाभावी आरोप सुनिरहन त नपर्ला ।’
सुनिता पनि १२ कक्षाको परीक्षाको तयारीमा छिन् । तर, उनका आफन्तबाट फोनमा आउने धम्कीले हैरानीमा छन् । ‘किताब हेर्छु र पढ्न थाल्यो फोन आइहाल्छ बुबातिरका आफन्तबाट जे पायो त्यही भन्छन्, राम्रोसँग पढ्नै पाएको छैन’ उनले भनिन्, ‘यो परीक्षा राम्रोसँग दिन पाए अगाडि बढ्थे होला सोच्छु तर, डिस्र्टव भइरहन्छ ।’
उनको अब कानुन पढेर आफूजस्तै अन्यायमा रहेकालाई न्याय दिने सोच छ । ‘पढाई भन्दा ठूलो केही रहेनछ त्यसैले राम्रोसँग पढेर हामीलाई आरोप लगाउने आफन्तहरुको अगाडि केही बनेर देखाइदिन्छु’ उनी भन्छिन्, ‘मैले पढेर जागिर गरे भने त आमा र भाईबहिनीलाई पनि राम्रोसँग हेर्न सक्छु ।’
अधिवक्ता गीता कोइरालाले बलात्कारका पीडितलाई न्याय पाउन कठिन रहेको बताइन् । ‘प्राय बलात्कार भयो भनेर खुल्न चाहँदैनन् र खुलिहाले पनि न्याय पाउन सजिलो छैन’ उनी भन्छिन्, ‘हाम्रो समाजमा पीडित अझै पीडा सहेरै बस्नुपरेको अवस्था रहेको छ ।’ उनले न्यायको लागि पिडा लुकाएर बस्न नहुने बताउँछिन् । ‘पीडा लुकाएर बस्यो भने पीडक अझै बलिया हुन्छन् र अन्य पीडितले पनि न्याय पाउन मुस्किल बन्छ ’ कोइराला भन्छिन्, ‘घटना बाहिर ल्याउनै पर्छ र यसमा समाजले पनि साथ दिन जरुरी हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया