समाज

वीरेन्द्रनगरका महिला भन्छन्- हामी प्याड बनाउँछौ, बजारीकरण गरिदिनुहोस्

लक्ष्मी भण्डारी |
असार ५, २०७९ १३:७ बजे

सुर्खेत - समुदायमा महिनावारीको समयमा महिलामा हुने विभेद छरपस्टै थिए । त्यसैले वीरेन्द्रनगर वडा नम्वर १२ का महिलाहरूले महिनावारीको उचित व्यवस्थापनको क्षेत्रमा काम गर्ने सोच बनाए । उनीहरू महिला समूहमार्फत महिनावारी स्वच्छतासम्बन्धी सचेतनात्मक कार्यमा लागे । 

त्यतिमात्र होइन मुख्य समस्या भनेको महिनावारीको समयमा प्रयोग गरिने सफा प्याडको अभाव हो भन्ने उनीहरूलाई लाग्यो । फोहोर र झुथ्रो कपडाले महिला तथा किशोरीको स्वास्थ्यमा नकारात्मक असर परेको ठहर गरे । उनीहरू प्याड बनाउने अभियानमा लागे । 


१९ जना महिलाहरू समूहमा बसेर  प्याड बनाउन थाले । सुतीको कपडाबाट उनीहरू प्याड बनाएका छन् । गत वर्ष वडा कार्यालय र नगरपालिकाले उनीहरूलाई प्याड बनाउने तालिम प्रदान गरेपछि समूह गठन गरेर प्याड बनाउन थालेका हुन् । 

उनीहरूले महिला उद्यमशील उद्योग निर्माणगरी प्याड बनाउन सुरु गरेका हुन् ।  त्यतिमात्र होइन आफूले तालिम सिकेर अन्य महिला समूहमा पनि तालिम दिएको महिला उद्यमशिल संस्थाका सदस्य विष्णुकुमारी हमालले बताइन् । 

‘हामीलाई अहिले विद्यालय र अन्य संस्थाहरूले पनि तालिम दिनलाई बोलाउनुहुन्छ । त्यहाँ गएर पनि हामीले तालिम सिकायौ’ हमालले भनिन्, ‘वीरेन्द्रनगरका ठूला संस्था र नगरका १६ वटै वडाका विद्यालयमा गएर पनि हामीले तालिम सिकायौ ।’

घरमै भएका कपडाहरूलाई मिलाएर पनि प्याड बनाउन सकिने भएकाले उपयोगी रहेको उनको भनाइ छ । यसरी बनाएको प्याड  एक पटक प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोग गर्न मिल्ने खालको छ । 

‘महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताको विषयमा सचेतनाका कार्यक्रम गर्न थाल्यौँ’ हमालले भनिन्,  ‘महिनावारी हुँदा सबैसँग प्याड किन्ने क्षमता पनि हुँदैन त्यसैले फोहोर कपडा राख्दै आएका थिए दिदीबहिनीहरूले ।’

महिलाले महिनावारी हुँदा हुने रक्तश्रावलाई बाहिरी कपडामा लाग्न नदिन सुरक्षित र व्यवस्थित तरिकाले कस्तो प्याड प्रयोग गर्नु उपयुक्त होला ? भन्ने विषयमा छफल पछि उनीहरूले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने योजना ल्याए ।

‘बजारमा सेनेटरी प्याड आएको थियो । तर सबै महिलाहरूले किन्न नसक्ने, कतिलाई प्रयोग गर्न नै नआउने । शहरी क्षेत्रमा प्याड भए पनि ग्रामिण क्षेत्रमा त प्याडबारे मानिसहरूलाई थाहै थिएन,’ उनी भन्छिन् ‘यही वीरेन्द्रनगरमा पनि प्याडबारे थाहै थिएन, त्यसैले महिनावारी सचेतनाका लागि सुरक्षित प्याडबारे पनि जानकारी दिनुपर्छ र त्यसका लागि प्याड पनि चाहिन्छ भनेर प्याड बनाउने योजना बनायौं ।’ 

