समाज

पूर्वसचिव कायस्थको अनुभवः जागिरे जीवनकालमा यस्तो बेथिति कहिल्यै देखिनँ

इकागज |
असार ७, २०७९ मंगलबार १२:३५ बजे

काठमाडौँ- राहदानी विभागमा राहदानी र जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड पनि दैनिक देखिन्छ । कार्यालयमा समयमै पुगेकाले सेवा नपाउने र घण्टौँ लाइन बस्दासमेत सेवाग्राहीले सास्ती पाउने गरेका छन् ।

लाइन नबसेसम्म कुनै पनि सेवाग्राहीले कार्यालयबाट सेवा पाउँदैनन् । लाइनमा रहेका ज्येष्ठ नागरिकलाई बेवास्ता गरी समयमा सेवा प्रवाह नगर्ने पाइएको छ ।


पूर्वसचिव शम्भुशरणप्रसाद कायस्थ राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगे । उनले सहजै सेवा पाएनन् । दुई दिनदेखि लगातार कार्यालय धाउँदा पनि उनले सेवा नपाएको गुनासो गरे ।

'यस्तो अचाक्ली कहिले देखेको थिइनँ । हन्डर कहिल्यै खाएको थिइनँ,' कायस्थले इकागजसँग भने, ‘यस्तो बेथिति पनि मैले जागिरे जीवनकालमा देखेको थिइनँ । राष्ट्रिय परिचयपत्र लिन लडाईं लड्नुपर्ने यो कस्तो विचित्रको मुलुक बनेछ ?'

उनी सरकारी सेवामा ४३ वर्ष, प्रशासनिक प्रशिक्षण केन्द्रका अध्यक्ष, पूर्व राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार भइसकेका छन् । ८१ वर्षीय कायस्थ प्रश्न गर्छन्, ‘यसरी दुनियाँलाई दुःख दिएर राज्य चल्छ ?' उनी राष्ट्रिय परिचयपत्र बनाउन आइतबार र सोमबार दुई दिन आठ घन्टा लाइन बसे ।

‘मैले सरकारी सेवामा ५० वर्ष जति काम गरेँ । यस्तो भद्रगोल त मैले कहिल्यै देखेको थिइनँ, दुई दिनमा जस्तो मैले देखेँ– बिजोग छ, बिजोग’, कायस्थले भने, ‘त्यस्तो बिजोग स्थिति देखेपछि लोकतन्त्र कसरी जीवित रहन्छ ? नागरिकलाई दुःख दिने लोकतन्त्र हामीले खोजेको हो र ?’

सरकारबाटै यसरी दुःख पाउँदा ज्यादै ग्लानि बोध भएको उनी बताउँछन् । ‘यस्तो हुन्छ भन्ने मैले सोचेको पनि थिइनँ’, उनी भन्छन्, ' यस्तै हुँदै गयो भने मानिसले विद्रोह गर्छन् । कोही भोलि विदेश जानुपर्ने, कोही पर्सि जानुपर्ने मानिसलाई राष्ट्रिय परिचयपत्र प्राप्तिमै लडाईं लड्नुपर्छ । हातमा टिकट छ, पासपोर्ट बन्न सक्ने अवस्था छैन । यस्तो पनि हुन्छ ?’

स्थानीय तहमा पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने भए पनि त्यसबारेमा सेवाग्राहीलाई जानकारी नहुँदा दुःख पाइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक कर्मचारीले बताए ।

'बाहिरी जिल्लाका मानिसहरू पनि यही बसोबास गर्दा पनि ढिलो हुने गरेको छ,'  उनले भने, 'स्थानीय तहले प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र बनाइरहेको छ । धेरैलाई थाहा नहुन सक्छ । सेवाग्राहीले आफू बसेको स्थानीय तहमा गएर बनाउन सक्छन् ।'

उनका अनुसार विभागको इन्ड्रोलमेन्ट सबै जिल्लामा नेटवर्किङ सिस्टम र डाटा इन्ट्रीको केही समस्या भएकाले काठमाडौँमा मानिसको चाप बढेको छ । सेवाग्राहीका काम छिटो सक्न सिंहदरबारभित्र रहेको कार्यालयका कर्मचारी मिलाएर पनि काम गरिरहेको उनले जानकारी दिए ।

जनशक्ति र सूचना प्रणालीलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । स्टेशन थप्दा कर्मचारी पनि थप गर्ने भएकाले सेवाग्राहीको सास्ती हट्ने उनले दाबी गरे । कर्मचारीको पनि अभाव रहेको ती कर्मचारीले जानकारी दिए ।

सेवाग्राहीलाई छिटो सेवा प्रवाह गराउन नारायणहिटी, सिंहदरबार, सबै स्थानीय तह र काठमाडौँ जिल्लामा प्रशासन कार्यालयबाट पनि सेवा प्रवाह गरिरहेको उनले बताए । अनलाइनबाट भरेर प्रि इन्ड्रोलमेन्ट गरिसकेर भर्न सकिने उनको भनाइ छ ।

त्यस्तै, राहदानी लिन आउने सेवाग्राहीले समय बुक गरेर आउनुपर्ने विभागका प्रवक्ता शरदराज अरन  बताउँछन् । पासपोर्टका लागि समयमा बुक नगरिदिने आजै पासपोर्ट चाहियो भनेर आउने सेवाग्राहीको संख्या बढी हुने गरेकाले भिडभाड हुने उनले बताए ।

विभागले २२ वटा काउण्टरबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको अरनले जानकारी दिए । एउटा पासपोर्टको आवेदनलाई लाइभ इनरोलमेन्ट गर्न ५ मिनेट लाग्‍ने गरेको छ ।

विभागले दैनिक २ हजार सेवाग्राहीलाई पासपोर्ट वितरण गर्ने गरेको छ । राहदानी दिने र आवेदन लिने गरी कुल ४५ सय सेवाग्राहीले सेवा पाइरहेका छन् । आवेदन दिएको दुई दिनमा सेवाग्राहीले राहदानी पाउने गरेका छन् । कुनै बेला सेवाग्राहीको भेरीफिकेशन गर्दा ठेगाना नमिल्दा चार-पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए ।


Author

थप समाचार
x