समाज

'यही हिउँदमा मेलम्चीको पानी'

विकास थापा |
कात्तिक २४, २०७७ सोमबार ७:७ बजे

काठमाडौं : ‘मेलम्चीको पानी कहिले आउँछ ?’ खानेपानी सचिव माधव बेलबासलेलाई इकागजले  गरेको प्रश्न ।‘मेलम्चीको पानी आउँछ भन्दाभन्दै कसैले पत्याउन नसक्ने अवस्था भइसक्यो,’ सचिव बेलबासेले जवाफ दिँदै भने, ‘यति नै खेर आउँछ मेलम्चीको पानी भन्न हामीलाई धक लाग्न थालेको छ ।’‘कुनै न कुनै दिन त आउला नि ?’

इकागजको थप प्रश्न, ‘आउँदै नआउने त होइन होला ?’‘जे होस् हाम्रो लक्ष्यचाहिं टेन्टेटिभ्ली (परीक्षात्मक तवरले) सार्वजनिक रुपमा भन्न डराउनुपर्ने स्थिति रह्यो हिजोका दिनमा,’ सचिव बेलबासे अझै खुलेनन्, ‘एकचोटि होइन, दुईचोटि होइन क्रेडिबिलिटी (विश्वानीयता) नै गुमेको अवस्था छ, बोल्यो कि पोलिहाल्छ ।'


‘उसो भए योजना त केही होला नि होइन र ?’ पुनः प्रश्न । सचिव बेलबासे बल्ल बोले, ‘यसपालिको सुख्खायाम अर्थात् खानेपानीको चरम हाहाकार हुनुअघि नै मेलम्ची आइसक्छ ।’उनले आफ्‍नो भनाईलाई थप पुष्टि पनि गरे, ‘सुरुङको सम्पूर्ण काम सकिइसकेको छ, हेडवक्र्स (मुहान) को बाँकी काम लगभग समाप्तजस्तै भइसकेको छ, केही साता पछि हामी पुनः सुरुङमा पानी छिराएर परीक्षण गर्दैछौं ।’‘अर्को बर्खाभन्दा अघि नै हिउँदको गर्मीको हाहाकारको बेलामा मेलम्चीको पानी उतारिसक्छौं । बर्खा अगाडिको हाहाकारअघि मेलम्चीको पानी आउँछ । यति चाहिं भन्न सक्छु,’ सचिव बेलबासे थप पुष्टि गर्दै भने ।

असारमा गेट फुटेपछि विदेशी विशेषज्ञद्वारा जाँच गरिने

सरकारले २०७३ सालको दशैंमा मेलम्चीको पानी आउँछ भनेको थियो । आएन । त्यसपछि हिउँदमा आउँछ भने, त्यसमा पनि आएन । यसो गर्दागर्दै अहिले आएर विशेष गरेर वर्तमान सरकारले सत्ता सम्हालेदेखि मेलम्ची आउँछ भन्दा पत्याउन सकिने स्थिति रहेन । त्यही भएर सचिव बेलबासेले ‘बोलेर भन्दा पनि कामै गरेर देखाउने किन बोलिराख्ने ?’ भन्ने रणनीति लिएको देखियो । सचिव बेलबासेका अनुसार मेलम्ची सुरङ र अन्य संरचनाहरुको परीक्षण चाँडो गर्ने तयारी भइरहेको छ । 
गत असारमै मेलम्चीको सुरुङ परीक्षण भएको थियो । त्यतिबेला सुरुङ प्रवेश मार्ग (अडिट एक्सेस रोड) को गेट (ढोका) फुटेर एक इन्जिनियरको मृत्यु भएको थियो भने एकजना प्राविधिकलाई बगाएको थियो । हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित अडिटको मुख्य गेट (नं. १७) फुटेर निस्केको पानीले आयोजनाको एक इन्जिनियर र एक चालकलाई बेपत्ता पारेको थियो । इन्जिनियर सतिशत गोइत शव पछि फेला परेको थियो भने चालक राधाकृष्ण थापा मगरको अझै भेटिएको छैन ।‘यो घटनापछि हामी सिरियस (गम्भीर) भएका छौं,’ बेलबासेको भनाइ थियो, ‘त्यसले गर्दा गेट डिजाइनमा भएको गल्ती सुधारेर पुनः जडान गर्दैछौं ।’

ठेकेदार नभगाएको भए दुई वर्षअघि नै पानी आइसक्थ्यो

‘काम गर्ने क्रममा तलामाथि होला, कतिपय अननोइङ्ली (थाहै नपाई) हुन सक्छ, कतै इंगनोरेन्स (अज्ञानता) वा नेक्लिजेन्स (लापर्वाही) का कारण केही समस्या आउन सक्ला,’ उनले भने, ‘त्यही भएर हामी विदेशबाट चार सदस्य विशेषज्ञको समूहलाई बोलाउँदैछौं, यसले केही समय लाग्ने देखिएको मात्रै हो ।’ सचिव बेलबासेको अनुसार मेलम्चीको प्रमुख लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञको टोली मेलम्ची सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँचका लागि पठाउँदैछ । टोलीले डेढ महिनाभित्र काम सक्ने अपेक्षा छ ।

हालसम्म सम्पन्न भएका कामको विशेषज्ञबाट परीक्षण गराउन आयोजनाले एडीबीलाई अनुरोध गरेको थियो । एडीबीले आफ्‍नै खर्चमा केही दिनमै विशेषज्ञ टोली पठाउन लागेको छ । आयोजना प्रमुख तिरेश खत्रीका अनुसार यही नोभेम्बर अन्त्यसम्म (मंसिर दोस्रो साता) मा गेट जडान कार्य सकिनेछ । ‘अब गेट जडान, संरचनाका परीक्षणबाहेक अरु काम छैन,’ खत्रीले इकागजसँग भने, ‘मेलम्चीको सफा पानी सुरुङमा छिराउन करिब ५० दिन लाग्छ ।’

उपत्यकामा दैनिक माग साढे ४१ करोड लिटर

मेलम्ची दुई वर्षअघि नै पूरा हुन लागिसकेको थियो । अघिल्लो ठेकेदार सीएमसीले करिब ९७ प्रतिशत काम पूरा गरेको थियो । उसले आयोजनाले दिनुपर्ने भुक्तानी रकम (३६ करोड रुपैयाँ) नपाएका कारण काम छाडी हिंडेको थियो ।अघिल्ला सचिव गजेन्द्र ठाकुर र खानेपानी मन्त्री बिना मगरले ठेकेदार सीएमसीले पाउनुपर्ने रकम रोकेका थिए । सीएमसीले दाबी गरेको ६५ करोडमध्ये विवाद समाधान बोर्ड (डीआरबी) ले ३५ करोड रुपैयाँ आयोजनाले दिनुपर्ने निर्णय गरेको थियो । काम गरिरहेको ठेकेदारलाई भगाउँदा पछिल्लो पटक मेलम्ची दुई वर्ष पर धकेलिएको हो ।

मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ । मेलम्चीमा सँगैको याङ्ग्री र लार्केलाई पनि थपे पछि प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटर गरी ५१ करोड लिटर भित्र्याउने योजना छ । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x