समाज

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

इकागज |
असार ५, २०७९ आइतवार १३:४० बजे

तस्बिर सौजन्य : हिमशिखर टेलिभिजन

झापा - भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफिन बनाउन कुँवरलाई अर्डर दिन भने । संयोग पनि कस्तो ! जब कफिन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफिन तयार भएको केही घण्टामै उनको निधन भयो ।

‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्‍यो भन्नुभयो । अडर पनि गरियो । उहाँले नै एडभान्स २० हजार रुपैयाँ दिनुभयो । सिसासहितको कफिनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उनी भन्छन्, ‘उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो (शनिबार) तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा. राईको कोठामा बास राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’


भुटानी शरणार्थी नेता डा. राईको ७२ वर्षको उमेरमा शनिबार राति विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो । डा. राई भुटानमा भुटानी राजपरिवारका डाक्टर थिए । उनी भुटानकै पहिलो सर्जन डाक्टर हुन् । उनलाई अन्य नेपालीभाषी भुटानीजस्तो नेपाल आउनैपर्ने बाध्यता थिएन । तर, नेपालीभाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आएका हुन् । १९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । नेपालीभाषी दाजुभाइसँगै उनी नेपाल आएका थिए । उनी बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।

भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उनको आन्दोलन कमजोर थियो । भुटान फर्कने उनको सपना अधरै रह्यो । भुटानप्रति उनको माया असाध्यै थियो । उनको क्लिनिकको टेबलमा भुटानको झण्डा सधैँ हुन्थ्यो । तर, देशले उनलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आएका भुटानी शरणार्थी नेता डा. राई देशविहीन भएर अस्ताए । भुटानी शरणार्थीहरू अभिभावक गुमाउन परेको बताउँछन् । डा. राईका बुबा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उनका सन्तान छैनन् । उनले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गरे ।


Author

थप समाचार
x