समाज

बलात्कारका घटनाले अभिभावकमा मनोवैज्ञानिक असर, साँघुरिँदै छोरीहरूको संसार

सृजना खड्का |
असार ३, २०७९ शुक्रवार ७:३० बजे

छोरीहरू स्कुलबाट फर्किनेबित्तिकै तपाईंहरू के सोध्नुहुन्छ ?
टिफिन खायौ ? के–के पढ्यौ ? वा आजको दिन कस्तो भयो ?
यस्तै–यस्तै सोध्नुहुन्छ होला हैन ?
तर, ललितपुर, एकान्तकुना बस्ने संगीता श्रेष्ठले आफ्ना दुई छोरीलाई सोध्ने प्रश्न अलि फरक छ । स्कुलबाट फर्किनेबित्तिकै हरेक दिन उनी छोरीहरूलाई सोध्छिन्– छोरी आज कसैले ब्याड टच त गरेन नि ? 

पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो बाहिरिन थालेपछि संगीता राम्रोसँग निदाउन सकेकी छैनन् । ससाना छोरीहरूलाई कसैले केही गर्ने पो हो कि भन्‍ने डरले उनलाई सताइरहन्छ । असुरक्षित महसुस भइरहन्छ । उनले भनिन्, ‘छोरीहरूलाई गुड टच र ब्याडटचबारे सिकाएकी छु । स्कुलबाट फर्किएपछि हरेक दिन कसैले ब्याड टच त गरेन नि भनेर सोध्छु । उनीहरू स्कुलबाट नफर्केसम्म तनाव भइरहन्छ ।’


यो आफ्नो मात्र नभएर आफूजस्ता थुुप्रै आमाको चिन्ता भएको संगीताले बताइन् । उनले भनिन, ‘राति छोरीहरू निदाइरहँदा म निदाउन सक्दिनँ । कसैले छोरीमाथि नराम्रो तरिकाले व्यवहार गर्यो कि भन्‍ने चिन्ताले सताइरहन्छ ।’ 

उनी छोरीहरूमाथि हिंसा भएका खबर पढ्दा झस्किन्छिन । उनलाई त्यतिबेला पीडित छोरीसँगै आमाको याद आउँछ । भन्छिन्, ‘आफूले जन्माएकी छोरीको मृत अनि रगताम्मे नग्न शरीर देख्दा आमालाई कस्तो हुन्छ होला ? त्यो कल्पना मात्रले शरीरमा काँडा उम्रिन्छन् ।’ 

०००
नयाँ बानेश्वर, थापागाउँ बस्ने ध्रुव लम्सालका पनि दुई छोरी छन् । कान्छी सात कक्षामा पढ्छिन् । जेठी यसै वर्ष एसईई दिएर बसेकी छिन् । एसईईपछि धेरैजसो साथीहरू ब्रिज कोर्स पढ्न जान्छन् । तर, उनी घरमै बसेर ब्रिज कोर्ससम्बन्धी किताब पढिरहेकी छिन् । ‘पछिल्लो समय बलात्कारका घटनाहरू सार्वजनिक हुन थालेपछि मलाई इन्स्टिच्युटहरूको भरै लागेन’ भन्दै ध्रुवले भने, ‘अबको एक महिनापछि छोरीलाई प्लस टु पढ्न पठाउनु पर्छ । यतिबेला मलाई कहाँ कस्तो पढाइ हुन्छ, कुन कलेजले कति पैसा लिन्छन् भन्दा पनि कुन कलेजमा कस्ता नियतका शिक्षक होलान् भन्‍ने चिन्ताले बढी सताएको छ ।’ छोरीले कलेजमा कस्ता साथी भेट्लिन् भन्‍ने चिन्ता पनि उनलाई उत्तिकै छ । 

तस्बिर : ‘आजाद मोर्चा’ फेसबुक पेजबाट

हिजोआज छोरी साथी वा आफन्तकहाँ निस्किँदा पनि ध्रुवलाई चिन्ता लाग्छ । उनले भने, ‘पहिला त्यस्तो चिन्ता लाग्दैनथ्यो, अहिले त कतै जाँदा ढिला भयो वा फोन उठेन भने चिन्ता लाग्छ । सानी छोरीलाई त झन् यौनको विषयमा केही जानकारी छैन । हिंसामा पर्दा कसरी प्रतिकार गर्ने पनि थाहा छैन । उसको झनै बढी चिन्ता लाग्छ ।’ 

