समाज

मानिसको सबैभन्दा पुरानो साथीको दुर्दशा

उपत्यकाका सडकमा एक लाख बढी छाडा कुकुर, व्यवस्थापन चुनौतीपूर्ण

इकागज |
असार ६, २०७९ २१:३३ बजे

काठमाडौँ - मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर। तर कोरोना महामारीका बेलामा आफूलाई संकट आएपछि काठमाडौँ उपत्यकामा धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिए ।

कोभिड महामारी अगाडिको एक तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाका सडकहरूमा एक लाखभन्दा बढी छाडा कुकुर भौतारिरहेका छन्। कोरोनाको समयमा रोग सङ्क्रमणको त्रास, कुकुरको उपचार र खानेकुराको अभाव, अकस्मात् सहर नै छाडेर बाहिरिनु पर्ने दबाब जस्ता अनेकन कारणले मानिसहरूले आफूले पालेका कुकुरलाई सडक छाडिदिए। यतिबेला कति कुकुर सडकमा भौतारिएका छन् कसैलाई पनि थाहा छैन। तर कुकुरको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुकुरले टोकेपछि भ्याक्सिन लगाउन बिरामीहरू अस्पताल आउनेको संख्या पछिल्लो एक वर्षमा निकै बढेको छ। 'अस्पतालमा महिनामा झन्डै १८ हजार बिरामी कुकुरको टोकाइपछि उपचार र भ्याक्सिनका लागि आउने गरेका छन्', डाक्टर पुनले भने, 'खोप लगाउन आउने यस्ता बिरामीमध्ये ८० प्रतिशत काठमाडौँ उपत्यका भित्रकै हुन्छन्। एक वर्षमा टेकु अस्पतालमा करिब दुई लाख जनाले रेबिज विरुद्धको भ्याक्सिन लगाएका छन्।' यो संख्या हरेक वर्ष पाँच हजार भन्दा बढी थपिइरहेको डा. शेरबहादुर पुनले बताए ।

'मान्छेले कुकुरलाई बिच्काउने, कुकुरले मान्छेलाई टोक्ने' यो घटनाक्रममा सबैभन्दा बढी महिला तथा बालबालिका पर्ने गरेका छन्। बालबालिकाले अन्जान मै कुकुरलाई जिस्काउने र चलाउने गर्दा  धेरै घटना भएको छ,' डाक्टर पुनले भने, ‘पैदलयात्री, साइकल तथा मोटरसाइकल यात्रीलाई पनि छाडा कुकुरले झम्टिने गरेको देखिन्छ।'

यसको उदाहरण काठमाडौं महानगरपालिका -९ स्थित सेतो पुलको सेतो गणेश मन्दिरसँगै तरकारी तथा फलफूल बेच्ने ७० वर्षीया कान्छीमाया गुरुङ हुन्। कोरोना महामारीका क्रममा कसैको घरबाट परित्याग गरिएको कालो कुकुर गणेश मन्दिरको आडमा बस्न थाल्यो। त्यसलाई कान्छीमायाले नै रेखदेख गरिरहेकी थिइन्। तर एक दिन सबेरै मन्दिर सफा गर्न जाँदा त्यही कुकुरले उनलाई टोक्यो। अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएर नियमित भ्याक्सिन लगाई रहेकी छीन्। दायाँ गोडाको पिँडुलामा कुकुरले टोकेको घाउ निको हुँदैछ। तर पनि उनले आफूलाई टोक्ने कुकुरलाई हेरचाह गरिहेकी छिन् ।

पशु कल्याण संघले काठमाडौं उपत्यकाका सबै महानगर तथा नगरपालिकासँग उपलब्ध तथ्याङ्कका आधारमा करिब एक लाख सामुदायिक कुकुर उपत्यकाभित्र भौतारिइरहेको विवरण बाहिर ल्याएको थियो। जसको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ। मनुमित्रकी अभियन्ता संगीता सापकोटाले काठमाडौँ महानगरसँगको सहकार्यमा १६ हजार भन्दा बढी सामुदायिक कुकरको स्थायी बन्ध्याकरण गरिसकिएको र अहिले पनि अभियान चलिरहेको बताइन्।

उपत्यकामा कुकुर बन्ध्याकरण अभियान निरन्तर चलाइए पनि कोरोना महामारीको समयमा सहरमा हजारौं बयस्क कुकुरको संख्या थपिएको छ। 'कोरोनाको समयमा उपत्यकामा बयस्क र आक्रामक कुकुरको संख्या बढेको हो। त्यसैले कुकुरको टोकाइबाट हुने बिरामीको चाप अस्पतालमा थपिइरहेको हुनसक्छ', सापकोटाले भनिन्।

तथ्यांकअनुसार काठमाडौंको भित्री शहरी भागमा भन्दा बाहिरी क्षेत्रमा अहिले बढी सामुदायिक कुकुरको समस्या देखिएको छ। सामुदायिक कुकुरहरू एउटा निश्चित क्षेत्रमा मात्रै बस्ने भएकाले भित्री सहरमा निकै थोरै मात्रै बाँकी छन्, तर चक्रपथ बाहिर निरन्तर घुमन्ते कुकुरको चाप बढिरहेको छ। काठमाडौंमा प्रति किलोमिटर सडकमा औसत २२ वटा सामुदायिक कुकुर भेटिने गरेको तथ्यांक छ। हरेक दिन छाडा कुकुरले टोकेका ५ सय देखि ७ सयसम्म  जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि पुग्छन्।

