समाज

नीति तथा कार्यक्रम

विपन्‍न नागरिकलाई नि:शुल्क बेड, महानगरसँगै छैन तथ्यांक

अतिन आचार्य |
असार ६, २०७९ सोमबार १२:१२ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले आइतबार महानगरपालिकाको एघारौं नगरसभा बैठकमा स्थायी बसोबास भएका विपन्न नागरिकलाई अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध गर्ने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

विपन्न नागरिकका लागि महानगरपालिकाले अस्पतालमा निःशुल्क बेड उपलब्ध गराउने व्यवस्था मिलाउने उनले घोषणा गरे । विपन्न नागरिकलाई अस्पतालमा नि:शुल्क बेड उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनमा चुनौती बन्ने देखिएको छ ।


नीति तथा कार्यक्रममा कति संख्यामा विपन्न नागरिक छन् त्यसबारे केही उल्लेख छैन । कुन-कुन अस्पतालमा सेवा पाउने हो त्यो पनि प्रष्ट छैन । महानगरभित्र बसेका कस्ता मानिसलाई विपन्‍न नागरिक भन्ने त्यो पनि अस्प्रस्टछ ।

अर्को कुरा महानगरमा कति विपन्न नागरिकको बसोबास छ भन्ने विवरण नै महानगरसँग छैन । महानगरमा विपन्न नागरिकको संख्याको तथ्यांक राख्‍न सर्भेक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य महाशाखाका प्रमुख बलराम त्रिपाठीले बताए ।

उनले भने,' प्राविधिक कारणले गणना हुन सकेको छैन । सबै प्रक्रिया पूरा भएपछि गणना सुरु गरिन्छ ।' विपन्नलाई पहिचान गर्नका लागि महानगरले परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

नीति तथा कार्यक्रमका केही बुँदा संशोधन गर्ने कुरा भइरहेको त्रिपाठीले जानकारी दिए । 'नीति तथा कार्यक्रममा गर्न सकिने बुँदाहरू मात्र प्रस्तुत भएका हुन्, पास भएपछि सबै कुराहरू लागू हुन्छ,' उनले थपे,' कार्यक्रम लागूमा महानगरले विपन्नलाई अस्पतालमा निशुःल्क बेड उपल्बध गराउछ ।'

महानगरभित्रका ठूला निजी तथा सरकारी अस्पताल संघीय सरकारको मातहतमा छन् । २५ बेडदेखि माथिका अस्पताल संघीय, १५ बेड माथिका प्रदेश र १५ बेड भन्दा कम अस्पताल महानगरको मातहतमा रहने गरेको छ ।

एक विद्यालय एक नर्स लागू गरिने

विद्यालय एक नर्सकोसमेत व्यवस्था गरिने शाहले जानकारी दिए । स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकताअनुसार विस्तार गर्दै लगिने उनले बताए ।महानगरभित्र एकीकृत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने पनि उनले बताएका छन् । महानगरभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाको अभिलेख समेत गर्ने भएको हो ।

शाहले आयुर्वेद उपचार पद्धतिलाई प्रवर्द्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गर्ने समेत जनाए । उपत्यका भित्रका निजी तथा सरकारी अस्पतालसँग समन्वय गरी सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्थासमेत मिलाउने उनले बताए ।

नागरिक आरोग्यता प्रवर्द्धन गर्न उपयुक्त आहार, विहार, ध्यान, योग, प्राणायामा आदिबारे सचेतना कार्यक्रम सञ्चालन गरी महानगरबासीलाई निरोगी बनाउन प्रोत्साहित गरिने उनले बताए ।

क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरू होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग गराइने उनको भनाइ छ ।

'महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ,' मेयर शाहले भने,' बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान महानगरले उपलब्ध गराउने छ ।'

महानगरबासीहरूको स्वास्थ्य सेवा प्रबर्द्धन गर्न सहरी स्वास्थ्य क्लिनकहरूलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने उनले बताए । शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइने उनको भनाइ छ ।

स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिने शाहले जानकारी दिए ।

 महानगरको सबै वडामा विपन्न नागरिकको बसोबास छ । कति संख्यामा विपन्न नागरिक छन् त्यसको तथ्यांक हालसम्म महानगरले राख्‍न सकेको छैन । 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x