समाज

नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाको भूमिका अपरिहार्य

इकागज |
असार २, २०७९ बिहीबार १६:१ बजे

काठमाडौँ – मिडिया नागरिक समाज र स्थानीय युवाहरूबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार भर्चुअल माध्यमबाट सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माण र कार्यान्वयनमा युवाको भूमिकाको विषयमा छलफल भएको थियो । 

दायित्व नेपाल जन प्रशासन फेलोसिप २०२२ अन्तर्गत भएको भर्चुअल कार्यक्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश १ का स्थानीय युवा, मिडिया र नागरिक समाजका प्रतिनिधिहरूबीच स्थानीय युवाहरूको भूमिका र संलग्नतालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा स्थानीय नीति निर्माण प्रक्रिया, सुशासन, युवा रोजगारी, उद्यमशीलता विकास, युवा नेतृत्व जस्ता विषय उठेका थिए । 


टेलिभिजन पत्रकार रुपा खड्काले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरूले मिडियाले युवा, स्थानीय उद्यमशीलता र अन्य संवेदनशील विषयहरूमा कम ध्यान दिएको गुनासो गर्दै स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै युवाहरूको प्रयास, सफलताका कथाहरूलाई समेट्न आग्रह गरेका थिए ।
मिडियाका प्रतिनिधिहरूले ग्रामीण नेपालमा मिडियालाई समाजले हेर्ने दृष्टिकोण नै धेरै फरक रहेको र सूचनाको स्रोत नै कम रहेकोले काम गर्न निकै असहज हुने गुनासो गरे। मिडियामाथि उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा उनीहरूले सरकारी लगायत अन्य संयन्त्रबाट सूचनाको प्रवाह उचित ढंगले भए सबै प्रभावकारी विषयको समाचार सम्प्रेषण हुने बताए ।

स्थानीय नीति निर्माण तथा कार्यान्वयनमा युवाको आवाजलाई संस्थागत गर्न युवा आफैले प्रभावकारी पहलहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याइ बारम्बार घच्घचाउन पर्ने, नागरिक समाजले युवाहरूलाई सम्बन्धित निकायसम्म पुग्नलाई मद्दत गर्नुपर्ने र मिडियाले युवाहरूका ती पहलहरूलाई स्थानीय एवं राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने निचोड कार्यक्रमले निकालेको छ ।

दायित्व नेपाल जन प्रशासन फेलोसिप २०२२ अन्तर्गतका २३ जना फेलोहरूले ६ वटा प्रदेशका २३ वटा पालिकाहरूमा विगत चार महिनादेखि पालिका अन्तर्गतका जन–अधिकारीहरू र स्थानीय सरकारका निर्वाचित प्रतिनिधिहरूलाई स्थानीय नीति निर्माणको लागि अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्दै आएका छन् ।


 


Author

थप समाचार
x