०००
काठमाडौँ, नयाँ नैकापकी कविता अधिकारीलाई हिजोआज छोरीलाई स्कुल, कलेज, साथीभाइ, आफन्त कतै पठाउन मन लाग्दैन । दिनहुँजसो सञ्चारमाध्यमबाट बाहिरिने बलात्कारका घटनाले उनी पनि त्रस्त छिन् । ‘यतिबेला छोरी हुने आमाबुवालाई डरैडर–पिरैपिर छ,’ उनले सुनाइन्, ‘कतै जाँदा भनेको समयमा छोरी घरमा आइन भने मनमा नेगेटिभ कुराहरू खेल्न थाल्छ । नजिकैका आफन्तकोमा पठाउन पनि डर लाग्छ ।’

कविताकी छोरी प्लस टु पढ्ने तयारीमा छिन् । तर, उनलाई घरभन्दा टाढाको कलेजमा छोरी पठाउन मन छैन । ‘छोरीले घरभन्दा टाढाको कलेज रोजेकी छे,’ उनले भनिन्, ‘उसको बुवा मर्निङ वाक पठाउन डराउनुहुन्छ । किन पठाएको भनेर मलाई गाली गर्नुहुन्छ । जतिबेलै छोरीलाई केही भयो भने भन्‍नुहुन्छ ।’ आफू अफिस जानुभन्दा पहिला छोरी मर्निङ वाकबाट फर्किइनन् भने कविता दिनभरि ढुक्कले अफिस गएर काम गर्न सक्दिनन् । ‘घर आइपुगेपछि फोन गर है भनेर अफिस हिँड्ने गरेको छु,’ उनले सुनाइन्, ‘भन्‍न त म अब सानो छैन मेरो चिन्ता गर्नुपर्दैन भन्छे आफ्नो मन मान्दै मान्दैन । यो समय नै यस्तो हो कि मलाई मात्रै यस्तो सोच आएको हो थाहा छैन ।’

०००
काठमाडौँ, सामाखुसी बस्ने टुना भट्ट बलात्कारका घटना दिनहुँ बाहिरिन थालेपछि छोरीलाई ‘सेल्फ डिफेन्स’को तालिम दिन लागेकी छिन् । ‘बलात्कारका घटना बाहिर आइरहँदा आमाहरूमा चिन्ता बढ्नु स्वाभाविक हो,’ उनले भनिन्, ‘म पनि पहिलाभन्दा अलि बढी नै कन्सस भएको छु । छोरीलाई आफ्नो रक्षा आफैँ गर्न सक्ने बनाउने कोसिस गरिरहेको छु ।’ 

छोरीहरूलाई यौन दुर्व्यवहारबारे उनीहरूले बुझ्न सक्ने उमेरमा बुझाइहाल्नुपर्ने उनले बताइन् । ‘दुर्व्यवहार भन्‍ने थाहा नपाएर हामीले पनि दुर्व्यवहार भोग्यौँ होला,’ उनले भनिन्, ‘अहिले यौन दुर्व्यवहारका घटना खुलेर बाहिर आउनु भनेको दुर्व्यवहारलाई लिएर छोरीहरू सचेत हुनु हो । के सही, के गलत भनेर छुट्याउन सक्नु हो ।’ 

दुर्व्यवहारलाई कसरी ‘ह्यान्डल’ वा ‘डिफेन्स’ गर्ने भन्‍ने कुरा अभिभावकले बालकालिकालाई सिकाउनुपर्ने उनले बताइन् । ‘समाजले छोरालाई बलवान् र बुद्धिवान् सम्झन्छ भने छोरीलाई कमजोर र निर्भर बनाउन खोज्छ,’ उनले भनिन्, ‘यसमा छोरीहरूलाई बलियो बनाउन हामी अभिभावकको पनि भूमिका हुन्छ । हिजोआज सेल्फ डिफेन्सका तालिमहरू हुन्छन् । छोरीहरूलाई कमजोर होइन आफ्नो रक्षा आफैँ गर्न सक्ने बनाउनुपर्छ ।’

०००
खोटाङ्ग सालम्बुकी राधा बस्नेत अहिलेभन्दा पहिलेको समय सुरक्षित ठान्छिन । हाल ललितपुरको बागडोल निवासी ७९ बर्षीय उनले भनिन्, मेरा चार छोरीहरू मध्ये तीन जनाले डेढ घण्टाको बाटो हिँडेर स्कुल पढे । स्कुलबाट नफर्किउन्जेल जनावरले केही ग¥यो कि भन्‍ने डर लाग्थ्यो । अहिले त नातिनीहरू ढिलो आउँदा मान्छेले केही गरे कि जस्तो लाग्छ । हेर्दाहेर्दै मान्छेसँग मान्छे डराउनु पर्ने समय आयो । हाम्रो पालामा यस्तो थिएन ।’

