समाज

पर्दैन चुरा फुटाउन, सिन्दुर पुछ्न, कुप्रथाको अन्त्यका लागि नगद पुरस्कार

इकागज |
जेठ ३१, २०७९ मंगलबार २१:४८ बजे

काठमाडौँ - भारत महाराष्ट्रको कोल्हापुर जिल्लाका दुई साना गाउँले विधवा प्रथासम्बन्धी कुप्रथामाथि प्रतिबन्ध गराएर सामाजिक परिवर्तनमा ठूलो फड्को मारेका छन् । अहिले विधवा महिलाको पुनर्विवाहको योजना पनि बनिरहेको छ।

टाइल उत्पादन गर्ने कारखानामा काम गर्न जानु अघि हरेक दिन, वन्दना जाधवले बिन्दी र मङ्गल सूत्र लगाउँछिन् । दुई सन्तानकी आमा ३६ वर्षीया आमाले २०२१ को अगस्टमा आफ्नो श्रीमानलाई गुमाएकी हुन। उनी भन्छिन् ‘श्रीमानलाई रुघाखोकी र छाती दुखेको थियो।’


वन्दना महाराष्ट्रको कोल्हापुरको हटकनंगले नामक तहसीलको एउटा सानो गाउँ मनगाउँमा बस्छिन् । भारतको अन्य कुनै गाउँमा बसेकी थिइन् भने, उनी हिन्दू महिलाको लागि विवाहका सबै प्रतीक (सुहाग चिन्ह)हरू त्याग्न बाध्य हुने थिइन् । उनको निधारबाट सिन्दुर पुछिन्थ्यो, उनको मङ्गल सूत्र र खुट्टाको औँठी पनि हटाइन्थ्यो र हातका चुरा पनि फुटाइन्थ्यो ।

तर अहिले परिवर्तन आएको छ । महाराष्ट्रको कोल्हापुर जिल्लाका दुई साना गाउँले सामाजिक परिवर्तनमा ठूलो फड्को मारेका छन् । यो वर्ष मे ४ मा हेरवाडको ग्रामसभाले आफ्नो क्षेत्रमा बस्ने महिलाहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने प्रतिगामी प्रथालाई अन्त्य गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । केही दिनपछि, त्यहाँबाट करिब २० किलोमिटर टाढा रहेको मानगाउँ गाउँले पनि त्यसैलाई पछ्यायो ।

मनगाउँ ग्रामसभाले त हेरवाडभन्दा एक कदम अगाडि बढेर यो निर्णय मान्ने परिवारलाई नगदका साथै र कर कटौतीको रूपमा पुरस्कृत गर्ने भएको छ।

प्रतिबन्धलाई प्रोत्साहन गर्दै

मानगाउँका सरपंच राजु मगदुमले प्रत्येक घरमा श्रीमान गुमाएका महिलालाई बहिष्कार गर्ने प्रचलनलाई बन्द गराउन जनतालाई प्रोत्साहन गर्नुपर्ने बताए । यी परम्परा धेरै पुराना छन् र यदि मानिसहरूलाई आफ्नो बाटो परिवर्तन गर्न बाध्य पारियो भने, तिनीहरू विद्रोह गर्न सक्छन्, उनी भन्छन्।

यस्ता प्रचलनहरूको विरुद्ध लाग्ने कुनै पनि घरपरिवारले एक वर्षसम्म सम्पत्ति वा पानी कर तिर्नु पर्दैन । हामीले त्यस्ता परिवारहरूलाई कदरस्वरूप रु५००० पनि दिएका छौं र १५ अगस्टमा हाम्रो स्वतन्त्रता दिवसको अवसरमा उनीहरूलाई सम्मान गर्नेछौ ।

ग्राम पञ्चायतका सबै १७ सदस्यले नयाँ संकल्पलाई आ–आफ्नो घरपरिवारमा लागू गर्ने भन्दै स्ट्याम्प पेपरमा प्रतिज्ञा गरेका छन् । पुनर्विवाह गर्न चाहने युवा विधवाहरूलाई आर्थिक सहायता प्रदान गर्ने प्रस्ताव पारित गर्ने योजना पनि रहेको छ ।

