समाज

'सहकार्य र समन्वयले मात्र महानगरको विकास सम्भव हुन्छ'

इकागज |
असार ६, २०७९ सोमबार २१:४६ बजे

काठमाडौँ- सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहना अनुसार महानगरको विकास सम्भव हुने बताइएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरू गर्नुपर्ने धारणा राखेका हुन् । 


कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ-आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्‍न नपर्ने धारणा राखे । प्रमुख साहले भने, 'विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्‍न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ ।'

कार्यक्रममा काठमाडौँ उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्‍न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।     

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्‍न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्‍न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । 


Author

थप समाचार
x