कुकुरको उपचार तथा उद्धारमा समस्या

सार्वजनिक स्थानमा छाडा कुकुरको संख्या बढेपछि स्थानीय बासिन्दाको माग अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले गएको साता नगर क्षेत्रमा ३ दिनसम्म सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान चलायो। शुक्र भेट डिस्ट्रिब्युटर नामको संस्थाले मध्यपुर थिमी नगरपालिकाको वित्तिय सहयोगमा तीन दिनसम्म चलाएको बन्ध्याकरण तथा रेबिज भ्याक्सिन लगाउने कार्यक्रममा झण्डै पाँच सय कुकुरको उपचार सम्भव भएको छ। अभियानमा संलग्न सबी श्रेष्ठले मध्यपुर थिमीको वडा नं. ७, ८ र ९ मा डा. अर्जुन अर्याल, डा. नवीन श्रेष्ठ लगायत अन्य चार चिकित्सक, ४ प्राविधिक सहित १४ जनाको टोलीले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरिएको बताए। मध्यपुर थिमी नगरको यो अभियानपछि भक्तपुरका बाँकी नगरपालिकाले पनि चासो देखाएका छन्। यता काठमाडौं महानगरपालिकामा भने पटक पटक चलाइएका यस्ता अभियानले पनि छाडा कुकुरको संख्या घटेको छैन।

बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी छाडा कुकुरहरू बढी आक्रामक हुने र टोकाइका घटना बढ्ने चिकित्सकहरू बताउँछन्। पैदल यात्रीले हिँडडुल गर्दा त्यस्ता कुकुरलाई जिस्क्याउने, सवारी साधनले ठक्कर दिएर हिँड्ने गर्दा त्यसैको रिस कुकुरले महिला तथा बालबालिकालाई बढी पोख्छन्। छाडा कुकुरको संख्या घटाउन  काठमाडौं महानगरपालिका र पशु स्वास्थ्य कार्यालयले विशेष अभियान नै चलाउनु पर्ने अभियन्ता सापकोटाको सुझाव छ।

सडकमा भौँतारिएर हिँड्ने धेरै कुकुर नियमित उपचारको पहुँचबाट पर छन्। यसको अर्थ यस्ता कुकुरको टोकाइबाट मान्छेमा घातक रेबिजको संक्रमण हुनसक्छ। रेबिज लागेपछि उपचार असम्भव हुन्छ, कुकुरले टोकेपछि सम्भव भएसम्म चाँडो अस्पताल पुग्नुपर्छ र नियमित परीक्षणसँगै भ्याक्सिन लगाउनुपर्छ, सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनको सुझाव छ।

विभिन्न संस्थाले निकालेको तथ्याङ्ककै आधारमा महानगरले छाडा कुकर नियन्त्रण शीर्षकमा वार्षिक १३ लाख रुपैयाँ भन्दा बढी खर्च गरिरहेको हुन्छ। तर कुकरको टोकाइबाट उत्पन्न जोखिम र मानवीय हताहती उस्तै छ। टेकु अस्पतालको मात्रै तथ्यांक हेर्दा काठमाडौँमा वर्षेनि रेबिज, टिटानसजस्ता रोग लागेर औसतमा २० जनाले ज्यान गुमाइरहेका छन्।

छाडा कुकुरको समस्या जटिल बनेपछि महानगरपालिकाले गएको वर्ष सिंहदरबारभित्रका कुकुर बन्ध्याकरण अभियान चलायो। काठमाडौं महानगरपालिका १० ले पनि मनुमित्र संस्थासँग सहकार्य गरेर सामुदायिक कुकुर संख्या नियन्त्रण गर्‍यो। तर चोक चोकमा हरेक दिन नयाँ नयाँ कुकर देखिने गरेका छन्।

पशु सेवा विभागका प्रमुख अवधेश झाले महानगर भित्र भेटिएका १८ हजार कुकुरको बन्ध्याकरण गरिसकिएको बताए। 'हरेक दिन उपचार चल्छ र हरेक दिन नयाँ नयाँ कुकुर थपिन्छन्', झाले भने 'घरमा कुकुर पाल्ने तर रहर पुगेपछि, समस्या आएपछि सडकमा लखेट्ने मान्छे कै कारण निस्केको समस्या हो।'

'घरबाट सडकमा निस्केका कुकुरले जब उचित खानपान र स्याहार  पाउँदैन तब बढी आक्रामक बन्छन्', झाले भने 'यस्ता सामुदायिक कुकुरको उचित रेखदेख तथा संरक्षण गर्ने निकाय नै तोकिनुपर्छ। कुकुर सडकमै मरेका हुन्छन्, दुर्गन्ध फैलिएको हुन्छ, आपसमा झगडा गरेर बिरामी भएका र रोगले ग्रस्त बनेका कुकरले धेरै बालबालिकालाई टोक्छन्, यो ठूलो समस्या हो,' उनले भने।

पशुसेवा विभागका अनुसार, सडकमा छाडा कुकुरले छाडा चौपायालाई पनि टोकेको हुन्छ तर कुकुरको टोकाइबाट बिरामी भएका र मरेका चौपायाको विवरण कतै छैन। त्यस्ता चौपाया कहाँ लगेर फालिन्छ र त्यसको सीनोबाट थप कति कुकुर तथा चराचुरुङ्गीमा संक्रमण फैलिन्छ भन्ने पनि विवरण छैन। यो भुस्याहा कुकुर, छाडा कुकुर अथवा सामुदायिक कुकुरबाट सृजित झन् डरलाग्दो समस्या हो। यशोदा भण्डारी​/आइएनएस-स्वतन्त्र समाचार



Author

थप समाचार
ad
x