परिवर्तन घरबाट सुरु हुन्छ

हेरवाड र मानगाउँ दुवैका ग्राम पञ्चायत सदस्यहरू सुरुमा उनीहरूको प्रस्तावमा गाउँलेहरूले कस्तो खालको प्रतिक्रिया दिने हुन भनेर चिन्तित थिए । हेर्वाडका ग्राम पञ्चायत सदस्य मुक्ता पुजारीले ६ महिनाअघि नै यो प्रस्ताव अघि बढाउने निर्णय गरेको बताउँदै भनिन, `त्यस्तो प्रस्ताव  कसैले पनि  स्वीकार गर्ने छैन भनेर हामी डरायौँ । तर, मे ४ मा हामीले यसलाई ग्रामसभामा राख्यौं र सर्वसम्मतिले पारित भयो ।`

गाउँका नेताहरूले अब आफ्नो गाउँका बासिन्दाहरूलाई सचेत गराउने काम गर्ने योजना बनाएका छन् । `सबै मानिसहरूलाई बुझाउन चुनौती छ तर हामीले यसलाई पहिले आफ्नै घरबाट सुरु गर्नुपर्दछ,` हेरवाड ग्राम पञ्चायतकी सदस्य सुष्मा राणेले भनिन्, `हामीले बुहारीलाई आफ्नै छोरी जस्तै व्यवहार गर्नुपर्छ।`

महिला अधिकारका लागि यो लडाइँको अगुवाइ गरिरहेकी ग्राम पञ्चायत सदस्य तथा वन्दनाकी भाउजू सन्ध्यारानी जाधव यस प्रतिबन्धको मुख्य समर्थक हुन् । `परिवर्तन घरबाटै सुरु गर्नुपर्छ`, सन्ध्यारानी  भन्छिन्, `विधवापनले महिलाको मनोबल घटाउँछ । जब मेरो देवरको मृत्यु भयो, सम्पूर्ण घरपरिवारले वन्दनालाई समर्थन गर्ने निर्णय गरे । हामीले उहाँलाई त्यस्तो कुनै नियम जबरजस्ती गरेका छैनौं, `सन्ध्यारानी भन्छिन् ।

श्रीमान गुमाएका महिलाहरू जीवनभर समाजको परिधिमा बेवास्ता र अपहेलित भएर बाँच्न बाध्य हुन्छन् । तर यसपाली कोभिडको महामारीबाट यो जिल्लामा पुगेको क्षतिले युवा विधवाहरूको दुर्दशालाई अगाडि ल्यायो । `कोविडको समयमा धेरै युवतीहरूले आफ्ना श्रीमान गुमाए । उनीहरुको अगाडि सारा जीवन बाँकी छ,’ सन्ध्यारानीले भनिन् , `जुन २ सम्मको सरकारी तथ्यांकले कोल्हापुर जिल्लामा ५ हजार ९०४ जनाको मृत्यु भएको देखाएको छ ।`

वन्दना यी “अपमानजन कूप्रथाहरू” अन्त्य गर्न कटिबद्ध छिन् । उनी भन्छिन्,  `एउटी महिलाको श्रीमान मरेपछि उसलाई राम्रोसँग व्यवहार गरिँदैन । श्रीमानको मृत्यु भयो भने महिलाको गल्ती कसरी हुन्छ ?`

महाराष्ट्र सरकारले मानवअधिकार र महिलाको मर्यादालाई उल्लघंन गरेको आधारमा विधवा प्रथालाई प्रतिबन्ध लगाएको छ र दुईवटा गाउँको प्रशंसा गरेको छ । ग्रामीण विकास मन्त्री हसन मुश्रीफले १७ मे मा एक आधिकारिक आदेश जारी गरी सबै ग्राम पञ्चायतहरूलाई जनचेतना अभियानहरू सञ्चालन गर्न र यस्तै प्रस्तावहरू पारित गर्न आग्रह गरे ।

