समाज

सिसडोलबासी र काठमाडौँ महानगरबीचको वार्ता निश्कर्षविहिन

इकागज |
चैत १९, २०७७ बिहीबार १९:४६ बजे

काठमाडाैँ : सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीचको वार्ता निश्कर्षविहिन भएकाे छ । नुवाकोट, सिसडोल ल्याण्डफिल साइटका स्थानीयले काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोर मैला विसर्जन गर्न अवरोध पुर्‍याएपछि महानगरले सराेकारवालाहरूलाई वार्ताकाे लागि बाेलाएकाे थियाे । बुधबार र बिहीबार लगातार वार्ता हुँदा पनि वार्ता कुनै निश्कर्षमा पुग्‍न नसकेकाे फाेहाेरमैला व्यवस्थापन सराेकार समितिका अध्यक्ष नवराज ढुंगानाले बताए । 

‘बुधबार तीन/चार घण्टा र बिहीबार पाँच घण्टा वार्ता भयाे, तर हाम्रा मागप्रति कुनै सुनुवाई भएन, ’ उनले भने, ‘फाेहाेरको गन्धले बस्ती नै राेगी भइसक्याे । खेतीपाती गर्न, पठनपाठन गर्न नै समस्या भइसक्याे । फाेहाेरकाे व्यवस्थापन गर्नुहाेस् भन्दा उहाँहरूले मान्‍नुभएन ।’


ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयले फोहोर मैला व्यवस्थापन गर्न माग राख्दै चैत १३ गते देखि पूर्णरुपमा फाेहाेर बिसर्जन गर्न बन्द गरेकाे छ । स्थानीयले विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने लगायत सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने उनीहरूकाे मागहरू राखेका छन् । सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । अध्यक्ष ढुंगानाकाअनुसार महानगरले सिसडाेलबासीका समस्या बुझेन ।

‘याे विवाद बल्झिएकै वर्षाैँ भइसक्याे,’ उनले भने, ‘तर हाम्राे माग कसैले सम्बाेधन गरेन । महानगरले फाेहाेर मात्रै फाल्ने, हाम्रा कुनै माग सम्बाेधन गर्न नसक्ने बताए । जे माग्नु छ, सरकारसँग माग्‍न जाउ पाे भन्‍नुभयाे ।’  

 

 

 

 


Author

थप समाचार
x