समाज

दृष्टिविहीनलाई दुखाउने यी १६ प्रश्न

सृजना खड्का |
जेठ २१, २०७९ शनिबार १०:५६ बजे

काठमाडौँ– इलामकी अनिसा घिमिरे केही समयअघि फिल्म हेर्न गएकी थिइन् । फिल्म हेरिसकेर बाहिर निस्किन नपाउँदै हत्तपत्त बुम र क्यामेरा उनीतिर तेर्सिए । कुरा गर्न मन नलाग्दा नलाग्दै अन्टसन्ट प्रश्न उनीतिर ओइरिन थाले । ‘आँखा नदेख्ने भएर पनि कसरी फिल्म हेर्नुभयो ?, हिरो कुन, हिरोइन कुन कसरी चिन्नुभयो ?’ उनलाई लगातार यस्तै–यस्तै प्रश्न सोध्न थालियो । 

दृष्टिविहीन भएकै कारण अनिसासँगै गोरखाकी समीक्षा भट्टराई, बर्दियाकी दीपा न्यौपाने, धादिङकी संगीता घले र ओमकुमारी मगरले पनि यस्ता थुप्रै अन्टसन्ट प्रश्नको सामना गर्नुपरेको छ । सकेसम्म यस्ता प्रश्नको जवाफ दिन नपरोस् भनेर उनीहरू तर्किएर हिँड्छन् । आफ्नो भावनामा चोट पुग्ने प्रश्नले उनीहरूलाई दुखाउँछ । सोध्नेलाई त सामान्य लाग्ला तर जवाफ दिनेलाई भने प्रश्नकर्ताको समझ देखेर नाजवाफ बनाउँछ । 


काठमाडौँकी लक्ष्मी अधिकारी, स्याङ्जाकी दुर्गा पौडेल, धरानकी आश्मा पयाङयुले पनि दृष्टिविहीन भएकै कारण मन दुखाउने थुप्रै प्रश्नको सामना गर्नुपरेको छ । यस्ता प्रश्न उनीहरूलाई कसैले नसोधिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । 

धरानकी आश्मालले आफ्नो अनुभव साट्दै भनिन्– मलाई त मेरो आवाज सुन्दा म कालो छु कि गोरो, अग्लो छु कि होचो ? भनेर सोध्नेहरू पनि छन् । ती प्रश्न सुनेर मनमनै मुर्मुरिन्छिन्, आश्मा । कहिले रिसाइदिन्छिन्, कहिले यत्तिकै चुप बसिदिन्छिन् ।

आश्मासँगै आठ जना दृष्टिविहीनहरूले इकागजमार्फत कसैले पनि झुक्किएर आफूहरूलाई यी १६ प्रश्न नगर्न आग्रह गरेका छन् :

१) यो कुकुर हो, यो भैँसी हो भनेर कसरी थाहा पाउनुहुन्छ ?
२) आँखा नदेख्ने भएर पनि किन एक्लै हिँडेको ? 
३) तपाईंहरूलाई महिनावारी हुन्छ कि हुँदैन, महिनावारी भएको कसरी थाहा पाउनुहुन्छ ?
४) दृष्टिविहीन भएर पनि किन बिहे गर्नुभयो ?
५) आँखा नदेख्ने मान्छेले कसरी बच्चा जन्माउनुभयो ?
६) कसले नुहाइदिन्छ, कसले कपडा लगाइदिन्छ ?
७) खाना कसरी खानुहुन्छ, खाना खाँदा मुखमा जान्छ कि नाकमा ?
८) बत्ती गएको बेलामा कसरी खाना खानुहुन्छ ?
९) मेरो आवाज सुन्दा म कालो छु कि गोरो छु जस्तो लाग्छ, अग्लो छु कि होचो छु होला ?
१०) लुगा उल्टोसुल्टो कसरी चिन्नुहुन्छ ?
११) सर्टको टाक कसरी लगाउनुहुन्छ ? 
१२) कलेज कसरी जानुहुन्छ, कसरी पढ्नुहुन्छ ?
१३) दृष्टिविहीनहरूले  सपना देख्छन् कि देख्दैनन् ?
१४) फिल्म हेर्नुहुन्छ कि हुन्न ? हिरो को, हिरोनी को भनेर कसरी चिन्नुहुन्छ ?
१५) बिचरा तपाईंहरू त केही गर्न सक्नुहुन्न होला है ?
१६) तपाईंहरूसँग रिलेसनसिपमा बस्नका लागि फिलिङ्स हुन्छ कि हुँदैन ?
यी १६ प्रश्न जसको जवाफ दृष्टिविहीनले हैन, प्रश्नकर्ता स्वयंले नै आफ्नो विवेक र बुझाइलाई सोध्नुपर्नेछ ।

यो पनि

दृष्टिविहीनद्वारा दृष्टिविहीनका लागि पाककला

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x