प्रगतिशील विरासत

गाउँलेहरूले यो कदम चालेकोमा स्थानीय बासिन्दा मगदुमलाई गर्व छ । गाउँलेहरूले साहु माहाराज भन्ने कोल्हापुरका राजर्षि साहु छत्रपति (१८७४ देखि १९२२) को शासनकालको स्मरण गर्दै उनी भन्छन्, ‘हामी सामान्य गाउँका होइनौँ । उनले ५० प्रतिशत सरकारी पदहरू पिछडिएका वर्गका उम्मेदवारहरूका लागि आरक्षित गरेर उनले २६ जुलाई १९०२ मा इतिहास रचेका थिए।’

`हामी सधैं प्रगतिशील छौं । सन् १९२० मा साहु महाराजको अनुरोधमा बाबासाहेब अम्बेडकरले छुवाछुत विरुद्धको बैठकको लागि आएको गाउँ यही हो` मगदुमले भन्छन् ।

तर, साहु महाराजको मृत्यु भएको ९० वर्षपछि र सन् १८५६ जुलाई २५ मा विधवा पुनर्विवाहलाई कानुनी मान्यता दिएको १५६ वर्षपछि पनि विधवाहरू आफ्नो अधिकारका लागि लडिरहेका छन् ।

धेरैका लागि टाढाको स्वर्ग 

द प्रिन्टले भ्रमण गरेको कोल्हापुर जिल्लाका गाउँहरूमा महिलाहरूले आफ्नो श्रीमान बितेको दिनले आफ्नो जीवन कसरी परिवर्तन भयो भन्ने कुरा बताए । हरेक विधवाको एउटै प्रश्न थियो, `किन? के मैले मेरो श्रीमानलाई मारेको छु ?` मनगाउँमा पनि, सबैजना वन्दना जत्तिकै भाग्यमानी छैनन् ।

४१ वर्षीया आंगनवाडी कार्यकर्ता (स्वास्थ्य स्वयंसेविका)भारती कोलीले कोभिडको दोस्रो लहरमा श्रीमान गुमाइन् । उनलाई सहयोग गर्ने परिवारमा कोही नभएकाले उनी समाजको ‘नियम’ मा बाँधिइन् । ‘मेरो समाजमा श्रीमानको मृत्यु हुँदा तेस्रो दिन अर्की विधवा आएर सिन्दूर पुच्छिन्, चुरा फुटाइन्छ र खुट्टाको औंठी फुकालिन्छ । गहना निकाल्दा आफ्नो दुःख र पीडा कसरी याद आउँदैन ? किन एउटी महिलाले अर्कीलाई यस्तो गर्नुपर्छ ?”

रातो बिन्दी लगाउन थाले पनि समाजले अझै पनि विधवाको रुपमा हेरेको कोली बताउँछिन् । यसअघि महिलाहरूलाई निधारमा कालो थोप्ला मात्र लगाउने अनुमति थियो । म हरियो रंग लगाउन सक्दिन वा सामाजिक वा धार्मिक जमघटमा भाग लिन सक्दिन किनकि मलाई बहिष्कार गरिएको छ ।

हेरवाड गाउँमा, तीन सन्तानकी आमा ४९ वर्षीया अनिता काम्बेले ६ वर्षअघि श्रीमानको मृत्यु भएपछि कुनै पनि भेलामा गएकी छैनन् । `उनीहरू भन्छन् हामी अशुभ हौं । जब मेरो आफ्नै छोराको बिहे भयो, मलाई वैवाहिक संस्कारबाट टाढा राखियो । हामीलाई सामान्य महिलाको रूपमा हेरिएको छैन । त्यसैले म धेरै खुसी छु कि यस्ता अभ्यासहरू प्रतिबन्धित भएका छन् तर मानिसहरूले यसलाई स्वीकार गर्न समय लाग्नेछ ।`

द प्रिन्टमा प्रकाशित पूर्वा चिटणीसको आलेखको भावानुवाद

अनुवादः मनोज रेग्मी

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x