उक्त योजनाका साथ अगाडि बढेका महिलाहरू प्याडको उचित बजारीकरण नहुँदा भने समस्यामा छन् । कटनको कपडा प्रयोग गरेर निर्माण गरेको प्याड बजारका प्याडसँग प्रतिस्पर्धा गर्न नसकेको हमाल बताउँछिन् । ‘हामीले बनाएका प्याड बजारको भन्दा गुणस्तरको छ र पुनः प्रयोग गर्न पनि मिल्ने खालको छ, एक पटक किनेपछि ६ महिनासम्म प्रयोग गर्न मिल्छ’ उनी भन्छिन्, ‘यस हिसाबले हेर्दा हामीले बनाएको प्याड धेरै सस्तो हो तर यस विषयमा बुझाउन बाँकी छ ।’

बजारमा पाइने एक प्याकेट प्याडलाई ५० देखि एक सय रुपैयाँ पर्दछ । जुन् हरेक महिना एक जना महिलालाई एक प्याकेट चाहिन्छ । समूहले उत्पादन गरेको प्याड एक सयदेखि डेढ सय रुपैयाँ पर्दछ । एक जनालाई तीन वटा पीस प्याड भएमा ६ महिनासम्म पुग्छ । यसरी हेर्दा महिला समूहले निर्माण गरेको प्याड नै सस्तो पर्न जान्छ । 

त्यतिमात्र होइन बजारमा पाइने प्याड एक पटक प्रयोग गरेर फाल्ने भएको कारण वातावरण प्रदुषित बन्छ । महिला समूहले बनाएको प्याड प्रयोग गरेमा वातावरण पनि सफा रहने र फोहोर व्यवस्थापनमा सहज हुने देखिन्छ । 

समूहका अर्का सदस्य भिमु रोकायले पनि नगरपालिकाले बजार व्यवस्थापनमा सहयोग गरेमा आफूहरू प्याड उत्पादन गर्न तयार रहेको बताउँछिन् । ‘हामी प्याड उत्पादन गर्न तयार छौ बजारिकरण गरिदिनुहोस्’ उनी भन्छिन्, ‘बजारीकरण नहुँदा हामीले बनाएका प्याड थन्किएका छन् । ’ पाँच सय भन्दा बढी पीस प्याड समूहमा थन्किएको उनले बताइन् । 

वीरेन्द्रनगर नगरपालिका र वडा नम्वर १२ को सहकार्यमा वडामा प्याड बनाउने पाँच दिनको तालिम दिइएको थियो । तालिम पछि महिलाहरू उत्साहित हुदै प्याड निर्माण गरे । त्यतिमात्र होइन उनीहरू अन्य समूह तथा संस्थामा गएर तालिम सिकाय । उनीहरूलाई अब आवश्यकता भनेको बजारीकरणको मात्र छ । यता नगरपालिकाका कार्यपालिका सदस्य यमुना नेपालीले बजारीकरणलाई जोड दिन सकेमा महिलाहरू स्वरोजगार हुने बताइन् । वडा अध्यक्ष चुडामणी चपाईले महिला समुहले उत्पादन गरेको प्याड गुणस्तर राम्रो भएपनि बजारमा प्रतिस्पर्धा गर्न नसकेका कारण थन्किएको बताए । यसलाई अब बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि निर्माण र बजारीकरणमा जोड दिनुपर्ने उनको भनाई छ । 

सरकारले जारी गरेको मर्यादित महीनावारी सम्बन्धी राष्ट्रिय नीति, २०७५ को उद्देश्यमा समाजमा व्याप्त महीनावारी सम्बन्धी गलत बुझइ निर्मूल पार्ने, महीनावारी व्यवस्थापनका लागि आधारभूत सेवा–सुविधाको उपलब्धता र पहुँच बढाउनेलगायत उल्लेख छन् । नीतिमा यस्ता प्रावधान भए पनि सरकारी निकायसँग यस्ता कार्यक्रम गर्ने कुनै चासो नै छैन ।



Author

थप समाचार
ad
x