सामाजिक‘थ्रेट’ले जन्माएको ‘अटोमेटिक थट’
मनोविद् डा. विजय ज्ञवाली यौन दुर्व्यवहारका घटना बाहिरिएपछि छोरीलाई लिएर अभिभावक चिन्तित हुनुलाई ‘अटोमेटिक थट’का रूपमा परिभाषित गर्छन् । ‘अभिभावकको त्यो विचारलाई नकारात्मक, साँघुरो मानसिकता भन्‍न मिल्दैन,’ उनी भन्छन्, ‘शिक्षित आमाबुवाकै केसमा पनि समाजमा यस्ता घटना बढ्न थालेपछि अटोमेटिक रूपमा यस्ता विचार उत्पन्‍न हुन्छन् ।’

मनोविद् डा. विजय ज्ञवाली ।
अविभावकमा उब्जिएको त्रासलाई सामाजिक थ्रेटले जन्मिएको अटोमेटिक थटको रूपमा व्याख्या गर्दै उनले भनें, ‘घटनाहरू बढ्न थालेपछि अभिभावक यो लगाऊ, त्यो नलगाऊ, यहाँ जाऊ, त्यहाँ नजाऊ, होस्टल नबस, टाढाको क्याम्पसमा नपढ, कसैको बाइक नचढ भन्‍न थाल्छन्’ । 
 
अभिभावकमा देखिएको यो मानसिक त्रासको जड दण्डहीनतासँग जोडिएको उनी बताउँछन् । ‘यौन दुर्व्यवहारका घटनामा न्याय पाउँदा, शून्य सहनशीलता लागू हुँदा अभिभावक केही हदसम्म भए पनि राहत महसुस गर्छन् भन्दै उनले भनें ‘दोषीले सजाय पाउने वातावरण मात्रै निर्माण भयो भने पनि अभिभावकले निकै सुरक्षित महसुस गर्छन् ।’

डा.ज्ञावालीका अनुसार छोरीहरूलाई असुरक्षित भए भन्दै घरभित्र सीमित गर्न खोज्नु उडिरहेको चरालाई पिँजडामा हाल्नुजस्तै हो । यस्तो व्यवहारले उनीहरूमा भएको क्षमता प्रष्फुटन हुन पाउँदैन । उनीहरूको आत्मविश्वास घट्छ । यसले अन्तिममा छोरीहरूलाई नै असर गर्छ ।छोरीलाई संरक्षण गर्नुभन्दा पहिला छोरालाई असल व्यवहार गर्न सिकाउनु पर्छ । अभिभावकको व्यवहार छोरीलक्षित मात्र हुनुहुँदैन छोरालाई पनि सिकाउनुपर्छ । यौन हिंसाबारे दुवैलाई जानकारी दिनुपर्छ । छोरीलाई असुरक्षाको डर देखाउने अभिभावकले छोरालाई दण्डसजायको डर पनि देखाउनुपर्छ । 

अन्तरङ्ग साइकोसोसल रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटकी कार्यक्रम निर्देशक मनोविद् सुषमा रेग्मी यो विषयलाई ‘प्यारेन्टिङ’सँग जोडेर हेर्नुपर्ने बताउँछिन् । ‘बच्चा जन्माएर मात्र हुँदैन, अभिभावकत्व निर्वाह गर्नु पनि ठूलो जिम्मेवारी हो,’ उनी भन्छिन्, ‘कस्तो वातावरणमा हुर्काउने, कस्तो शिक्षा दिने, कसरी सुरक्षित हुन सिकाउने भन्‍ने कुरा प्यारेन्टिङसँग जोडिएको हुन्छ ।’

 

हिंसाका घटनामा कसरी प्रतिवाद गर्ने भन्‍ने कुरामा कतिपय अभिभावक नै अनभिज्ञ भएको मनोविद रेग्मीले बताइन । ‘हिंसामा पर्दा के गर्ने भन्‍ने अभिभावकलाई थाहा नहुँदा बालबालिकालाई उनीहरूले सिकाउन सक्दैनन् भन्दै उनले भनिन ‘अभिभावकले आफ्ना बच्चालाई नचिनेको मान्छेसँग कसरी बोल्ने, कति बोल्ने, सेल्फ डिफेन्स कसरी गर्ने जस्ता कुराहरू सिकाउनुपर्छ । दुर्व्यवहार घरबाहिर मात्रै हुन्छ भनेर सिकाउनु पनि गलत हो । दुर्व्यवहार आफ्नै घरभित्र पनि हुन सक्छ भनेर सचेत गराउनुपर्छ ।’
मनोविद् सुषमा रेग्मी ।
बाहिरी वातावरणको नियन्त्रण आफ्नो बसमा नहुँदा अभिभावकले बालबालिकालाई नियन्त्रण गर्न थाल्ने उनी बताउँछिन् । यस्तो अवस्थामा बालबालिकालाई खुम्च्याउनुको सट्टा सुरक्षित र असुरक्षित वातावरणबारे जानकारी दिनुपर्ने उनको धारणा छ । 

डरलाग्दो तथ्याङ्क
आर्थिक वर्ष २०७७÷७८ मा १८ वर्षमुनिका १६ सय ६५ जना बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकमा छ । जसमध्ये १० वर्षमुनिका ३ सय ५ जना बालिका छन् भने ११ देखि १६ वर्षसम्मका १ हजार १६ जना बालिका भएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, १७ देखि १८ वर्षका ३ सय ४४ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । 

यस आर्थिक वर्षको १० महिनामा १८ वर्षमुनिका १२ सय ४८ बालिका बलात्कृत भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये १० वर्षमुनिका २ सय २१ बालिका रहेका छन् भने ११ देखि १६ वर्षसम्मका ७ जना ६२ जना बालिका बलात्कृत भएको देखिन्छ । त्यस्तै, १७ देखि १८ वर्षका २ सय ६५ बालिका बलात्कृत भएको तथ्यांकमा उल्लेख छ ।

सुरक्षाको नाममा खुम्चिने डर 
क्लिनिकल मनोविद् डा. ज्ञवाली अभिभावकमा देखिएको बेचैनीले समाजको सुरक्षा र कानुनी प्रणालीप्रति उनीहरूको विश्वास उडेको संकेत गर्ने बताउँछन् । यो विषयलाई तीन तरिकाले केलाउन सकिने बताउँदै उनले भनें, पहिलो, बलात्कारका घटनामा समाजले कसरी प्रतिक्रिया जनाउँछ ? दोस्रो, परिवारमा कत्तिको ‘जेन्डर कम्युनिकेसन’ हुन्छ र तेस्रो, बलात्कारका पीडकलाई कस्तो दण्ड–सजाय भइरहेको छ ?

यौन हिंसाका घटनामा समाजले जनाउने प्रतिक्रियाले अभिभावकको मनोविज्ञानमा असर पार्ने उनी बताउँछन् । । ‘अहिले जति व्यक्ति ‘मिटू’को केसमा मुछिएका छन् उनीहरूलाई समाजले कस्तो प्रतिक्रिया जनाउँछ त्यसले पनि महत्वपूर्ण भूमिका खेल्छ,’ उनी भन्छन्, ‘तर, नेपालमा नाबालिकलाई बलात्कार गरेको घटनामा पनि विचार बाँडिएको छ । आरोपीको पक्षमा पनि मानिसहरू उभिएका छन् । यो अभिभावकलाई ‘थ्रेट’ हो । यसले आफ्ना बच्चा दुर्व्यवहारमा परे पनि अभिभावक लुकाउन, दबाउन थाल्छन् ।’

मनोविद् रेग्मी बालबालिकालाई स्वतन्त्रता पनि दिनुपर्ने र सुरक्षित हुन पनि सिकाउनुपर्ने बताउँछिन् । ‘बालबालिका कसैलाई नियन्त्रणमा बस्न मन पर्दैन,’ उनी भन्छिन्, ‘नियन्त्रणमा राख्दा उनीहरूको चौतर्फी विकास हुन पाउँदैन । किशोरावस्था भनेको खोजिनिती गर्ने, संसार चिन्‍ने उमेर हो । नियन्त्रणमा हुनेबित्तिकै धेरै कुरा जान्‍न, बुझ्नबाट वञ्चित हुन्छन् ।’ 

बाहिरी दुनियाँमा आफ्नो क्षमता उजागर गर्न नपाउँदा बालबालिकामा मानसिक समस्या देखिन सक्ने उनी बताउँछिन् । ‘खान मन नलाग्ने, निद्रा नलाग्ने, रिसाउने हुन थाल्छ,’ उनी भन्छिन्, ‘कतिपयलाई डिप्रेसन र एन्जाइटी नै हुनसक्छ । तनावका कारण बर्बराउने, बेहोस हुने, टाउको÷पेट दुख्ने, बान्ता र एलर्जी हुने जस्ता लक्षणहरू पनि देखिन्छन् ।’

अहिलेको समय अभिभावकका लागि कठिन समय भएकाले चलाखीपूर्ण तरिकाले उनीहरूलाई ‘ह्यान्डल’ गर्न मनोविद् रेग्मीको सल्लाह छ । छोराछोरी कहाँ, कोसँग, के गरिरहेका छन्, कसको संगतमा छन् थाहा पाउनुपर्छ, भन्दै उनले भनिन, ‘मुख्य कुरा उनीहरूलाई सुन्‍नुपर्छ, विश्वास गर्नुपर्छ । संरक्षण वा नियन्त्रण नै समस्याको समाधान होइन ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x